जाे बाइडेनकाे शाेकगाथा जसले उनलाई विजयी बनायो

जब शनिबार बिहान (अन्तत:) जो बाइडेनले डोनाल्ड ट्रम्पलाई पराजित गरी राष्ट्रपति बन्ने पक्का गरेको खबर सार्वजनिक भयो, तब मेरो मस्तिष्कमा राष्ट्रपतिमा निर्वाचित बाइडेनका दुई तस्बिर ताजा भए।
पहिलो तस्बिर सन् १९७२ को ग्रिष्ममा डेलवरमा पार्टीको राज्य सम्मेलनमा खिचिएको २९ वर्षे बाइडेनको थियो, जो सिनेटका लागि पहिलो पटक चुनावी होडमा आउँदै थिए। बाइडेनले दुई छोरा, हन्टर र बोलाई आफ्ना दुई काखमा बोकिरहेका छन्।
श्रीमती निलिया उनलाई हेरिरहेकी छन्, मुस्कुराइरहेकी छन्। महिनापछि बाइडेन सिनेट सदस्यमा निर्वाचित भए। उनले शपथ लिनुपूर्व नै, श्रीमती र १३ महिनाकी छोरी नाओमीको कार दुर्घटनामा निधन भयो। हन्टर र बो गम्भीर घाइते भए क्रिसमस अघिको सो दुर्घटनामा।
दोस्रो तस्बिर केही दिन पहिलेको मात्रै, चुनावको दिन (नोभेम्बर ३) सबेर बिहानको, बाइडेन नातिनी फिनेगन बाइडेनसँग छोरा बोको चिहानमा गएको तस्बिर।
डेलवरको भावी गभर्नरका रुपमा हेरिएका र डेमोक्र्याटिक पार्टीका सम्भावित राष्ट्रिय उम्मेदवार बो बाइडेनको सन् २०१५ को मे मा मस्तिष्क क्यान्सरका कारण निधन भएको थियो। ती दुई तस्बिरले मेरा लागि बाइडेनको राजनीतिक जीवनलाई दर्शाउँछन् र आउँदो जनवरीदेखि ४६ औँ राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व गर्ने व्यक्ति वास्तवमा को हुन् भनेर बुझ्ने मार्ग दिन्छन्।
जो बाइडेन ती मानव र राजनीतिज्ञ हुन्, जसको खुशी र शोक, जसको जित र त्रासदीहरुले जहिले पनि एकअर्कालाई पछ्याइरहे। खुशीहरुलाई पीडाले विस्थापित गरे। पीडाहरुले खुशीको मार्ग बनाए।

बाइडेनका लामो समयदेखिका सहयोगी पूर्व सिनेटर टेड कोफम्यानले सन् २०१९ मा समाचार संस्था एसोसिएट प्रेससँग भनेका थिए, ‘मैले व्यक्तिगत रुपमा चिनेकामध्ये उनी सबैभन्दा अभागी व्यक्ति हुन्, र उनी मैले जानेका मध्ये सबैभन्दा भाग्यमानी व्यक्ति हुन्।’
एउटा अनौठो तर सुहाउँदो परिभाषा। र, अब ७७ वर्षको हुँदा, जसको राजनीतिक जीवन टुंगिएको ठानिएको थियो मात्रै पाँच वर्ष पहिले, जसले व्यक्तिगत शोकहरुको त्रास हराएका थिए, उनी उपत्यकाबाट हिमाल जस्तै अग्लो राष्ट्रपतिको जिम्मेवारीमा जाँदै छन् ।
बाइडेनको यो पटकको चुनावी अभियानको लामो र फराकिलो मार्गलाई हेर्न यो भन्दा उपयुक्त कुनै उपाय छैन, जुन उनको व्यक्तिगत जीवन र राजनीतिक जीवनका शोक–उत्सवको पक्षहरुमा छ।
