यात्रा स्मृति

स्मृतिमा ताजा रारासम्मको त्यो यात्रा

वर्षदिन अघि दाजु–बहिनी टीका लगाइसकेर खाना खान थालेका थियौँ। फोनको घण्टी बज्यो। खादैँ गरेको कुर्सीबाट जुरुक्क उठेँ र फोन राखिएको ठाउँमा पुगेँ।

फोन बर्षाको थियो।

उठाएँ।

मैले फोन उठाएर हेल्लो भनि नसक्दै उताबाट आवाज आयो, ‘ओई, कहाँ छेस्, के हो यार फोन पनि नउठाउने।’ वर्षाको प्रश्नको उत्तर दिँदै मैले भनेँ, ‘अँ भर्खर त टीका लगाएर सक्कियो।’

मेरा उत्तरलाई बेवास्ता गरे जसरी उनले फेरि भनिन्, ‘तँ रारा जाने हो की नाईँ?’

म रारा जाने कुरामा आगाडिदेखि नै ‘एक्साइटेड’ थिएँ। बर्षाको रारा जाने होइन भन्ने प्रश्नले म झन् ‘एक्साइटेड’ भएँ।

उनले सोध्न नपाउँदै मैले हतारिँदै भने,‘अँ, जाने जाने।’

‘ल उसो भए, साँझै ब्याग प्याकिङ् गर्नु, हामी बिहानै निस्किनु पर्छ’ बर्षाले फोन राखे पछि मेरो खुशीको सीमा नै रहेन।

फोनमा कुरा गरि सकेर म फेरि खाँदा खाँदै बिचमै छोडेको खाना लर्फ लागेँ। मेरो मुहारको चमक देखेर होला दादा र दिज्जुले मलाई सोधिहाले,‘के भयो?’

मैले उनीहरुलाई सुनाएँ, ‘म भोलि रारा जान्छु।’

रारा जाने कुराले मलाई अत्याइरहेको थियो। साँझ ब्यागमा आफूलाई चाहिने सामानहरु राखेँ। बिहानीको प्रतिक्षा गर्दै त्यो रात बिताएँ।

१४ गते बिहानै उठेँ। फेरि एकपटक ब्याग चेक गरेँ। राराको मौसम बारे त्यति ज्ञान नभए पनि चिसो चाहिँ पक्कै पनि होला भन्ने लागेको थियो।

त्यसैले नुहाइहालेँ।

बर्षालाई फेरि फोन गरेँ। एकछिनमा घरबाट निस्किन्छु भने पछि म प्रतिक्षामा बसेँ।

उसो त बर्षाको घर र मेरो घरको दूरी करिव आधा घण्टाको फरकमा छ।

१० बजेतिर बर्षाको फोन आयो,‘म तुलसीपुर पुग्नै लागे है, रेडि भएर बस्।’

म पनि घरका सबै जनालाई वाई–वाई भन्दै गाडी चढ्नका लागि बाटोमा निस्किएँ।

बिचबाट बर्षा चढेको बसमा चढेँ। बर्षाको छेउको सिट मेरा लागि खाली थियो, मख्ख पर्दै त्यही सिटमा बसेँ।

अनि सुरु भयो हामी दुईको ‘रारा यात्रा।’

रारा पुग्न दुवैजना उत्तिकै उत्साहित थियौँ। उत्साहासँगै यात्रा गरिरहेका हामी दिउँसोको ३ बजे कोहल्पुर पुग्यौँ। कोहल्पुर बसपार्कमा केही बेर सुर्खेत जाने गाडि खोज्न लाग्यो। गाडीका कर्मचारी यात्रु तानातान गरिरहेका थिए।

