प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमाः शंकर पोखरेल

लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेल। फाइल तस्बिर।

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा सत्तारुढ नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले कार्यकारी अध्यक्ष प्रचण्डको एकल राजनीतिक प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको बताएका छन्।

पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरीत सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित प्रचण्डले एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको उनले बताएका छन्।

पोखरेलले पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्ता गरी एकताको मर्म अनुरुप छलफललाई अघि बढाउन प्रचण्डलाई अनुरोध गरेका छन्।

व्यक्तिगत पत्र र संस्थागत प्रस्ताव फरक विषय हो भन्ने सत्य बुझ्न पनि पोखरेलले प्रचण्डलाई आग्रह गरेका छन्।

शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि गम्भीर आरोप लगाउँदै राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

कात्तिक २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्