खड्ग नचाइ सामन्ती बालुवाटार धाउँछ
उसैको तालमा नाँच्ने कत्रो फूर्ति लगाउँछ ।
आफ्नैको डरले काँप्छु चुच्चो नक्सा बिझाउँछ
खै कता ठेस लाग्ने हो शत्रुले पो रिझाउँछ ।

गलामा सर्पको माला भिराइ म गिराउँछु
झल्लिने हल्लिनेलाई बीष घैला पिलाउँछु ।
कलिका पाण्डव होलान् देख्तिनँ केशव कहीँ
यै वृन्दावनमा आज सुनिन्न ध्वनि बाँसुरी ।

ट्रस्टमा दिव्यदृष्टि छन् ओम्नी आफन्तका भए
भ्रष्टका के कुरा गर्नु अख्तियार यतै सरे ।
खल्तिका दूत झिकेर जागिरे म बनाउँछु
चल्तिका मूर्ति झिकेर न्याय-खिल्ली उडाउँछु ।

जो जस्ले बाघ सम्झन्थ्यो त्यो आफै भयो काँतर
मेरै रवाफिलो शान खोस्न जो थियो आतुर
डमरू तालमा नाँचुन् बाघ हुँ हैन वानर
वनमा बास बस्नेको यत्रो फूर्ति भयो किन ?

बिताउँ म सदाकाल बिघ्न बाधा हटाउनू
विष्णु(शङ्कर भानुले रीपूलाई घटाउनू ।
गर्मी प्रचण्ड भो फेरि वर्षाऊ झरि बादल
हरिबोल भनी गाऊ बजाऊ अब मादल ।

सपना ननिको देख्छु छाँयासँगै डराउँछु,
निद्रा पातलिदै जान्छ एक्लैएक्लै कराउँछु ।
म डुब्नु देश डुब्नु होु यस्तो भ्रान्ति भयो किन ?
नडुबी तैरिनै गाह्रो सत्ता–खोला दिनै दिन ।

कात्तिक २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्