त्यसैमध्ये एउटामा हामी चढ्यौँ।

अनि फेरि सुरु भयो हाम्रो सुर्खेतको यात्रा।

ठूलो झोला समातेर हामी चालकको छेउमा बस्यौँ।

अलि ‘झिल्के’ थिए ड्राइभर। प्याच् प्याच् बोलेको बोल्यै गर्ने उनी घरी गुट्का खाँदै थिए त, घरी फोनमा बोल्दै थिए।

फोनको घण्टी तारन्तार बजिरहेको थियो। धेरै बेर फोनलाई बेवास्ता गर्न सकेनन् क्यारे। फोन उठाउने बित्तिकै उनले भनिहाले, ‘हेलो…. के भयो रे, दबाइ खाउन दबाइ।’

उनको कुराकानीबाट कसैलाई सन्चो नभएको भन्ने अड्कल काट्न सकिन्थ्यो।

‘अस्पताल नजाने भए, भेट्नरीमा जाउँ’ झन्किँदै फाने राखिदिए।

उनको कुरा सुनेर हामीले हाँसो रोक्न सकेनौँ। एकअर्काको मुख हेर्‍याैँ र हाँस्यौँ।

साँझ छिप्पिँदै थियो।

सुर्खेत कतिबेला पुगिएला भन्ने अत्यास लागिरहेको थियो।

हतारोको बेला लतारो भने जस्तै छिन्चुमा पुग्दा गाडी अगाडि बढ्न मानेन। टायर पन्चड भयो भन्दै चालक बाहिर निस्किए।

बल्ल–बल्ल उनले टायर फेरे।

नयाँ टायर फेरेपछि गाडी रफ्तारमा सुर्खेत तर्फ हुँइकियो।

साँझको करिव ७ बजे तिर हामी सुर्खेत पुग्यौँ। भोलिपल्ट बिहान ८ बजेको मुगुका लागि हाम्रो टिकट भएका कारण बसपार्क नजिकैको एक होटलमा बास बस्यौँ।

रारा सम्झिँदा घरीघरी हामी दुवैको मनमा काउकुति लागिरहेको थियो।

दोस्रो दिन

बिहानै उठ्यौँ। अटोमा चढेर सुर्खेत बजार फन्को लगायौँ। प्रसिद्ध देउती बज्यैको मन्दिर दर्शन गर्‍याैँ।

देउती बज्यैको मन्दिर दर्शनपछि सुरु भयो हाम्रो मुगुको यात्रा। गाडिको रफ्तार सँगै चङ्गा जसरी उडिरहेको थियो हाम्रो मन पनि।

नयाँ ठाउँ। धेरैले भनेको सुनेका थियौँ–कर्णालीको बाटो अप्ठेराे छ,अनि डरलाग्दो पनि।

अरुले भन्दा जति सुनेका थियौँ, त्यो भन्दा कैयौँ गुणा डरलाग्दो थियो, त्यहाँको बाटो। पहिलो पटक यो बाटो हिँड्दा नडराउने व्यक्ति शायदै थिए होलान्। आफ्नै रफ्तारमा गुडिरहेको गाडीको झ्यालबाट टाउको निकालेर बाहिरतिर हेर्ने हो भने धेरै ठाउँमा मुटुले ठाउँ छोड्छ।

मनै सिरिङ्ग हुन्छ। मुटु ढक्क फुलिएर आउँछ।

झ्यालबाट देखिने चट्टान, खोच, नदी देख्दा शरीरमा काडा उम्रिन्छन्। हामीले पनि यात्राका क्रममा धेरै पटक आँखा चिम्म गरेर आफ्नो अगाडिको सिटलाई कसेर समात्यौँ। बेक्कारमा गाडीको यात्रा गरिए छ भन्ने मनमा नआएको पनि होइन्।

गाडीमा बर्षा र म जस्ता मात्र थियौँ होला जो पहिलोपटक मुगुको यात्रा गर्दै थियौँ। यात्रा गरिरहेका धेरै जसो महिला थिए, जो तिहार मनाएर घर फर्कँदै थिए भने कोही काममा फर्कँदै थिए।

