मनोचिकित्सक डा. रवी शाक्यसँगको अन्तर्वार्ता

चिन्ता र दुष्चिन्ताबारे तपाईँलाई थाहा छ?

संसारमा चिन्ता नभएको मान्छे को होला?

सन् २०१८ को अप्रिलमा सार्वजनिक भएको आओर वल्ड डेटाको तथ्यांक अनुसार विश्वभर २ अरब ८४ लाख मानिसलाई चिन्ता-दुष्चिन्ताको समस्या (एन्जाएटी) भएको छ। जसमा ६३ प्रतिशत महिला र बाँकी पुरुष छन्।

चिन्ता सामान्य हो, तर यो कहिले समस्या बन्छ र यसबाट कसरी छुटकारा पाउने भन्ने बारे पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक, मनोचिकित्सक प्राध्यापक डा.रवि शाक्यसँग कुराकानी गरेका छौँ।

१) चिन्ता के हो र यो कहिले समस्या बन्छ ?

चिन्ता भनेको भविष्यमा केही खराब घटना भइहाल्छ की ! म केही समस्यामा पर्छु कि! भन्ने खालको अप्रिय भावनालाई चिन्ता भन्छौँ। यस्तो सोच आइराख्दा एक किसिमको डर मानिसमा पैदा हुन जान्छ।

२) कहिलेकाँही आँटेको समय वा खर्चमा हामीले काम सक्काउन सकेनौँ भने पनि हामीलाई चिन्ता हुन्छ। कसरी छुट्याउने यो मानसिक समस्या नै हो भनेर ?

चिन्ता आफैमा समस्या हैन। जीवन बचाइराख्नको लागि पनि चिन्ता आवश्यक छ। केही खराब हुन सक्छ भनेर चिन्ता गरेनौँ भने हाम्रो जीवन सक्किन सक्छ। नयाँ कुरा सिक्न, अगाडि बढ्नको लागि चिन्ता चाहिन्छ। जस्तो परीक्षाको चिन्ता भयो भने हामी राम्ररी पढ्छौँ।

तर चिन्ता कहिले समस्या हुन्छ भने चिन्ताको मात्रा यति धेरै भयो की त्यसले तपाईँलाई झन् घाटा गर्न थाल्यो भने त्यो समस्या हो। परीक्षा कै कुरामा धेरै चिन्ता लिनुभयो भने, तपाईँले पढ्न सक्नुहुँदैन। आएको पनि भुलिन्छ। राति निदाउन सकिन्न, खाना नरुच्ने भयो। रुन मन लाग्यो, परीक्षा आयो भनेर आतिएको आत्तिएई भयो भने त्यो अस्वाभाविक हुन जान्छ।

चिन्ताले जबसम्म फाइदा हुन्छ त्यो सामान्य हुन्छ। जब हानी गर्न थाल्छ, तब त्यो असामान्य हुन्छ। असामान्य चिन्ता एन्जाइटि हो।

३) रोग हो भनेर भन्न मिल्छ ?

चिन्ता बढ्दै गयो, त्यसले मानिसलाई नोक्सान गर्दै गयो । अनि त्यो व्यक्तिले आफ्नो समस्या आफै कन्ट्रोल गर्न सकेन भने उसलाई मद्दत गर्नुपर्ने अवस्था आइलाग्छ। यो अवस्था आइपुग्यो भने त्यसलाई हामी ‘रोग’ को परिभाषामा ल्याउछौँ। यसलाई व्यवहारिक आचरणसँग तुलना गरेर व्याख्या गर्न सकिन्छ।

४ शारीरिक स्वास्थ्यमा समस्या भयो भने विभिन्न प्रविधिको माध्यमले रोग पत्ता लगाउन सकिन्छ तर मानसिक स्वास्थ्यमा समस्या आएको कसरी थाहा पाउन सकिन्छ?

मानसिक रोग भनेको हाम्रो मस्तिष्कले काम गर्ने पक्षको गडबढी हो। हाम्रो दिमागमा केही समस्या भएको कुरा कुनै मेशिनले हेरेर त थाहा पाउन सकिँदैन । मानसिक समस्या भएको थाहा पाउन उसको व्यवहारलाई अवलोकन गर्न सक्नु पर्छ।

यो मान्छे डराएको छ भन्ने थाहा पाउनु पर्छ।

हामी मानिससँग भाषा छ, हामीलाई केही भयो भने भन्न सक्छौँ।

तर मान्छेको मनमा लागेको डरसँगै केही शारीरिक हाउभाउ पनि देखिन्छन्, ‘डर लागेपछि मान्छे काम्छन्, मुटु ढुकढुक हुन्छ, सास फुल्छ, रिंगटा लाग्छ, मान्छे आत्तिन्छ। तर दुर्भाग्य हामीकोमा मानसिक स्वास्थ्यको अवधारणा नभएको कारणले गर्दा पनि सबैले यसलाई रोग भनेर बुझ्दैन।

