न्यूयोर्कमा संक्रमण बढ्दै गएपछि पुनः प्रतिबन्धात्मक नियम लागु हुने

कोरोना भाइरसको संक्रमण पुनः तीव्र गतिमा बढ्न थालेपछि अमेरिकाको न्यूर्योकमा प्रतिबन्धात्मक नियमहरु फेरि लागु हुने भएकाे छ ।

न्यूयोर्कका मेयर बिल डी ब्लासिओले नयाँ प्रतिबन्धात्मक नियम घोषणा गरि महामारीको दोस्रो लहर रोक्ने अन्तिम अवसर रहेको बताएका छन् ।

नयाँ नियम अनुसार बार, रेस्टुरेन्ट र जिमहरु राति १० बजे बन्द गर्नु पर्छ । मानिसहरुले १० वा त्यो भन्दा कमको समूहमा मात्रै भेटघाट गर्न पाउँछन् ।

अमेरिकामा पछिल्लो दिनमा संक्रमण तीव्र भइरहेको छ । मंगलबा एकै दिन ६१ हजार ९६४ जना संक्रमित अस्पताल भर्ना हुन बाध्य भए ।

अमेरिकामा पछिल्ला दिनमा दैनिक औषत ९०० भन्दा धेरैको कोभिड–१९ बाट ज्यान गुमाउनमा बाध्य भएका छन् ।

अमेरिकामा अहिलेसम्म एक करोड भन्दा बढि संक्रमित भएका छन् भने दुई लाख ३९ हजार भन्दा धेरैको ज्यान गएको छ ।

अमेरिकामा पछिल्लो १० दिन दैनिक एक लाख भन्दा बढि संक्रमित थपिइरहेका छन् । देशभरका अस्पतालहरु चाँडै क्षमता भन्दा बाहिर जाने चेतावनी विज्ञले दिएका छन् ।

कोरोना भाइरसको महामारीको सुरुको समयमा अमेरिकाको इपिसेन्टर रहेको न्यूयोर्कमा पछिल्ला दिनमा फेरि संक्रमण बढ्दो क्रममा देखिएको छ ।

न्यूयोर्कका गभर्नर एन्ड्रयू कुओमोले बुधबार देश तथा विदेशमा संक्रमण बढ्दै गएको र न्यूयोर्क पनि सोही मार्गमा रहेको बताए ।

नयाँ प्रतिबन्धात्मक नियमहरु आउँदो शुक्रबारदेखि लागि हुनेछ ।

कात्तिक २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्