हामी आफ्नो डर भगाउन घरीघरी उनीहरुसँग गफिन्थ्यौँ।

यात्रामा डराउँदा डराउँदै कुन बेला निदायौँ दुवैले पत्तो पाएनौँ। कसैले कुममा घच्घच्याउँदै बोलायो,‘बैनी उठ्नुस्, बैनी…ए बैनी’ झल्यास्स ब्युझियौँ। ड्राइभर दाइले बोलाएका रहेछन्। पूरै आँखा खोली नसक्दै ‘के भयो दाइ’ मैले सोधेँ।

‘हामी कालिकोट पुग्यौँ, उठ्नुस्, खाना खाएर सुतिहाल्नु पर्छ, भोलि बिहानै ५ बजे हामी हिँड्नु पर्छ यहाँबाट’ उनले फेरि थपे, ‘यहाँ खानाको पैसा तिर्नु पर्छ, सुतेको पैसा तिर्नु पर्दैन।’

उनको कुरा सुनेर म ट्वाँ परेँ।

ड्राइभर दाइले थाहा पाए क्यारे फेरि भने, ‘साथीलाई उठाएर छिटो बाहिर आउनुस्, अनि कुरा बुझ्नु हुन्छ।’

यति भनेर उनी गाडीबाट ओर्लिए।

मैले बर्षालाई उठाएँ। आफ्नो ब्याग बोकेर बाहिर निस्कियौँ।

त्यो पहिलो अनुभव थियो, जहाँ गन्तव्यमा पुग्नका लागि बास बस्नु परेको थियो।

ड्राइभर दाइले हामीलाई होटलसम्म लगिदिए। खाना खायौँ। त्यही सुत्यौँ। गाडीको यात्रा गरेका कारण पनि होला थाकेका थियौँ। कुन बेला निदायौँ पत्तै भएन।

तेस्रो दिन

तस्बिर : बर्षा शाह/देश सञ्चार

बिहानै ढोका ढङ्ढङ् गरेपछि निद्रा खुल्यो। बाहिरबाट आवाज आइरहेको थियो,‘ढिलो भइसक्यो बैनी छिटो उठ्नुस्।’

ड्राइभर दाइको ढिलो भइसक्यो भन्ने आवाजले हामी जर्‍याक–जुरुक्क उठ्यौँ। खाटको नजिकै भित्तामा अडेस लगाएर राखिएका झोला बोक्यौँ र बाहिर निस्कियौँ।

चिसो थियो। बिहानै पानी छुन पनि डर लाग्ने। तर पनि बाहिर गेटको छेउमै राखिएको भाँडोबाट पानी झिक्यौँ। मुख धुनु भन्नु भन्दा पनि मुख पुछ्यौँ । अनि फेरि लाग्यौँ, बस तिर।

सबै जना आ–आफ्नो सिटमा बसिसकेका थिए। हामी पनि बस्यौँ।

यात्रामा हामीले एउटा नौलो अनुभव बटुल्ने अवसर पायौँ।

बिहानै ५ बजे फेरि हाम्रो यात्रा सुरु भयो। केही समय पनि कालिकोटको सदरमुकाम नाग्मा पुग्यौँ। सामान राख्नु पर्ने भएका कारण गाडी केही समयका लागि रोकियो, त्यही मौका छोपेर हामी नाग्मा बजार घुम्न निस्कियौँ। बिहानै मुख धुनका लागि चिसो पानी छोएपछि हामीले फेरि अर्को पटक नाग्मा बजार पुगेपछि चिसो महसुस गयौँ।

बेस्सरी हावा चलिरहेको थियो। बजारको छेउबाट निलो पानी आफ्नै सुरमा बगिरहेको थियो।

त्यही जाडो छल्न चिया पियौँ। आगोमा कठ्याङ्ग्रीएका हात ततायौँ। तर पनि कम भएन चिसो छल्न नसक्ने भएपछि गाडीमै पस्यौँ।

