ओलीविरुद्धको आरोप फिर्ता लिन प्रचण्डलाई दबाब

काठमाडौँ-केन्द्रीय सचिवालयमा अल्पमत परेका र असन्तुष्ट समूहले रचेको चक्रब्यूमा फसेपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्षका योद्धाहरुले उनीमाथि लगाइएका सबै आरोपहरु फिर्ताका लागि प्रचण्डलाई दबाब दिन थालेका छन्।

खासगरी ओली निकट पार्टी स्थायी कमिटी सदस्य शंकर पोखरेल र नेता गोकुल बास्कोटाले शुक्रबार पार्टी सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तावका रुपमा पेश गरेको पत्र फिर्ता नलिए पार्टी एकता नरहने भन्दै त्यो फिर्ताका लागि सार्वजनिकरुपमै दबाब दिएका हुन्।

प्रचण्डले बैठकमा पेश गरेको प्रस्तावमा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, गुटबन्दी गरेको, व्यक्तिवादी,एकाधिकारवादी सोच बढाएको जस्ता दर्जन बढी आरोप लगाएका छन्।

प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सचिवालयमा एकलरुपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत थप भनेका छन्, ‘यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुन सक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेको हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ।’

स्थायी कमिटी सदस्य शंकर पोखरेलले शनिबार ट्वीटरमार्फत भनेका छन्,‘कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरीत सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूति सिंगो पार्टी पंक्तिले गरिरहेको छ । म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि बैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनरूप छलफललाई अघि वढाउन अनुरोध गर्दछु।’

यस्तै नेता बास्कोटाले पनि ओलीमाथि अप्रमाणित आरोप लगाएको भन्दै त्यसको खण्डन गरेका छन् ।

उनले प्रचण्डलाई चुनौति दिँदै ट्वीटरमा भनेका छन्,‘ अविस्वास प्रस्ताव संसदमा पेश गर्दा प्रतिपक्षले लगाउने जस्ता अप्रमाणित आरोपको पुलिन्दा हेर्दा अब पार्टीको एकता जीवन्त राख्ने राजनीतिक,सांगठनिक र मनोवैज्ञानिक आधार सम्पूर्ण रूपमै समाप्त पारेजस्तो देखियो। फिर्ता लिने वा गम्भीर तनावको यात्रा रोज्ने? मर्जी आफ्नै त हो! ’

 

कात्तिक २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्