कथा मात्रै पाँच वर्ष पहिलेबाट सुरु हुन्छ, जब बाइडेनले छेउमा उभिएका राष्ट्रपति बाराक ओबामालाई साक्षी राखेर सन् २०१६ को राष्ट्रपति चुनावका लागि आफू उम्मेदवार नबन्ने घोषणा गरे। ‘दुर्भाग्यवश, मलाई लाग्छ हामी समय भन्दा पर गयौँ, उम्मेदवारी जित्ने अभियानका लागि चाहिने शिखर समयबाट पर निस्किसक्यौँ’, बाइडेनले त्यो बेला भनेका थिए। व्यक्त नगरिएको कारण थियो, पुत्र बोको निधनले बाइडेनलाई महिनौँसम्म गहिरो शोकमा लग्यो। त्यो बेला शोकले नघेरेको भए सम्भव थियो, उनले राष्ट्रपति उम्मेदवारीका लागि व्यवस्थित संगठन निर्माणका लागि खर्चिने थिए।
त्यो बेला–१,८४४ दिन पहिले, यो दूर कल्पनाको विषय पनि थिएन कि बाइडेन फेरि पनि राष्ट्रपतिका लागि उम्मेदवार बन्ने छन्, त्यो भन्दा कमजोर कल्पना थियो उनी विजयी हुने छन्। उनी ७२ वर्षका थिए। हिलारी क्लिन्टन डेमोक्र्याटिक पार्टीको उम्मेदवारी मात्रै होइन, राष्ट्रपतिमै निर्वाचित हुने सम्भावनासहितको मार्गमा थिइन्। चार दशक पहिले सुरु भएको बाइडेनको राजनीतिक जीवन ह्वाइट हाउसको नजिक पुगेर अन्त्य हुने अवस्थामा आएको थियो।
र सबैभन्दा खराब यो थियो कि, त्यो अन्त्य बाइडेनले उम्मेदवारी जित्न नसकेका कारण होइन कि छोरा गुमाएका कारण उनको मार्गमा आएको थियो।
तर बोको निधन नै बाइडेनलाई पुनः राजनीतिक वृत्तमा ल्याउने कारण बन्यो। बोको जीवनका अन्तिम दिनहरुमा, उनी र उनका पिताले भविष्यका बारेमा कुरा गरे। त्यो क्षणलाई न्यूयोर्क टाइम्सका स्तम्भकार मोरीन डाउडले यसरी व्यक्त गरेकी छन्ः
‘बोले होस गुमाउँदै गएका थिए र उनको अनुहारको दायाँ भाग आंशिक रुपमा प्यारालाइज्ड भएको थियो। तर उनको एक मिसन थियोः उनी पितालाई उम्मेदवारी दिन मनाउने प्रयासमा थिए, भनिरहेका थिए ह्वाइट हाउस फेरि क्लिन्टनमा जानु भन्दा बाइडेनका मूल्यहरुमा देश राम्रो हुनेछ।’

बाइडेनले छोराको कामनाबारे पछि सिएनएनलाई भनेका थिए, ‘उसको अर्थ यो थियो कि म मेरा जिम्मेवारीहरुबाट पर जानु हुँदैन। ऊ चाहन्थ्यो कि म सार्वजनिक जीवनमा सक्रिय रहुँ। मैले पूरै जीवनभरि गरेको नै त्यही थियो।’
छोराको निधनको शोकबाट उठ्ने क्रम र राष्ट्रपति उम्मेदवार नबन्ने आफ्नो निर्णयको विषयलाई समेटेर छोरा बो (र देश) बारे पुस्तक लेखे, ‘प्रोमिस मी ड्याड।’ पुस्तक प्रकाशित भएपछिको पुस्तक यात्राको क्रममा बाइडेनले त्यो कुरा स्वीकार गरे जुन धेरैले आँकलन गरिरहेका थिए, उनले राष्ट्रपति उम्मेदवार बन्ने सोच बनाएको खुलाए। तर सो निर्णयको वरपर उनका छोरा मात्रै कारक थिएनन्।
