राजदूतमा खतिवडा, रेग्मी र विश्वकर्मा तीनै जनाको नाम अनुमोदन

सुनुवाइका लागि पालो कुर्दै खतिवडा, रेग्मी र विश्वकर्मा।

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित तीनै जनाको नाम सर्वसहमतिले अनुमोदन गरेको छ।

बिहीबार समितिले संयुक्त राज्य अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोक दर्शन रेग्मी र दक्षिण कोरियासहित १२ देशका लागि डा. निर्मलकुमार विश्वकर्माको नाम अनुमोदन गरेको हो।

तीन जनाले बिहीबार समिति समक्ष उपस्थित भएर आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका थिए। मन्त्रिपरिषदको गत असोज १६ गते बसेको बैठकले राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

सुनुवाइ समितिमा डा. खतिवडाविरुद्ध तीन र रेग्मीविरुद्ध एउटा उजुरी परेको थियो। सुनुवाइ समितिले अनुमोदन गरे पनि अब सम्बन्धित देशले एग्रिमो (सम्बिन्धित देशले राजदूतका पठाउन दिएको अनुमति) पठाएपछि मात्रै राष्ट्रपतिबाट उनीहरुको नियुक्ति हुनेछ। राजदूत नियुक्तिप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि छ।

कात्तिक २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्