‘कोरोनाले ३५ वर्षको मिठाइ व्यापारमा नयाँ अनुभव गरायो’

काठमाडौँ – झिलिमिलि बत्ती, फूलको सजावट र मिठाइका परिकारले तिहारको रौनक बढाइदिन्छ। तिहारमा घर होस् या बजार मिठाइ बनेकै हुन्छन्। तिहारमा घरमा पनि परम्परागत सेलरोटी लगायतका परिकार बनाउँछन् भने बजारमा नयाँ डिजाइनका मिठाइहरु पाइन्छन् ।

विगतका वर्षझै यस वर्ष पनि बजारमा मिठाईका आधुनिक परिकारहरु बनेका छन् । तर विगतका वर्षजस्तो यसपाली तिहारमा मिठाइको माग घटेको काठमाडौँको त्रिपुरेश्वरस्थित बागमती स्विटस् प्रालिका सञ्चालक शिवराम खत्री बताउँछन्।

कोरोना भाइरसका कारणले अघिल्ला वर्षजस्तो ग्राहक निकै कम भएको उनले बताए। उनले भने, ‘पोर–परार तिहारमा पसल अगाडी निकै भिड हुन्थ्यो। यसपाली रेगुलर ग्राहकहरु मात्र आएका छन्।’

आउने ग्राहकहरुले पनि अघिल्लो वर्षको तुलनामा खरिद पनि कम गरेको उनले बताए। ‘पहिले होटलमा बसेर मज्जाले खाने ग्राहकहरुले पनि अघाउने चिजमात्र खाने गरेका छन् भने पहिले १ हजारको सामान लानेले यसवर्ष एक–दुई सयको मात्र सामान लैजान्छन्’ उनले भने, ‘अहिले यस्तो अवस्था सिर्जना भएको छ। धेरैले रोजगार गुमाएका छन्। आउने बाटो छैन। त्यसैले पनि खर्च कम गर्न थालेका छन्।’

ग्राहक नै नभएपछि स्वतः रुपमा कारोबारमा गिरावट आएको उनले बताए। व्यापारमा गिरावट आए पनि उनले आफ्ना ग्राहकलाई सेवा दिन छाडेका छैनन्। उनले आफ्ना ग्राहकहरुलाई यसरी सेवा दिन थालेको करिब ३५ वर्ष भयो। यस अवधिमा उनले यति कम ग्राहक देखेको उनलाई सम्झना छैन।

यसरी व्यापार नै ठप्प हुने दिन आउँला भनेर उनले कहिले कल्पनासमेत गरेका थिएनन्।  सोही कल्पना विपरीत कारोबार भए पनि आफ्नो कामलाई उनले कोरोनासँग जुध्दै सञ्चालन गरिरहेका छन्।

भिडियाे:

विशेषगरी तिहारका लागि उनले निम्की, खजुरी, रोट, एैठे, अंरस्सा तथा भारतीय मोडलका बरफी लगायतका मिठाइ बनाउने गरेको उनले बताए। ‘अरु वर्ष जस्तै निम्की, खजुरी, रोट, एैठे, अंरसा, सामान्य भारतीय मोडलका बरफी लगायतका मिठाई बनाएका छौँ’ उनले भने, ‘तर कोरोनाका कारणले व्यापारमा धक्का पुगेको छ। निजी श्रोतबाटै चलाईरहेका छौँ। बचत गर्न पनि पुग्दैन। सहज दिनहरुमा भने राम्रो व्यापार हुन्थ्यो।’

कारोना कहरकाबिच बजारमा खाद्य वस्तुको मूल्य बढे पनि आफूले पूरानै मूल्यमा मिठाई बेचिरहेको उनले बताए। तिहारका समयमा कम मूल्य नै ग्राहकहरुलाई अफर भएको उनको भनाई छ। ‘घ्युबाट बनका मिठाइहरु रोठे, एैठे, खजुरी, लगायतको प्रतिकेजी ८ सय रुपैयाँ छ भने दुधबाट बनेका मिठाईहरुको प्रतिकेजी एक हजार रुपैयाँ पर्छ’ उनले भने।

बागमती  स्वीटस्मा खाद्य प्रविधिको मापदण्डका आधारमा मिठाइमा बन्ने गरेको उनले बताए। ‘हामीले ग्राहकहरुको स्वास्थ्यलाई ध्यान दिएर खानेकुरा बनाउँछौँ’ उनले भने, ‘त्यसैले खाद्य प्रविधिले उपलब्ध गराएको लिस्टका आधारमा हामीले आवश्यक भए मात्र कलर प्रयोग गछौँ। अन्यथा प्रयोग गर्दैनौ।’

कात्तिक २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्