सम्पादकीय

खुम्चिएको अमेरिका र बाइडेनका चुनौती

कोभिड–१९ महामारीले विश्व अर्थतन्त्र, राजनीति र सामाजिक स्वरुपलाई तहसनहस पारेको बेला सम्पन्न अमेरिकी राष्ट्रपतिको चुनाव अतीतभन्दा फरक हुनु वा देखिनु आश्चर्यको विषय हैन। तर त्यो कारणले मात्र नतिजा घोषित भइसकेको अमेरिकी निर्वाचनले विश्वको ध्यान आकर्षण गरेको छैन।

अहिलेको सर्वाधिक शक्तिशाली मानिएको र विश्वमै लोकतान्त्रिक सेनाको स्वघोषित अभिभावक बनेको अमेरिकामा नै प्रजातन्त्रको स्थायित्वबारे प्रश्न उठ्न थालेको छ ।

जनादेशद्वारा अस्वीकृत राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय स्वीकार नगर्नु अर्थात जनमतलाई चुनौती दिनु र विजयी अर्थात निर्वाचित राष्ट्रपति जो बाइडेनलाई अन्तरिम (जनवरी १९ सम्म) अवधिसम्म सहकार्यका लागि ह्वाइट हाउसमा निमन्त्रण नगर्नुले जनादेशको मर्म बदल्न सक्तैन, तर त्यसको मर्यादाको अवमूल्यन गरेको छ।

अमेरिका ‘सुपरपावर’ मात्र हैन, खासगरी विकाशशील र विकाशोन्मुख या ‘ग्लोबल साउथ’ भनेर चिनिने मुलुकहरुमा निकै हदसम्म प्रभावकारी भूमिका खेल्ने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलाई आफ्नो हित बिस्तारका लागि प्रयोग गर्दै आएको छ। संयुक्त राष्ट्रसंघमा उसको प्रभाव या ‘लिभरेज’ कसैबाट लुकेको विषय हैन।

बाइडेनले पहिलो परीक्षा बिस्तारित विश्वबाट हैन, खुम्चिएको अमेरिकामा पास गर्नु पर्ने छ। कडा प्रतिस्पर्धामा ट्रम्पले पाएको जनमत र त्यसले प्रतिनिधित्व गर्ने प्रवृत्ति अमेरिकी समाजका लागि र विश्वकै लागि खतरनाक छन्।

विगत चार वर्षको अनुभवले एउटा मुलुकको यो हदसम्मको हैसियतले विश्वमा सन्तुलन, शान्ति र विकास सुनिश्चित गर्दैन भन्ने त स्थापित गरेको छ नै, एउटा राष्ट्रपति स्वेच्छाधारी बन्दा त्यसको दुष्परिणाम विश्वभरिले अनुभुति र अनुभव गर्नु पर्दो रहेछ भन्ने सिद्ध गरेको छ।

त्यस अर्थमा जो बाइडेन र कमला ह्यारिसको निर्वाचनले मात्र पनि विश्वलाई एउटा सुखद सन्देश दिएको छ, यद्यपि सुरक्षा, अन्तर्राष्ट्रिय मामिला, जारी सामुद्रिक सामरिक चासो र आणविक मामिलामा अमेरिकी नीति र हैकमवादी व्यवहार परिवर्तन होला आमूल रुपमा भनी सोच्नु गलत हुनेछ।

कोभिड–१९ विरुद्धको अभियानमा सक्रियता देखाएर अमेरिकी जनतालाई सुरक्षाको प्रत्याभुति दिनु पहिलो दायित्व बनेको छ बाइडेनको भने त्यस सन्दर्भमा विश्व स्वास्थ्य संगठनसँग सहकार्य र जलवायु परिवर्तन जस्ता विश्व व्यवस्था र जनस्वास्थ्य तथा पर्यावरणीय विषयमा इमानदार भूमिकाका लागि उनले नयाँ किसिमले योगदान पुर्‍याउन आवश्यक छ। अमेरिकी छविमा देखा परेको ‘मानवीय’ पक्षको गिरावट रोकी विश्व समक्ष फरक र सकारात्मक देखिनु बाइडेनको सबभन्दा ठूलो चुनौती र अवसर हुनेछ।

दक्षिण एसियाले, खास गरी भारत पनि बाइडेन नेतृत्वको सफलता या असफलताको कसी सावित हुन सक्ने छ। चीन घेर्ने रणनीतिमा लागेको अमेरिकाले भारत वरिपरिका साना मुलुकहरु स्वतन्त्र र आफ्नै स्वार्थको प्रधानताबाट निर्देशित छन् भन्ने बुझ्नु जति आवश्यक छ, त्यतिकै आवश्यक उनीहरुको आन्तरिक मामिलाबाट आफूलाई टाढा राख्न पनि।

तर बाइडेनले पहिलो परीक्षा बिस्तारित विश्वबाट हैन, खुम्चिएको अमेरिकामा पास गर्नु पर्ने छ। कडा प्रतिस्पर्धामा ट्रम्पले पाएको जनमत र त्यसले प्रतिनिधित्व गर्ने प्रवृत्ति अमेरिकी समाजका लागि र विश्वकै लागि खतरनाक छन्। र, त्यो प्रवृत्तिको आकार र परिणाम सानो छैन।

कात्तिक २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्