विश्राम पछि गाडी गुड्यो। जति जति अगाडि बढ्दै थियौँ त्यति त्यति हामीलाई लागिरहेको थियो, रारा पुग्नै लाग्यौँ। अन्य यात्रुलाई हामी पटक–पटक यही सोधिरहेका थियौँ,‘अब कति समय लाग्छ।’

शायद हाम्रो प्रश्नको उत्तर दिदाँ–दिदाँ उनी वाक्क भइसकेका थिए। त्यसैले त खाना खानका लागि सिंजामा गाडि रोकिँदा ड्राइभर दाइ हाम्रो नजिक आएर र भने,‘हामी ६ बजे तिर ताल्चा पुग्छौँ।’

६ बजे पुग्ने कुराले हामीलाई विरक्त लाग्यो। उसै पनि हामी घरबाट निस्केको तीन दिन भइसकेको थियो। मैले उनलाई सोधिहाले,‘अल्लि छिटो जान मिल्दैन, स्पिडमा जाऊँ न।’

उनले भने, ‘बाटो साँघुरो छ, होसियार भएर चलाउनु पर्छ। एकछिनमा तपाईँहरु थाहा पाईहाल्नु हुन्छ नि।’

सिञ्जाबाट गाडी गुड्यो। हामी आत्तिसकेका थियौँ। ‘कति समय लाग्छ’ भन्ने हाम्रो सोधाइको रफ्तार बढेको बढ्यै थियो। मन उथलपुल भइरहेको थियो।

तर गर्न सक्ने केही थिएन। फेरि अर्को पट्टि उस्तै डरलाग्दो बाटो आयो। बाटो काट्नका लागि ड्राइभर दाइले गाडीलाई ब्याक गर्दै मोड कटाउँदै थिए। सानो गल्तीले जे पनि हुन सक्ने त्यो बाटोमा उनले हासियार भएर गाडी कुदाइरहेका थिए।

अप्ठ्याराे बाटो पार गर्दा ठूलो युद्ध नै जितेजस्तो भयो। हामीलाई ड्राइभर दाइ सुनाउँदै थिए, ‘अब पुग्नै लाग्यौँ है।’ साँझ ६ बज्नै लागेको थियो। गाडी रोकियो। गाडीको ढोकामा उभिरहेका सहचालक बेस्सरी कराएँ, ‘लौ है…ताल्चा झर्ने को–को हुनु हुन्छ, झर्नुस्।’

उनले हामीलाई बोलाउँदै भने, ‘बैनी तपाईँहरु पनि यही झर्ने होइन? ल आउनुस्, आउनुस्।’

ताल्चा पुगेपछि मनलाई केही शान्ति मिल्यो। ठूल्ठूला झोला बोकेर बर्षा र म ताल्चा एयरपोर्ट हुँदै होटल पुग्यौँ ।

ड्राइभर दाइले झ्यालबाट टाउको निकाल्दै एक हात उचालेर हामीलाई भनेका थिए, ‘लौ राम्रोसँग रारा घुमेर फर्किनुस है…बैनीहरु।’

एकपछि अर्को जिल्ला छिचोल्दै सुर्खेतबाट गुडेको गाडीलाई दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुसम्म पुग्न दुई दिन लाग्यो।

लगातार तीन दिनको यात्रा गरेका हामी थाकिसकेका थियौँ। ताल्चाबाट अझै हामीलाई रारा पुग्नु पर्ने थियो। निकुञ्जमा ६ बजे पछि प्रवेश निषेध हुने हुँदा हामी त्यही बास बस्यौँ।

सुर्खेत कटेपछि मुगु पुग्दासम्म बाटै पिच्छे देखिएको एउटा दृश्य आकर्षणको केन्द्र बन्यो मेरा लागि। लाग्यो भगवान प्रति त्यहाँँका मानिसहरुको आस्था धेरै रहेछ।