जसलाई समस्या देखिएको छ, उसको नजिकको मानिसले थाहा पाउँछ।

हामी जसलाई समस्या देखिइराखेको छ, उसलाई मद्दत चाहिन्छ की चाँहिदैन भन्ने अवलोकनकै आधारमा जानुपर्छ। कुनै मान्छे विगतबाट अहिले एकदमै परिवर्तन भयो। धेरै खाना खानेले खाएकै छैन, अथवा सामान्य भन्दा धेरै खाएको छ र उसलाई त्यस्तै किसिमले घाटा भईरहेको छ। उसले आफ्नो व्यवहार परिवर्तन हुन सकेको छैन भने जसले पनि चिन्न सक्छ कि उसलाई मानसिक समस्या छ।

हामीसम्म आइपुग्ने बिरामीको अवलोकन कर्ताले नै मेरो मान्छेको व्यवहार पहिलाको जस्तो छैन भनेर भन्छन्। बोलिचालि फरक भएको छ भन्छन्। परिवार सबैभन्दा पहिला बिरामीको बारेमा जानकार हुन्छ।

समाजमा मानसिक रोग भनेको जथाभावी बोल्दै जाने, ढुंगामुडा गर्दै जानेलाई मात्र मानसिक रोग भनेर बुझिन्छ तर यो संकृण विचार हो।

५) अस्वाभाविक चिन्ताको कारणहरु के के हुन्छन् ?

मानसिक रोग लाग्नुको ठ्याक्कै कारण यकिन छैन। यसलाई व्याख्या गर्दा शारीरिक रोगको कारणले हामीलाई मानसिक रोग लाग्न सक्छ। दिमागमा चोट लाग्यो, नशालु खानेकुरा खानुभयो, तपाईलाई हर्मोनल गढबढि भयो भने पनि तपाईँलाई मानसिक रोगहरु आउन सक्छन्।

तर कहिलेकाँही कुनै पनि शारीरिक समस्या नभएपनि मानसिक रोग लाग्न सक्छन्। तपाईँको सोच बिचार, तपाईँ हुर्के बढेको वातावरण, समस्या समाधान गर्ने तरिका, तपाईँको व्यवहार आदिले पनि तपाईँमा रोग जन्मिन्छन्।

बायोलोजिकल कारण पनि हुन्छन्। वातावरणीय कारण पनि हुन्छन्। साइकोलोजिकल कारण पनि हुन्छन। जसले मानसिक रोग जन्माउँछ।

चिन्ताको मापन गर्ने हो भने, हामीसँग एउटा मापक छ। ‘स्ट्रेस रिलेटेड एडजस्टमेन्ट एण्ड एनजाइटी डिसअर्डर’ भन्ने छ। बाह्य काराणले पनि मानिसमा मानसिक समस्या हुन्छ। ‘होम सिक’ पनि मानसिक समस्याको एउटा उदाहरण हो। फरक यो छ की यो सानो समस्या हो तर यो चाँडै नै ठीक हुन्छ।

६) रोगको तह हुन्छन् ?

शारीरिक रोग जस्तै हो। कुनैलाई उपचार गरीराख्नु पर्दैन। कुनैको अनिवार्य उपचार जरुरी छ। केही रोगहरुलाई ‘सेल्फ लिमिटिङ’ गरेर, आफूले आफैलाई बुझेर पनि ठीक पार्न सकिन्छ। कोभिड कै कुरा गरौँ न। यो कसैले बुझेको छैन, यसलाई धैर्य धारण गरेर बुझौँ भन्यौँ भने रोग निको पनि हुन्छ। तर कतिलाई चिन्ता भएर राति सुत्नै नसकेको, डर लाग्ने मन उदास हुने समस्या पनि आएका छन्।

चिन्ताको विभिन्न तह हामीले निर्धारण गरेका छौँ

कसैलाई बिहान उठेदेखि रातीसम्म लगातार चिन्ता भइराख्ने,

कसैलाई बेला बेलामा मात्र चिन्ता हुने।

कसैलाई कुनै बेला दिमागमा एउटा कुरा आउँछ, त्यसलाई हटाउँछु भनेर सकिँदैन । अनि चिन्ता बढ्दै जाने ।

अनि कहिलेकाँही कुनै घटनाले आत्ति हाल्ने चिन्ता । जस्ता कक्रोज देखेर डर लाग्नु।

७) चिन्ताले पार्ने नकारात्मक असरहरु के के हुन् ?

शारीरिक
  • पेट पोल्छ,
  • टाउको दुख्छ,
  • निन्द्रा नपर्ने,
  • खाना खान मन लाग्दैन,
  • धेरै खाइन्छ,
  • नशालु चिज सेवन गर्ने
  • शरीरको रक्तचाप बढ्ने
  • अनेकौँ शारीरिक रोगहरु जन्मन्छन्। मलाई लाग्छ, ग्यास्ट्रिक पनि एउटा चिन्ताको उपज हुन सक्छ।
मानसिक पक्ष
  • एकाग्रता क्षमता हराउँछ, अगि को आयो, कसले के भन्यो, टाक तलको माथि लगाउने, एक सुरे हुन्छ।
  • हाम्रो स्मरण शक्तिमा ह्रास, पढेको बिर्सन्छौँ
  • रीस चाँडै उठ्छ,
  • हाम्रो ठीक बेठीक छुट्याउने क्षमता बिग्रन्छ ।
  • अध्याधिक मात्रामा चिन्ता भईराखे मन उदास हुने समस्या हुन्छ। यसलाई डिप्रेशन भनिन्छ। निराशापनमा नै आत्महत्याको जोखिम धेरै हुन्छ।

८) चिन्ता र कोभिड एक अर्कामा कति सम्बन्धित ?

