अन्तर्वार्ता

उद्यमको आइडिया दिनुस्, सहुलियत ब्याजदरमा १५ लाख ऋण पाउनुस्

काठमाडौँ – बागमती प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनको सहकार्यमा नवप्रवर्द्धन प्रस्ताव (स्टाट अप कल आइडिया) उद्यम गर्न चाहने युवाहरुका लागि आह्वान गरेको छ। नेपालमा नै केही गर्न चाहने युवाहरुले यस कार्यक्रम मार्फत सहुलियत कर्जा पाउने छन्।

यस योजनामा युवाहरु कसरी जोडिन सक्छन् ? यसका प्रक्रिया र नवप्रवर्द्धन प्रस्ताव (स्टाट अप कल आइडिया) का बारेमा योजनाका संयोजक तथा विशाल फाउण्डेशनका प्रमुख कार्यकारी अधिकृत विशाल गैरेसँग देशसञ्चारले कुराकानी गरेको छ।

बागमती प्रदेश सरकार, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले सुरु गर्न लागेको नवप्रवर्द्धन याेजना भनेकाे के हाे?

नवप्रवर्द्धन प्रस्ताव (स्टाटप आइडिया कल) उधमी बन्न चाहने युवाहरुलाई सहजीकरण गर्नका लागि सुरु गरिएको कार्यक्रम हो । बागमती प्रदेश सरकारको उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत हामीले यो कार्यक्रम अगाडि बढाएका हौँ। यसमा उद्यमी बन्न चाहने युवाहरु जो सँग केही गर्ने याेजना छ तर श्रोत, साधन तथा पुँजी छैन। त्यस्ता युवाहरुकाे याेजना हामीले देशभरबाट संकलन गछौँ ।

त्यसरी याेजना पठाउने सबै युवाहरुलाई विभिन्न समूहमा विभाजन गरेर निशुल्क तालिम सञ्चालन गछौँं । तालिम दिइसकेपछि युवाको रुची, योग्यता र क्षमताका आधारमा युवाहरुलाई हामीले कम्पनी मोडलमा स्टाटप कम्पनी दर्ता गर्ने सँग–सँगै नेपाल सरकारको सहुलियत कर्जाको क्रणका लागि राष्ट्रिय वाणिज्य बैंकलाई सिफारिस गछौँ।

सबै प्रक्रिया पूरा गरेर आएका ती युवाहरुलाई बढीमा २ प्रतिशत नबढ्ने गरी राष्ट्रिय वाणिज्य बैंकले बिना धितो सहुलियत कर्जा प्रदान गर्छ। निकै राम्रो याेजना भएका तर आर्थिक अवस्था कमजोर भएर, आवश्यक तालिम र परामर्शको अभावमा कसरी उधम सुरु गर्ने भनेर अन्यौल भएका युवा साथीहरुलाई यो कार्यक्रम निकै फलदायी हुने हामीले विश्वास लिएका छौँ।

नवप्रवर्द्धन प्रस्ताव आह्वानकाे योजना कसरी सुरु गनु भयो र यसबाट तपाईँहरुले गरेको अपेक्षा के हो?

बागमती प्रदेश सरकारका उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको सोच र संकल्पका कारण हामीले यो कार्यक्रम सुरुवात गर्दैछाैँ। ‘स्टाटप आइडिया’ लाई प्रोत्साहन गर्नुपर्छ। नयाँ युवाहरुलाई नेपालमै उद्यमी बनाउने, विदेश जाने कुरालाई विस्थापित गर्नुपर्ने र स्वदेशमै उनीहरुको जनजीवन माथि उकास्ने उद्देश्यले हामीले कार्यक्रमको सुरुवात गरेका हाैँ ।