‘यो सब मेरो सोच, मेरो परिवारको सोच हो, बोल त्यही गर्ने थियो अहिले यहाँ भएको भए र नभए पनि गरिरहेको छ’, बाइडेनले सन् २०२० को चुनावमा राष्ट्रपति उम्मेदवार बन्ने–नबन्नेबारे सोधिएको प्रश्नमा भनेका थिए। (बाइडेनले सन् १९८८ र २००८ मा राष्ट्रपतिका लागि असफल अभियान चलाएका थिए।)
२०१९ को अप्रिलमा उनले राष्ट्रपति उम्मेदवार बन्ने होडमा सामेल भएको घोषणा गरे, त्यसपछि उनले सार्वजनिक रुपमा बोको प्रभावबारे बोले। ‘बिहान जब उठ्छु म तिम्रो बारेमा सोच्छु, मलाई आशा छ कि तिमी ममाथि गर्व गरिरहेका छौ’, बाइडेनले एबिसी टेलिभिजनको कार्यक्रम ‘द भ्यू’ मा उम्मेदवारी घोषणापछि भनेका थिए, ‘मलाई आशा छ उसले गौरव गरेको छ।’ र उम्मेदवारका रुपमा, बाइडेनले आफ्ना शोक तथा दुःखहरुबारे बारम्बार कुरा गरिरहे र आफूजस्तै पीडाहरुबाट गुज्रिएकाहरुमा उनी जोडिने प्रयास गरिरहे।
यो वर्षको ग्रिष्ममा मिनेशोटाको मिनियापोलिसमा प्रहरीको ज्यादतीमा मारिएका अश्वेत अमेरिकी जर्ज फ्लोइडको अन्तिम बिदाइमा बजाइएको सन्देशमा बाइडेनले भनेका थिए, ‘जिल (श्रीमती डा. जिल बाइडेन) र म लाई थाहा छ कि आफ्नो आत्माको एक टुक्रा पृथ्वीको गहिराइमा पुर्दा पर्ने गहिरो घाउ। अरुभन्दा फरक, तिम्रो शोक सार्वजनिक रुपमा छ। र बोझ हो। त्यो बोझ, जुन अहिले उद्देश्य बनेको छ।’
२०२० को डेमोक्र्याटिक पार्टीको सम्मेलनमा उम्मेदवारी स्वीकार गर्दै बाइडनेले छोरा बोबारे भने, ‘उ हाम्रो साथमा छैन, तर बो मलाई हरेक दिन प्रेरित गरिरहन्छ।’
जो बाइडेनले आफ्नो राजनीतिक जीवनको सबैभन्दा विशाल र महत्वपूर्ण दिन छोराको चिहान जाने निर्णय गरे, त्यो भन्दा उपयुक्त अरु केही छैन। जो बाइडेनका लागि बो वाचा र पीडाको प्रतिनिधित्व गर्छन् र गरिहन्छन्। बाइडेनले बाँचेको जीवनका लागि आशा र निराशा हुन् बो।
अमेरिकीहरुले भावी राष्ट्रपतिका रुपमा निर्वाचित गरेका व्यक्ति हुन् यी। त्यो व्यक्ति जसले आधुनिक समयको स्मरणमा अरु कुनै व्यक्ति भन्दा धेरै समय सार्वजनिक जिम्मेवारीमा रहे, दुःखहरु सहे, संघर्ष गरे र शोकहरु पनि… यी सबै सार्वजनिक रुपमा। र यी ति व्यक्ति हुन्, जसले हाल अन्धकारबाट उज्यालोको किरण प्रस्तुत गरेका छन्।
(यो सामग्री सिएनएनको ‘द प्वइन्ट’ स्तम्भबाट अनुवाद गरिएको हो । यसका लेखक क्रिस सिलिजा सिएनएनका ‘एडिटर–एट–लार्ज’ हुन् ।)