एकदमै सम्बन्धित छ।

खासमा भन्ने हो भने कोभिडले मानसिक स्वास्थ्यको बारेमा धेरै कुराकानी गर्ने वातावरण सिर्जना गरेको छ। यो क्षेत्र अहिले हाइलाइट भएको अवस्था छ।

कोभिड दीर्घकालीन तनाब हो। यसले गर्दा असुरक्षित महशुस गर्नु, निराशापन विकास हुनु स्वाभाविक प्रतिक्रिया हो । अलिकति चिन्ता त हुनै पर्छ । तर कसै कसैलाई यो अत्याधिक भएर चिन्ताको रोग बढेको बढेई छ।

एक जनालाई लागेछ, ‘मलाई कोरोना भईसक्यो, परिवारका सबैलाई कोरोना लागिसक्यो, मेरो घरको सबै सामानमा पनि कोरोना भाइरस छ ।’ त्यसपछि उसले घरको समान फाल्न, जलाउन थाल्यो। उसलाई सम्हाल्न सकिएन र अस्पताल आयो।

चिन्ता हुँदा समाधानतीर लाग्ने हो भाग्ने हैन। कोभिड लागेको भएपनि के के गर्न सकिन्छ भनेर सही दिशामा जानुपर्छ । कोभिडको केशमा पनि संक्रमित ८५ प्रतिशतलाई लक्षण पनि आउँदैन। जसलाई गारो हुन्छ २ प्रतिशत हुन्। मृत्यु हुने १००० मा ५ जना हुन्। त्यसैले हामी आशावादी हुनुपर्छ। र उपचारको बाटोमा लाग्ने।

यसले हामीलाई मानसिक समस्या हुनबाट जोगाउँछ।

९) चिन्ता सम्बन्धी रोग लाग्नबाट कसरी जोगिने ?

चिन्ता व्यवस्थापनका लागि आफ्नो बलबुताले भ्याएको जस्तो सबै गर्नुपर्छ । आफ्नो क्षेत्रबाट गर्ने हो।

जसलाई समस्या छ, समस्या के कारणले भयो भनेर हेर्ने र समाधानको बाटोमा लाग्नुपर्छ। योजना गर्नुपर्छ।

तर कहिलेकाँही हामी सबै कुरा बुझेर पनि समस्या समाधान गर्न सकिरहेको हुँदैनौँ। त्यो बेलामा धैर्य गर्ने बाहेक अरु उपाय हुन्न। समस्या झेल्ने नै हो र एकदिन ठीक हुन्छ भनेर बस्नुपर्छ। केही शारीरिक समस्या आएको छ भने, आफूलाई अनुशासनमा राख्नुपर्छ। दैनिकी व्यवस्थापन गर्नुपर्छ।

मनमा धेरै कुरा खेलेको बेलामा आफ्नो विश्वासिलो मान्छेसँग आफ्नो कुरा भन्नुपर्छ। कुरा भनेर पनि हल्का हुन्छ। हामी अरुको समस्या देखेर पनि मनलाई सान्त्वना दिन सक्छौँ। गाइजात्रा त्यसैको उदाहरण हो।

हामीले यो बेलामा साहारा लिनुपर्छ। कला, सृजना यसैको लागि हुन् । अध्यात्म, ध्यान पनि समाधानको बाटो हुन सक्छ। हाम्रा पूर्वजले पनि यो सँस्कृति यसैको लागि बढावा दिएका हुन्।

१०) मानसिक समस्या भएको व्यक्तिलाई कस्तो व्यवहार गर्नुपर्छ ?

यो समस्यामा पनि अरु रोगका बिरामीलाई सहयोग गरेको जस्तै गरि सहयोग गर्नुपर्छ। सबैले उस्तै ख्याल र स्याहार पाउन जरुरी छ।

संविधानमा पनि उल्लेख छ। कसैलाई हेला गर्न पाइदैन। जसको दिमाग छ त्यसलाई दिमागको समस्या आउँछ कुनै दिन। त्यसैले यसको समाधान गर्नुपर्छ।

मानसिक समस्याको उपचार हुन्छ भन्ने अझै छैन। झार फुक गर्ने अवस्था छ। शारीरिक समस्यको बिरामीलाई जस्तै रोग बुझेर समाधान गर्नुपर्छ। त्यसलाई हेला गर्नाले समस्या झन् बल्झिन्छ।

शारीरिक जस्तै मानसिक स्वास्थ्य धेरै महत्व छ। मस्तिष्कलाई तन्दुरुस्त राख्नुपर्छ।

कात्तिक २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्