राष्ट्रपतिले गरिन् ‘मैले बुझेको गान्धी’ पुस्तकको लोकार्पण

काठमाडौँ- राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सोमबार भारतका राजदूत विनय मोहन क्वात्राको समुपस्थितिमा शीतलनिवासमा ‘मैले बुझेको गान्धी’ नामक पुस्तकको लोकार्पण गरेकी छन्।

भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरिएको हो।

नेपालीहरुसँग गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा भारतीय राजदूतावासले बिपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा उक्त पुस्तकको प्रकाशन गरेको हो।

भारतीय राजदूतावासका अनुसार पुस्तकले ‘विश्वपुरुष गान्धीका बारेमा पहिलो पटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको छ।’

गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ।

राजदूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रकाशनले नेपालका युवाहरुलाई महात्मा गान्धीलाई अझ नजिकबाट बुझ्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ जसका जीवन तथा आदर्श सदा अमर र आज पनि उत्तिकै सान्दर्भिक छन्।

कात्तिक २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्