परम्परागत रुपमा ‘रातो’ अर्थात रिपब्लिकनको पकडको राज्य जर्जिया यो पटक ‘निलो’ अर्थात डेमोक्र्याटको पक्षमा जाने देखिएको छ ।
अधिकांश राज्यको नतिजा आउँदा जर्जियामा भने राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनबिचको मतान्तर अति कम रहेकाले पुनः मतगणना हुँदैछ ।
९८ प्रतिशत भन्दा बढि मत गणना हुँदा बाइडेन ट्रम्प भन्दा १२ हजार ३३७ मतले अघि छन् । सन् १९९२ यता राष्ट्रपतिमा डेमोक्र्याटिक उम्मेदवारलाई मत नदिएको राज्य जर्जियाले यसपटक ‘रंग’ फेर्ने स्पष्ट संकेत देखिएको विश्लेषण गरिएको छ ।
सन् १९६४ यता जर्जियाले मात्रै तीन चुनावमा राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारलाई मत दिएको छ, त्यसमध्ये एक आफ्नै राज्यका गभर्नर जिमी कार्टर र अर्का छिमेकी अर्कान्सस राज्यका गर्भनर बिल क्लिन्टन हुन् ।
पछिल्लो दशकमा अधिकांश चुनावमा जर्जिया राष्ट्रपति चुनावमा कडा प्रतिस्पर्धा भएन, तर यो पटक सो राज्यले सबैको ध्यान तान्यो ‘ब्याटलग्राउण्ड स्टेट’ का रुपमा । चुनावको दिन खसालिएको मत गन्दासम्म अघि रहेका ट्रम्प अग्रिम तथा हुलाक मार्फत खसालिएका मत गन्न थालेपछि बाइडेन भन्दा पछि परे ।
योपटक जर्जिया अमेरिकी राजनीतिको केन्द्रमा आउनुमा राष्ट्रपति निर्वाचनको मत मात्रै कारक होइन, राज्य सत्तामा शक्ति सन्तुलनको ‘अल्टिमेट गेम चेन्जर’ बन्ने सम्भावना पनि हो।
रिपब्लिकनको बहुमत रहेको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटहरु आफ्नो पकड स्थापित गर्ने प्रयासमा छन् । अहिलेसम्म आएका नतिजामा दुवै पार्टीले ४८–४८ सिटमा जित हाँसिल गरेका छन् । नर्थ क्यारोलाइना र अलास्का गरि दुई सिटमा रिपब्लिकन उम्मेदवार अघि छन्।
जर्जियाका दुई सिनेट सिटमा भने कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढि मत ल्याउन नसकेका कारण आउँदो जनवरीमा पुनः चुनाव हुने भएको छ । जनवरी ५ मा हुने सिनेटको रनअफ चुनावले माथिल्लो सदनमा पकड कसको हुने भन्ने स्पष्ट रुपमा निर्धारण गर्ने छ ।
जजिर्यालाई राष्ट्रपति चुनावमा मात्रै नभई सिनेटमा पनि ‘निलो’ बनाउन सके राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई सत्ता सञ्चालनका लागि सहज हुनेछ । सिनेटमा कुल १०० सिट छ । यो राज्यमा १६ इलेक्टोरल कलेज मत छ ।
जर्जियालाई परम्परागत ‘रातो’ बाट ‘निलो’ बनाउने प्रयासमा सबैभन्दा महत्वपूर्ण नाम हो, स्टेसी अब्राहम ।
हारेर पनि जितेकी स्टेसी

डेमोक्र्याटिक पार्टीकी प्रभावशाली नेतृ अब्राहम दुई वर्ष पहिले अमेरिकी राजनीतिको केन्द्रमा आइन् र ‘हाउसहोल्ड नेम’ बनिन् । उनी सन् २०१८ को मध्यावधिक चुनावमा जर्जियाको गभर्नरका लागि उम्मेदवार बनेकी थिइन् । प्रमुख पार्टीबाट गभर्नरको उम्मेदवार बन्ने उनी पहिलो अश्वेत (अफ्रिकन–अमेरिकन) महिला बनेकी थिइन् ।
गभर्नर चुनावमा उनी राज्यका तत्कालीन ‘सेक्रेटरी अफ स्टेट’ रिपब्लिकन ब्रायन केम्पसँग पराजित भइन् । उनले ‘भोटर सप्रेसन’ को आरोप लगाउँदै नतिजा स्वीकार गर्न मानिनन् लामो समय ।
सन् २००७ देखि २०१७ सम्म जर्जियाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको सदस्यका रुपमा रहेकी उनी २०११ देखि २०१७ सम्म सदनको माइनोरिटी लिडर थिइन् ।
गभर्नर चुनावमा पराजित भएपछि उनले अश्वेत तथा सिमान्तकृत वर्गहरुको मतदानमा पहुँच वृद्धिको अभियान चलाइन् ‘फेअर फाइट एक्सन’ नामक संस्था मार्फत । अब्राहमले स्थापना गरेको सो संस्थाले ‘भोटर सप्रेसन’ को मुद्धा सम्बोधन गर्दै आएको छ ।
पेशाले वकिल, मतदान अधिकारकी अभियन्ता समेत रहेकी स्टेसी अब्राहमको नाम पछिल्लो दुई वर्षयता अमेरिकी राजनीतिमा प्रायः सदैव चर्चामा छ । अझ नोभेम्बर ३ मा भएको चुनावमा जर्जिया ‘ब्याटलग्राउण्ड स्टेट’ का रुपमा अघि आएपछि उनी ‘पोलिटिकल गेम’ को ‘किङ्ग मेकर’ का रुपमा लिन थालिएकी छन् ।
