मखमली कथा

मखमली फूल खेती–कोही आत्मनिर्भर बन्दै कोही सिको गर्दै

मखमली फूल टिप्दै गीता नगरकोटी । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

चिसो–चिसो बिहानीमा निद्रा छोडेर हातमा बाल्टी बोकी मखमली फुलबारी तिर लाग्छिन् गीता नगरकोटी। तिहारको मौसममा भक्तपुर (गुण्डू) की ३५ वर्षिया नगरकोटी यो दिनर्चया नै हो।

दैनिक उनी सबेरै घरको कामकाज सकेर मखमली टिप्न बारी तिर लाग्छिन्। उनको बारी घरभन्दा करिब १० मिटर पर छ।

झण्डै ४ घण्टा मखमली फूल टिपेर बाल्टी र झोला भरेपछि उनी घरतिर लागिन्। ‘आज त एक्लै छु, अरु दिन खेताला लाउँछु। घरमा पनि काम हुन्छ’, उनले भनिन्, ‘धेरै काम भएको बेलामा खेताला लगाउँछु, खेतालाले ३/४ घण्टा काम गरेको २५० रुपैयाँ लिन्छन्।’

उनले मखमली फूल व्यवसाय गर्दै आएको ९ वर्ष भयो। अन्य वर्षझै यस वर्ष पनि उनले एक रोपनीमा मखमली फूलाएकी छन्। फूलाएको मखमली टिप्ने र माला गास्न थालेको पाँच महिना भयो।

यो अवधिमा उनले ३५ सय माला बेचिसकेकी छन्। ‘असारदेखि फूल टिप्न सुरु गरेको’ उनले भनिन्, ‘अब सकिन लागिसक्यो। तिहार सुरु हुँदासम्म माला बनाउने हो।’ १ रोपनी खेतबाट दैनिक सय जति माला बन्छ । फूल रोपेको खेतको वार्षिक १५ हजार रुपैयाँ भाडा तिर्छिन्।

तस्बिरः बर्षा शाह/देश सञ्चार

१५ हजार भाडा अनि ६ महिनाको मेहनतले एक सिजनमा १ लाखसम्म आम्दानी हुने उनी बताउँछिन्। तर हातमा सामानको राम्रो मोल परेको जम्मा दुई वर्ष जति भयो। तर यसवर्ष भने कोरोना भाइरसका कारणले उनको व्यवसायमा पनि केही प्रभाव पारेको छ।

कोरोना भाइरसका कारणले सरकारले गत चैतमा लकडाउन गर्‍यो। त्यो समय मखमली रोप्ने बेला थियो। तर भाइरसका कारणले फूलको माग घट्ने अड्कलबाजीले उनले कम फूल लगाइन्।

तर उनको अड्कलबाजी गलत साबित भयो। ‘फूलको माग कम हुन्छ होला भनेर कम रोपियो’ उनले भनिन्, ‘तर मागमा कुनै असर गरेको छैन। राम्रै बिक्री भइरहेको छ। घरमा नै किन्ने मान्छे आउँछन्।’ होलसेल व्यापारीहरु घरमा नै लिन आउने भएकाल ‘रेट’ पनि होलसेल नै रहेको उनी बताउछिन्।

‘घरमा किन्न आउनेलाई प्रतिगोटा ३० रुपैयाँमा बेचिरहेका छौँ। अरुले पनि यहाँ मखमली व्यवसाय गर्छन्। त्यसैले सबैको एउटै भाउ हुन्छ।’
मखमली रोप्न थालेपछि उनका हातमा पनि डक्को पैसा हात लाग्छ, जसले गर्दा उनी श्रीमानलाई घर व्यवहारमा सघाउन सक्षम भएकी छन्। घरको व्यवहार चलाउन सहज भएको छ। घर व्यवहारमा श्रीमानलाई सघाउन सकेको त ठीकै छ तर आफ्ना लागि आफैँ कमाउन सक्नु उनको खुशीको अर्को कारण हो।

तस्बिरः बर्षा शाह/देश सञ्चार

गर्विलाे उनको स्वरले भन्छ, ‘हामीले छोराछोरी पढाएका छौँ।’ उनका श्रीमान् आर्मिमा छन्। व्यवसाय सुरु गरेदेखि सानो–तिनो कुराका लागि श्रीमानको भर पर्नु परेको छैन। उनलाई मखमली फूलले आत्मनिर्भर बनाएको छ। भन्छिन्, ‘धेरै खुशी छु।’

तर यसमा दु:ख पनि छ, ‘फाइदा भए पनि यसमा धेरै मेहनत लाग्छ। चैत मसान्तको अन्त्य तिर बिउ रोप्छौँ। फूललाई बच्चाभन्दा बढि स्याहार गनुपर्छ। हप्तैपिच्छे भिटामीन राख्नु पर्छ। रोग अनुसारको औषधी हाल्नु पर्‍यो। १५/१५ दिनमा विषादी हाल्नु पर्छ। फूलमा डडुवा रोग लाग्ने डर हुन्छ। त्यो रोग लाग्यो भने एउटा पात पनि रहँदैन। यति गरेपछि फूल असार–साउनदेखि टिपेर माला गास्न थाल्छौँ। मालालाई ओभानो पारेर बेच्छौँ। यतिकै राख्दा बिग्रन्छ’ उनले एकै सासमा भनिन्।

