पीसीआर जाँचेको शुल्क लिएको आरोपमा भेरी अस्पतालका तीनजना कर्मचारी पक्राउ

नेपालगञ्‍ज-बाँके प्रहरी अस्पताल, नेपालगञ्जका तीनजना कर्मचारीलाई पक्राउ गरेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले पीसीआर जाँचको नि:शुल्क सिफारिस गराइदिएर पैसा असुली गरेको पाइएपछि दुई जना सुरक्षागार्ड र एकजना सहयोगीलाई पक्राउ गरेको जानकारी दिए ।

‘डाक्टरबाट निशुल्क जाँचको सिफारिस बनाउने र जाँच गराउन आएका व्यक्तिसँग पैसा लिएको पाइएको छ, डीएसपी खड्काले भने, तीन जनालाई ल्याएका छौं । सोधपुछ भइरहेको छ ।’ प्रहरीका अनुसार, तीन जनाले ६ जनासँग यसरी पैसा लिएको पाइएको छ ।

गरीव, आर्थिक अवस्था कमजोर र विपन्नलाई डाक्टरको सिफारिसमा नि:शुल्क पीसीआर जाँच गर्ने व्यवस्था मिलाइएको छ । यो बाहेक चिन्ह लक्षण देखिएका बिरामीको पनि निशुल्क पीसीआर जाँच हुने गर्दछ ।

यसैबीच, बाँकेमा कोरोनाका सिकिस्त बिरामी ४२ जना रहेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पताल, नेपालगञ्जमा २९ र कोहलपुर मेडिकल कलेजमा १३ कोरोना संक्रमित सिकिस्त रहेका छन्।

४१ जना मध्यम खालका बिरामी छन्, भेरीमा ३१ र कोहलपुर मेडिकल कलेजमा १० जना । सामान्य खालका बिरामी ७ जना रहेका छन् । उनीहरु कोहलपुरमा रहेका छन् ।

जिल्लामा २ सय ३१ जना होम आइसोलेसनमा रहेका छन् । त्यसमा एक सय २२ जना पुरुष र एक सय ९ जना महिला रहेका छन् ।

जिल्लाबाट बुधबार २१ जना कोरोना जितेर घर गएका छन् । बाँकेबाट अहिलेसम्म तीन हजार एक सय ५० जना डिस्चार्ज भइसकेका छन् ।

कात्तिक २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्