फेवातालमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

पोखरा – कोरोना संक्रमणको जोखिम र लामो लक डाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल पनि बढेको छ ।

गते असोज दुई गतेबाट सञ्चालनको अनुमति पाए पनि सुरुवाति दिनभन्दा अहिले आन्तरिक पर्यटकहरुको चहल पहल बढिरहेको हो ।

सञ्चालनको सुरुवाति दिनमा रित्ता डुंगाहरु तैरिरहेका देख्न सकिने फेवातालमा अहिले दिनकै दुई सय भन्दा बढी पर्यटकहरु रमाउने गरेका छन्।

विगतभन्दा संख्यात्मक हिसाबले कम भएपनि लक डाउन पछिको अवस्थामा आन्तरिक पर्यटन केही सन्तोषजनक छ ।

अहिले देशभरीका मठमन्दिर जस्तै फेवातालबीचमा रहेको तालबाराही मन्दिर बन्द छ । यद्यपी डुंगाबाटै मन्दिर परिक्रमा गर्ने आन्तरिक पर्यटकहरुको चहलपहल भने बढ्दो छ ।

विगत वर्षहरुमा दैनिक ८ सय भन्दा बढी आन्तरिक पर्यटकहरु घुम्न पुग्ने फेवातालमा अहिले २ सय हाराहारीमा पर्यटन आउने गरेका छन् । अहिले फेवातालमा दैनिक ३५ वटा डुंगा संचालनमा छन् ।

विगतका वर्षहरु जस्तै फेवातालमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन पोखराका पर्यटन व्यवसायीहरु एकजुट भएका छन् ।

नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकहरुको आगमन बढ्ने फेवा डुंगा व्यवसायी समितिका उपाध्यक्ष मंगल नेपालीले बताए।

फेवातालमा सयर हुने पर्यटक र अन्य डुंगा चालकहरुले स्वाथ्य सुरुक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने हुन्छ । सबैभन्दा महत्वपूर्ण साबुनपानीले हात धुने र मास्क अनिवार्य गरिएको छ । र तापक्रम नापेपछि भने लाइफ ज्याकेट दिएर ढुंगामा बस्न दिइने फेवा डुंगा व्यवसायी संमितिले जनाएको छ ।

प्रयोगमा आइसकेका लाइफ ज्याकेटलाई स्यानीटाइजर गरेर पुनःप्रयोगमा ल्याइने गरेको छ । डुंगामा भौतिक दुरी कायम गर्ने गरिएको छ ।

कात्तिक २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्