गीताको मखमलीमा मन रम्नुको अर्को कारण पनि छ, उनलाई छोरीले सहयोग गर्छिन्। आमा बारीमा जाँदा छोरीले घरको काम गर्छिन् भने बारीबाट मखमली टिपेर फर्केपछि आमासँगै माला बनाउने काम पनि गर्छिन्। उनको लागि छोरीले माला गास्नु भनेको सानैबाट आत्मनिर्भर बन्न सिक्नु हो। आफूले जुन खुशीको स्वाद चाख्न भर्खरै पाएकी छन्, छोरीलाई बालखैमा रस बस्यो भने उनको खुशी दोब्बर हुन्छ।

गीताकै छिमेकी नानी नागरकोटीको पनि दिनचर्या उस्तै छ। ६० वर्षे उनी सबेरै आफ्ना श्रीमान् र छोरासँग मखमली फुल टिप्न व्यस्त थिइन्। तिहारका लागि विशेष महत्व राख्ने मखमली फूल टिपेर माला गाँस्न उनको परिवारले उनलाई सहयोग गर्छन्।

उनको परिवारको आम्दानीको श्रोत नै कृषि हो। उनीहरु सिजन अनुसारको खेती गर्छन्। तिहारलाई लक्षित गरेर मखमली रोपेका थिए। व्यवसायिक रुपमा नै फूल खेती गर्न थालेको चार वर्ष भयो। ‘फूलबाट पनि आम्दानी गर्न सकिन्छ भनेर व्यवसाय सुरु गरेका हौँ’, उनले भनिन्, ‘पहिले आफ्ना लागि मात्र फूल रोपिन्थ्यो। गाउँमा सबैले लगाएको देख्दा आम्दानी हुन्छ भनेर हामीले पनि सुरु गर्‍यौँ।’

आधा रोपनीमा फूलेको मखमलीबाट एक हजार माला गासेर बेचिसकेकी छन्। उनले माला बेच्न अहिले बजारसम्म पुग्नु पर्दैन। फूल व्यापारीहरु घर–घरमा माला लिन आइपुग्छन्। ‘कोरोना भाइरसका कारणले अहिले माला बेच्न बजारसम्म गइन्न। पहिले बजारमा पनि बेच्न गइन्थ्यो। व्यापारीहरु घरमा नै लिन आउँछन। उनीहरुलाई प्रतिगोटा २०/२२ रुपैयाँका दरले बेच्छौँ’ उनले भनिन्।

उनलाई पनि कोरोना भाइरसका कारणले फूलको माग धेरै होला जस्तो लागेको थिएन। त्यसैले उनले आधा रोपनीमा मात्र फूल रोपकी थिइन्। तर फूलको मागमा कोरोनाले कुनै असर गरेन। उनले भनिन्, ‘तर मान्छे टन्नै आए।’

व्यापारसँगै उनका परिवारका सदस्यले रोजगार पनि पाएका छन्। तिहारका सिजनमा फूल टिप्ने, माला गास्ने लगायतका काम एक्लैले संभव हुँदैन। परिवारका सबै सदस्य अहिले व्यस्त हुन्छन्।

तिहारका समयमा फूल कति खपत हुन्छ ?

तस्बिरः बर्षा शाह/देश सञ्चार

तिहारमा बढि खपत हुने फूलहरु हुन्, मखमली, सयपत्री गोदावरी हुन् । तिहारमा मात्र हरेक वर्ष २० देखि २५ लाख माला खपत हुने गरेको फ्लोरिकल्चर एसोसियसन नेपाल (फ्यान) का अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए।

‘कोभिडका कारण यो वर्ष तिहार खासै रौनक हुने देखिँदैन, त्यसैले बजारमा १२ लाख सयपत्री, ३ लाख मखमली र गोदावरी गरी १५ लाख मालाको माग छ’ श्रेष्ठका अनुसार यो वर्ष स्वदेशभित्रै उत्पादन छ, अयात गर्नु पर्दैन।

यस विषयमा श्रेष्ठ भन्छन्, ‘आयातित मालाको मूल्य सस्तो हुन्छ, स्वदेशी माला महँगो भन्ने गुनासोहरु पनि आउँछन्। अहिले किसानले एउटा मालाको ३० देखि ४० रुपैयाँ पाउनुपर्छ र उपभोक्ताले त्यो मालाको गुणस्तर हेरेर ६० देखि ७० सम्म तिर्नुपर्छ भनेका छौँ ।’

तस्बिरः बर्षा शाह/देश सञ्चार

 

कात्तिक २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्