नेपालगञ्ज म्याराथनको पुरस्कार राशि बढाइयो

नेपालगञ्‍ज-मंसीर ६ गते हुने नेपालगञ्ज म्याराथन र हाफ म्याराथनको पुरस्कार राशी बृद्धि गरिएको छ ।

आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीका अनुसार, यसपटक म्यराथनका विजेताले ७५ हजार पाउनेछन् । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार रुपैयाँ, चौथोले १०, पाँचौंले ८, छैठौंले ७, सातौंले ६ र आठौं हुनेले ५ हजार रुपैयाँ पाउने छन् । म्याराथनको विजेताले गत वर्षको ५५ हजार पाएका थिए ।

महिला हाफ म्याराथनको विजेताले ३०, दोस्राले १५, तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै चौथोलाई ७, पाँचौंलाई ६ र छैठौं हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

एक्सन एड नेपालको साझेदारी पछि ‘बाँच्नका लागि हिडौं’ भन्ने नारा नेपालगञ्ज म्याराथन आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गर्दछ ।

नेपाल एथलेटिक्स संघबाट मान्यताप्राप्त नेपालगञ्ज म्याराथन यसपटक नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पिक छनोटका रुपमा समेत लिएको छ । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने एनओसीले जानकारी गराएको छ ।

केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगञ्ज म्याराथनको मुख्य प्रायोजक रहेको छ । म्याराथनमा आशीर्वाद पेन्ट्स र राष्ट्रिय वाणिज्य बैंकको विगतमा जस्तै साथ रहेको छ। खेल पोशाक उत्पादन कम्पनी सहास स्पोर्टस्सँग पनि म्याराथनका लागि सहकार्य भएको छ ।

कोरोना महामारीका कारण यसपटक मानिसको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाइने अध्यक्ष ठकुरीले बताए। दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न अनुरोध गरिएको छ।

कोरोनाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरेका छौँ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन्।

कात्तिक २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्