सुर्खेतबाट विभिन्न जिल्ला छिचोल्दै मुगु पुग्दासम्म बाटोका ढुङ्गा–ढुङ्गामा भगवान भेटिए। ढुङ्गा नभएका कतिपय ठाउँका रुखमा समेत धजा–माला लगाइएका थिए। रहेकलाई आ–आफ्नो धर्म प्रति आस्था, विश्वास हुन्छ, तर अति धेरे भगवान प्रतिको विश्वास पहिलो पटक देखेको थिएँ मैले।

चौथो दिन

तस्बिर : बर्षा शाह/देश सञ्चार

बिहानै उठेर रारा जानका लागि तयार भयौँ। होटलको कोठाबाट बाहिर निस्कँदा ७ बजिसकेको थियो। ताल्चाबाट रारा जानका लागि घोडा मगायौँ।

१२ः३० बजी सक्दासम्म पनि लिन घोडा नपुगेपछि मिलिचउरसम्म गाडीमा जाने व्यवस्था होटलवाला साहुजीले मिलाइदिए। १ बजे राराका लागि निस्कियौँ।

गाडी मिलिचउरसम्म पुग्ने भने पछि हामी त्यही ओर्लियौँ। ठूलो चउर। त्यही चउरमा चरिरहेका घोडाहरु। चउरको वरिपरि अग्ला घना रुखहरु। यो देख्दा जोकोहीको मन लोभिन्छ। हामी पनि लोभियौँ।

त्यहाँबाट हिँड्दै रारासम्म पुग्ने निर्णय गर्‍यौँ र पाइलाहरु अगाडि सार्‍यौँ।

बाटो छेक्दै एकहुल घोड सवारले भने, ‘दिदी घोडामा जाने हो?’

ताल्चामा करिव ५ घण्टा घोडालाई कुरेको रिस ताजै थियो, त्यसैले अलि छुच्चो पारामा बर्षाको जवाफ आयो, ‘चाहिँदैन घोडा–सोडा हाम्लाई।’
ठूला लस्करै उभिएका सल्लाका रुखलाई छिचोल्दै ओरालो लाग्यौँ। केही मिनेट ओरालो झर्ने बित्तिकै सल्लाका रुखको बिच छेदबाट केही निलो रंग देखियो। निलो रंग देख्ने बित्तिकै लाग्यो, रारा समिपमा पुग्दैछौँ।

त्यही निलो रंगले हामीलाई आफूतिर खिचिरहेको थियो। ओरालोमा पाइलाहरु बेतोडले ओर्लिरहेको थिए।

चार दिन लगाएर भए पनि अन्ततः हामी रारा पुग्यौँ।

विश्वास गर्न गाह्रो भयो। लाग्यो,‘के म साँचै रारा पुगेकै हो?’ अगाडि–अगाडि हिँडिरहेकी बर्षा खुशीले नाच्न थालेपछि म सामेल भएँ।
जब रारा पुगियो, तब बाटोमा पाएको दुःख आफूले खर्चिएको समयको विल्कुलै वास्ता भएन।

राराको त्यो प्राकृतिक सुन्दरतामा हामी लठ्ठ भयौँ। त्यो निलो पानीले मोहित बनायो। मनमोहक सुन्रतामा चुर्लुम्म डुब्यौँ, हामी।

तालको छेउमा सुत्यो। थकान मेटायौँ। मन आनन्दित भयो। छुट्टै संसारमा पुगे जस्तो महशुस भयो त्यो बेला।

सुत्नु भन्दा अगाडि र बिहान उठ्ने बित्तिकै रारालाई देख्न पाइयोस् भन्दै छेउकै डाँफे होटरमा बस्यौँ।