हामी सबैलाई थाहा भएकै कुरा हो। पछिल्लो समय चाहे त्यो ०७२ सालमा गएको भुकम्प होस् या बाढी पहिरो या भारतले लगाएको नाकाबन्दी र विश्वभर फैलिएको कोरोना भाइरसले नेपालको अर्थतन्त्रमा निकै असर पुर्‍याएको छ। उसो त अहिले विश्व अर्थतन्त्रमा नै असर पारेको छ।
निकट भविश्यमा कोरोनाको भ्याक्सिन आउने छ र जनजीवन सामान्य भएको देखिने छ। तर हाम्रो देशका शिक्षित युवाहरुको बेरोजगारिता समस्या जहाँको त्यहीँ रहने छ। हुनेहरु अघि बढ्ने र नहुनेहरु चुप लागेर सहेर बस्नुपर्ने अवस्था आउन सक्छ र आइरहेको पनि छ।

त्यसैले हामीले के सोच्यौँ भने राज्यको पँहुच भन्दा बाहिर भएको, नातावाद, कृपावाद र चाकडीवादभन्दा बाहिर रहेको, देशमै केही गर्न सक्छु भन्ने हिम्मत र आत्मविश्वास भएका त्यस्ता युवालाई ० देखि १०० सम्म गर्न सक्ने सबै किसिमका सहयोग गर्ने गरी यो आर्थिक वर्षमा २०० वटा युवालाई उद्यमी बनाउने सोच र संकल्पका साथ यो सुरु गर्न लागिएको हो ।

म आफै पनि युवा भएकाले युवा साथीहरुको मनोविज्ञान, सोच र काम गर्ने शैलीसगँ परिचित छु । धेरै युवाहरुलाई तपाईँ अघि बढ्नुस् केही पर्‍याे भने तपाईँको पछाडि हामी छौँ है भनेर हौसला र उत्प्रेरण दिन आवश्यक छ। संसारमै पछिल्लो समय पुस्तागत व्यवसायमा जोडिने भन्दा पनि सेल्फ मेड उद्यमी बन्ने सङ्ख्या बढिरहेको छ । देशमै बसेर काम गर्न चाहने युवाहरुलाई सफल उद्यमी बनाउने प्रयास र सकारात्मक सोचका साथ हामीले सुरु गरेका छौँ र यो आर्थिक वर्षमा न्युनतम २०० युवाहरुले कम्पनी दर्ता गरेर स्टाटटप व्यवसाय सुरु गर्ने वातावरण निर्माण गर्ने खोजेका छौँ। सहुलियत कर्जाको सदुपयोग गर्ने छन् भन्ने हाम्रो अपेक्षा छ ।

यो कार्यक्रमको समग्र मोडालिटि कस्तो छ ?

बागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले यो कार्यक्रमलाई कसरी अगाडि बढाउने भनेर हामीले समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छौँ।

हामीले यो स्टाटप आइडिया कल आउने मंसिर १५ भित्रैबाट डिजिटल प्रविधिका माध्यमबाट अनलाइनबाटै संसारको जुन सुकै भएका युवाहरुले अपलाई गर्न सक्ने गरी जोड्नेछौँ। हामी विभिन्न सञ्चार माध्यममा विज्ञापन दिन्छौँ, सूचना जारी गछौँ। बढीभन्दा बढी यसका लागि सामाजिक सञ्जालको प्रयोग गछौँ र आइडियाका लागि ६० दिनको समय उपलब्ध गराउँछौँ। त्यसरी प्राप्त भएका आइडियाहरुलाई स्क्रिनिङ गर्ने काम हाम्रो छनौट समितिले फागुनसम्म गर्ने छ र त्यसरी प्राप्त आइडियाहरुको विषयगत समूह निमार्ण गरेर चैत्रमा तालिम सञ्चालन गर्छौँ र बैशाख, जेष्ठ र असारभित्र योग्यता र प्रक्रिया पूरा गरेर आएका युवाहरुलाई सहुलियतपूर्ण कर्जा वितरण गर्ने छौँ।

सहुलियत कर्जा लिने प्रक्रिया के–के हुन् ?

