कानूनी लडाईँ बल्ल सुरु भएको छः ट्रम्प प्रवक्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रवक्ताले राष्ट्रपति चुनावको नतिजाविरुद्धको कानूनी लडाईँको सुरुवात मात्रै भएको बताएकी छन् ।
नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएका छन् । तर रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ‘धाँधली’ को आरोप लगाउँदै नतिजा स्वीकार गरेका छैनन् । अहिलेसम्म धाँधलीको ठोस प्रमाण नभेटिए पनि ट्रम्प र उनको चुनावी अभियानले नतिजाविरुद्ध अदालत जाने बताएको छ ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रवक्ता केली म्याकनेनीले भनेकी छन्, ‘चुनाव सकिएको छैन । सकिन निकै समय लाग्ने छ ।’ उनले प्रमाण बिना नै चुनावमा भ्रष्टाचार भएको र त्यसले नै नतिजालाई प्रभावित पारेको आरोप लगाइन् ।
ट्रम्पले सोमबार पुनः ट्वीट गरेर चुनावमा अवैध गतिविधि भएको आरोप लगाएका छन् ।
निर्वाचित राष्ट्रपति जो बाइडेनले अन्तरिम अवधिका लागि सहकार्यको प्रयास गरे पनि त्यसको जिम्मेवारी पाएको जनरल सर्भिसेज एड्मिनिस्ट्रेसनले अहिलेसम्म औपचारिक रुपमा विजेताको घोषणा नभएकाले सहकार्यको प्रस्ताव अस्वीकार गरेको छ ।
सत्ता हस्तान्तरणको प्रयासमा ट्रम्प प्रशासनले अवरोध गर्ने क्रम जारी राखेमा आफ्ना कानूनी मार्गबारे जो बाइडेनको टिमले सोच बनाइरहेको सिबिएस न्यूजले जनाएको छ ।
ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता तथा रिपब्लिकन पार्टीकी महत्वपूर्ण व्यक्ति म्याकनेनीले चुनवामा इलेक्टोरल भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसको छानबिनका लागि सहयोग गर्न पत्रकारलाई आग्रह गरेकी छन् ।