पाँचौँ दिन

बिहानी पखको राराको सुन्दरता हेर्न आतुर भएका हामी बिहानै उठ्यौँ। न्यानो कपडा लगायौँ र बाहिर निस्कियौँ। होटल भन्दा केही दूरीमा रहेको आर्मीको क्यान्टिनसम्म पुग्यौँ। त्यहीँ कफी पियौँ। कपमा राखेको कफी चिसोले गर्दा छेनभरमै सेलाइसकेको थियो।

चिसो अनुभव हामीलाई बिहानको सिरोटोले कुनै फरक पारेन। हामी मात्र रारामा घुम्ने थियौँ।

आँखा जति तन्काएर हेर्दा पनि एकछेउबाट अर्को छेउलाई कैद गर्न सकिन मैले। महशुस गरेँ राजा महेन्द्रले त्यसै ‘अप्सरा’ को उपमा दिएका रहेनछन् रारालाई।

सुनेका थियौँ, छेउबाट भन्दा पनि मुर्माटपबाट रारा अझसुन्दर देखिन्छ। हामी खाना खाएर मुर्माटप जाने निर्णय गर्यौँ। र घोडा चढेर त्यतै तिर लाग्यौँ।

करिब तीन घण्टाको घोडा सवारी पछि मुर्मा पुग्यौँ। तर दुर्भाग्य, हामी मुर्मा पुग्दा मौसम एकाएक बदलियो। आकाश बादलले धुम्म थियो । निलो रंगको राराको पानी एकाएक कालो देखिन थाल्यो।

यो पटक भने मन खिन्न भयो।

चित्त दुखाउँदै तल झर्‍याैँ । रारालाई टपबाट नियाल्ने मौका पायौँ तर उसको सुन्दरता खासै राम्रौसँग नियाल्न भने पाएनौँ।

अनुमान लगायौँ। यस्तो देखिन्छ होला।

अफिसको बिदा छोटो थियो। भोलि पल्ट बिहानै फर्किने सल्लाह गर्‍याैँ।

छैटौँ दिन

बिहानै उठ्यौँ। आ–आफ्नो सामान चेक गयौँ र यात्राका लागि तयार भयौँ। डुङ्गा चढेर रारालाई पार गर्‍याैँ। अनि फेरि घोडा चढ्यौँ र ताल्चा तर्फ लाग्यौँ।

त्यो दिन नेपालगञ्ज फर्किनका लागि हामीले प्लेनको टिकट पाएनौँ। जसले गर्दा त्यही बबस्नु पर्ने बाध्यता भयो। टिकटका लागि मारामार थियो। सबै जना लडिरहेका थियो। उनीहरु आफ्ना मानिसलाई हालिरहेका थिए।

हाम्रा आफन्त कोही थिएनन्। जस रुवरुप हामीले टिकट पाउने कुनै सम्भावना नै थिएन।

ताल्चा पहिलो दिन बसेका कारण त्यस दिन मुगुको सदरमुकाम गमगडि जाने निर्णय गर्‍याैँ र बस चढ्यौँ।

त्यो दिन साँझसम्म सदरमुकामलाई एक फन्को लगायौँ।

सातौँ दिन

बिहानै टिकट बाँड्ने भएका कारण बिहानै गमगडीबाट फेरि ताल्चा पुग्यौँ। कुनै टोलको झगडा भन्दा कम थिएन एयरपोर्ट। टिकटका लागि कलह भइरहेको थियो। खोसाखोस गरिरहेका थिए।

काउन्टर ताल्चा लागेको थियो। फाेन गर्दा काउन्टररका मानिसहरु भनिरहेका थिए,‘सबै टिकट गइसक्यो।’

काउन्टरको पिँढीमा रुखबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी बालिका सुतिरहेकी थिइन्। तर टिकट बेच्ने व्यतिहरु व्यपारी जसरी मोलमोलाइ गरिरहेका थिए। बालिकाकी आमा रुँदै थिइन्। त्यो दृश्य देख्दा लागिरहेका थियो, मुगुमा मानिसहरुमा मानवता हराइसके छ। कुनै पनि ठाउँमा बिरामीलाई पहिलो प्राथमिकता दिइन्छ।