नेपाल सरकारले विदेशबाट फर्किएका उद्यम गर्न चाहने महिला तथा पुरुष शिक्षित र केही गर्न चाहने युवाहरुका लागि फरक–फरक क्याट्गोरीहरु सहुलियत कर्जा अन्तर्गत राखेको छ। प्रक्रिया र योग्यता पुगेका त्यस्ता आइडियाहरुलाई राष्ट्रिय वाणिज्य बैंक मार्फत दिइनेछ। यसमा राम्रो आइडियामा छनोट भएका युवाहरुले न्युनतम २ प्रतिशत ब्याज नबढ्ने गरी १५ लाखसम्म बिना धितो सहुलियत कर्जा वितरण गरिने छ। यसमा सरकारले ५ देखि ६ प्रतिशत ब्याज तिर्छ। बाँकी न्युनतम २ प्रतिशत नबढ्ने गरी ऋण दिन्छ।

त्यसका लागि सबै योग्यता तथा प्रक्रिया पुगेको भनि विशाल फाउण्डेशनले सिफारिस गर्नुपर्नेछ। यदि साच्चै नै उद्यमी बन्न चाहनेका लागि हामी हर सम्भव सहयोग गर्न तयार छौँ।

कस्ता खालका युवाहरु यो कार्यक्रममा सहभागी हुन सक्ने छन् र कस्ताे उद्यमलाई लक्षित गरिएको छ ।

सरकारले १६ देखि ४० वर्षको उमेर समूहलाई युवा भनेर परिभाषित गरेको छ । यसमा हाम्रो पहिलो प्राथमिकता युवावर्गहरुलाई नै हो। त्यस्ता युवाहरु जो क्षमतावन, राम्रो आइडिया भएको र राज्यको श्रोत र साधनबाट वञ्चित भएका सिमान्तकृत वर्गलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ।

कम लगानीमा धेरै प्रतिफल दिन सक्ने र उत्पादनसँग जोडिएका आइडियाहरु प्राथमिकतामा पर्ने छन् । विशेष गरी कृषिलाई जोड दिएका छौँ। र पर्यटन, शिक्षा, टेक्नोलोजिसँग जोडिएका व्यवसाय विदेशबाट फर्किएर नेपालमै केही गर्न चाहने युवाहरु, विदेशमा भएका युवाहरु, डिग्री हासिल गरेर बेरोजगार भएका शिक्षित युवा, काठमाडाैँ या नेपालका जुनकुकै शहरमा बसेर पढ्दै गरेका युवाहरु जो आफनो गाँउ फर्किएर गाँउमै केही व्यवसाय गर्छु भनेर आउनु हुन्छ उहाँहरु हाम्रो प्राथमिकतामा पर्नु हुनेछ। अहिलेका युवाहरुले सेवा मुलक आइडियाहरु पठाउने गर्नुहुन्छ। हामी के आग्रह गर्न चाहन्छौँ भने त्यस्ता आइडिया पठाउनुस् जो नेपालमा नै उत्पादन गर्न सकियोस् र त्यसलाई बाहिर निर्यात गर्न सकियोस्।

यस कार्यक्रममा सहभागी हुन चाहने युवाहरुले आफ्नो आइडिया कसरी पठाउने?

यस कार्यक्रममा कस्ता मानिसहरु सहभागी हुन सक्छन् ? यसमा सहभागी हुने योग्यता के–के हुन् ? कुन–कुन क्षेत्रमा हामीले युवाहरुलाई तालिम तथा सहुलियत ऋण प्रदान गछौँ? अर्को महत्वपूर्ण कुरा आइडिया पठाउने ढाँचा या मोडेल के हो भन्ने विषयमा वेब साइट निर्माण गर्ने काम भइरहेको छ। यो काम सकिएपछि हामीले सबै वेब साइटमा राख्छौँ र उहाँहरुले हेरेपछि सबै बुझ्नु हुनेछ। त्यहि अनुसारले उहाँहरुले अप्लाइ गर्नुहुनेछ।

यस्ता कार्यक्रमहरुमा सरकारको भूमिका कस्तो हुनुपर्छ?