राष्ट्रपति उम्मेदवारमा सुरुमै जो बाइडेनलाई आफ्नो समर्थन दिएकी स्टेसीलाई उपराष्ट्रपति उम्मेदवारका रुपमा पनि हेरिएको थियो । बाइडेनले आफ्ना सम्भावित ‘रनिङ्ग मेट’ सूचिमा उनलाई राखेका थिए ।
अन्ततः बाइडेनले अर्की अश्वेत अमेरिकी तथा राष्ट्रपति उम्मेदवारकी एक दाबेदार कमला ह्यारिसलाई उपराष्ट्रपति उम्मेदवार चयन गरे र कमलाले उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला, पहिलो अश्वेत महिला तथा पहिलो आप्रवासी अभिभावककी छोरीका रुपमा इतिहासमा नाम लेखाएकी छन् । यी सबैमा स्टेसीको भूमिका महत्वपूर्ण रहेको छ ।
स्टेसीले गभर्नरमा पराजित भएपछि यो वर्षको चुनावमा आफूलाई सिनेटको उम्मेदवारका रुपमा अघि सारिनन् । बरु मतदानको पहुँचबाट बाहिर रहेका अश्वेत तथा सिमान्तकृत समुदायका व्यक्तिलाई मतदाता परिचय पत्र प्रदान गर्ने अभियानमा समर्पित गरिन् ।
स्टेसीको नेतृत्वमा रहेको ‘फेअर फाइट एक्सन’ ले जर्जियामा मात्रै ८ लाख भन्दा बढिलाई मतदाताका रुपमा दर्ता गराउन सहयोग गर्यो । उनले दर्ता गराएका वा मतदानको पहुँचमा ल्याएका तिनै मतदाता जर्जियालाई ‘पोलिटिकल गेम’ मा अहिले ‘किङ्ग मेकर’ रुपमा अघि ल्याएको अमेरिकी सञ्चारमाध्यमहरु न्यूर्योक टाइम्स, सिएनएनमा प्रकाशित भएका विश्लेषणमा उल्लेख छ ।
स्टेसीको मतदातालाई पहुँचमा ल्याउने अभियानले अन्ततः अमेरिकी सिनेटको भविष्य निर्धारण गर्ने देखिएको छ । जनवरी ५ मा हुने सिनेटका दुई सिटका लागि रनअफ चुनावका लागि आफू अभियानमा जुटिसकेको स्टेसीले सिएनएनसँगको अन्तर्वार्तामा बताएकी छन् ।
जर्जियाबाट प्रतिनिधित्व गर्ने दुई वर्तमान रिपब्लिकन सिनेटर डेविड पर्ड्यू तथा केलदी लोफलरले अनअफ चुनावमा क्रमशः डेमोक्र्याटिक उम्मेदवार जोन असफ र राफाएल वारनकसँग प्रतिस्पर्धा गर्ने छन् । कुनै पनि उम्मेदवारले ५० प्रतिशत मतको आँकडा पार नगरेकाले त्यहाँ रनअफ चुनाव हुने भएको हो ।
रनअफ चुनावमा स्टेसीको भूमिका केन्द्रमा रहने छ । आफू गभर्नर चुनावमा पराजित भए पनि उनले आफ्नो मुद्दा बोक्ने उम्मेदवारहरुका लागि जितको मार्ग सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको र खेल्न सक्ने भन्दै चर्चा हुँदै आएको छ ।
अर्को परिचय पनि

स्टेसी अब्राहम अधिकारकर्मी, राजनीतिज्ञ वा वकिल मात्रै होइनन् । उनको परिचयको अर्को महत्वपूर्ण पाटो पनि छ, लेखक । उनले लेखेका ‘रोमान्स–सस्पेन्स जनरा’ का उपन्यास चर्चित छन् ।
यल ल स्कूलमा अध्ययन गर्दा पहिलो पुस्तक प्रकाशित गरेकी उनले पछिल्लो पटक सन् २००९ मा पुस्तक प्रकाशित गरेकी थिइन् । उनले पुस्तकका लागि अवार्ड पनि जितेकी छन्।
उनले सन् २०१८ मा ‘माइनोरिटी लिडरः हाउ टू लिड फ्रम द आउटसाइड एण्ड मेक रियल चेन्ज’ नामक पुस्कत पनि लेखेकी छन् । यस्तै गएको जुनमा उनको ‘आवर टाइम इज नावः पावर, पर्पस एण्ड फाइट फर अ फेअर अमेरिका’ नामक पुस्तक प्रकाशित भएको थियो ।
सिएनएनसँगको अन्तर्वार्तामा उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित हुनुको अर्थ व्यक्तिगत रुपमा आफ्ना लागि, ‘सम्भावना, आफ्नो प्रतिनिधित्व र सपनाको यर्थाथ रुप’ रहेको बताएकी स्टेसी विशेष गरि अश्वेत महिलाका लागि ‘आइकन’ राजनीतिज्ञका रुपमा अघि आएकी छन् ।
बाइडेनको जित र डेमोक्र्याटिक पार्टीले गर्न चाहेको शक्ति सन्तुलनको प्रयासमा केन्द्रमा रहेकी उनी आउँदा दिनमा सत्ताको महत्वपूर्ण जिम्मेवारीमा आएर ‘प्रतिनिधित्व’ को नयाँ अर्थ र अध्याय थाल्ने आँकलन र अनुमान अमेरिकी राजनीतिक वृत्तमा ताजा छ ।
(यो सामग्री तयार पार्नका लागि सिएनएन, द न्यूयोर्क टाइम्स, द गार्डियन, रोयटर्स, एपीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोग लिइएको हो।)