अझ बालिका आफैमा मुगुबासी थिइन्। उनले आफ्नो प्राणका लागि आफ्नै ठाउँमा टिकट पाइरहेकी थिइनन्।

छोरीको जीवन रक्षाका लागि एउटी आमाको गुहार उनीहरु सुन्न तयार थिएनन्।

धेरै प्रयास पछि उक्त बालिकाले प्लेनमा ठाउँ पाइन्।

बालिका पछि हाम्रो पालो आयो। टिकटका लिन धेरै मेहनत गर्नु पर्‍याे। हार गुहार माग्नु पर्‍याे। बल्ल बल्ल दुईवटा टिकट पाइयो। त्यो पनि फरक फरक प्लेनमा। मेरो लागि १२ः३० को र बर्षाका लागि २ बजेको टिकट पायौँ।

प्लेनको प्रतिक्षामा बस्दै झोला सिरानमा राखेर एयरपोटमै सुत्यौँ।

प्लेन पर्खिँदा पर्खिँदा २ बज्न लाग्यो। बर्षा जाने प्लेन ल्याण्ड गर्‍यो। तर मेरो अत्तोपत्तो थिएन।

प्लेन आउँछ भन्ने आश्वासनमा त्यहीँ बसे। बर्षालाई लिएर प्लेन उड्यो। ताल्चाबाट प्लेन नेपालगञ्ज पुग्दासम्म पनि प्लेन आउने सुइको थिएन।
एक्लै बस्नु पर्ने डरले मलाई खाइरहेको थियो। सुतेको ठाउँमा दुवो मैदान भइसकेको थियो। तर पनि प्लेन आएन।

अन्ततः ४ बजे मेरो पालो आयो। नेपालगञ्ज फर्किन हतारिएकी म प्लेनमा चढे।

आकाशमा उडिरहेको प्लेनले रारालाई एक फन्को लगायो। मैले झ्यालबाट फेरि अर्को पटक उसलाई टाढैबाट भए पनि एकटकले नियाले।
अनि केही बेरमा नेपालगञ्ज आइपुगे। बर्षासँग फेरि भेट भयो।

दुवैजना एउटै प्लेनमा सँगै बसेर नेपालगञ्जबाट काठमाडौँ फर्कियौँ।

एक वर्ष भयो रारा पुगेर फर्किएको तर पनि त्यो दृश्य मनमा अझै उस्तै बसेको छ। क्यामेराले तस्बिर कैद गरे जसरी रारालाई मेरा आँखाले कैद गरेका छन्। कहिल्यै नमेटिने गरि । कहिले नहराउने गरि । कहिल्यै नउत्रिने गरि ।

सधैँका लागि मेरो मस्तिष्कमा चित्र कोरिएको छ। त्यसलाई न कुनै शब्दमा बयान गर्न सक्छु, न कुनै वाक्यमा वर्णन गर्न सक्छु। सक्छु त केवल मनमा सजाएर राख्न मात्र। कसैले नदेख्ने गरि, मात्र आफूले ‘रारा’ को त्यो सुन्दरतालाई महशुस गर्ने गरि।

रारासँगको प्रेम मेरा लागि अटुट रहिरहने छ। सदासदाका लागि।

एक वर्ष अगाडि रारामा रमाइरहेका हामी यो वर्ष कारोना भाइरसको महामारीका कारण बाहिर घुम्न जान पाएका छैनौँ। यो महामारीले हामीलाई मात्र होइन हामी जसता प्लान बनाएर बसिरहेका कयौँ व्यक्तिलाई असर गरेको छ।

तर पनि केही छैन। स्वस्थ रहन सके घुम्न जाने दिनहरु अझै धेरै छन्।

कात्तिक २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्