सरकारले युवाहरुलाई उत्पादनसँग जोड्ने गरी यस्ता किसिमका कार्यक्रमहरु ल्याउनु पर्छ। हामीले पहिलो चरणमा बागमती प्रदेश सरकारसँग मिलेर स्टाट अप आइडिया कल सुरु गरेका छौँ। यस योजनालाई हामीले सातै प्रदेशका स्थानीय तहका नगरपालिका, गाउँपालिकासम्मका युवाहरु यसमा सहभागी हुने गरी योजना बनाएका छौँ। म राज्य सञ्चालकहरुलाई आग्रह गर्न चाहन्छु, अबको युवाहरुको समय हो। युवाहरु आन्दोल, ढुंगामुडा, टायर बाल्नका लागि मात्र तयार छैनन्, उनीहरु सिर्जनशिलता, सकारात्मक सोच, निरन्तरता, क्रियाशिलताका लागि पनि तयार छन्। उनीहरुका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारलाई आग्रह गर्न चाहन्छु।

युवाहरुका लागि सरकारले विभिन्न कार्यक्रमहरु नल्याएको हाेइन तर त्यसको नतिजा कस्तो छ हामीले देखेको कुरा नै हो। यो योजना पनि असफल त हुने हैन?

सरकारले योजनाहरु बनाउने, भाषणमा पनि भन्ने । नीति कार्यक्रममा उल्लेख पनि गर्ने र केही हदसम्म बजेटमा पनि समावेश गर्ने तर कार्यान्वयन नगर्ने समस्या छ। हाम्रोमा योजनाको कमि छैन। तर त्यो योजनालाई कार्यान्वयन गर्ने कुरामा कमजोर छ। चाहे राज्यको तर्फबाट होस् चाहे नीजि क्षेत्रबाट। जति पनि युवा साथीहरुले आइडिया पठाउनु हुन्छ। सुरुमा निकै जोश जागर हुन्छ। त्यो जोश जागर प्रतिफल ल्याउने समयसम्म भयो भने त्यो राम्रो हुन्छ।

जहाँसम्म यस योजनाको कुरा छ। म शतप्रतिशत के विश्वास दिलाउन चाहन्छु भने उद्यम स्थापना गर्न विशाल फाउण्डेशनले काम गरिरहेको छ र निरन्तर गरिरहने छ। र वाणिज्य बैंकले पनि सरकारले लिएको नीति अन्तर्गत नै सहुलियत कर्जा वितरण गर्नेछ। यो कार्यक्रम कति सफल असफल हुने भन्ने कुरा चाहि ती युवाहरुको हातमा छ जो युवाहरु यो कार्यक्रममा जोडिनु हुन्छ। उहाँहरुको सक्रियता र निरन्तरताले यो कार्यक्रम सफल हुन्छ।

यो योजना निश्चित समयका लागि हो या दिर्घकालिन रुपमा चल्छ ?

बगमति प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रम अन्तर्गत यो कार्यक्रमको डिजाइन गरेका हौँ। यहि आर्थिक वर्षभित्र हामीले आइडिया लिने, तालिम प्रदान गर्ने, प्रक्रिया पूरा गरेर ऋण पनि प्रदान गछौँ। यो आर्थिक वर्षको कार्यक्रमबाट आउने प्रतिफलका आधारमा आगामी दिनहरुमा स कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएका छौँ।

यो कार्यक्रममा सहभागी हुन चाहने युवाहरु लाई तपाईँ के भन्न चाहनु हुन्छ?

हामी युवाहरु सकारात्मक र नकारात्मक दुवै परिर्वतनका साक्षी हौँ। सही ढोकाबाट भित्र छिरियो भने सही गन्तव्यमा पुगिन्छ । छिटो नतिजा खोज्ने बानी हटाउनु पर्छ । सीप, प्रविधि र पुँजी आवश्यक छ । एकाग्रता, इमान्दारिता र निरन्तरता आवश्यक छ। साँच्चै केही गर्छु भन्ने युवाहरुलाई यो कार्यक्रममा सहभागी हुन आग्रह गर्न चाहन्छु।

कात्तिक २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्