बगिया: तिहार (सुकराइत) मा थारुको विशेष परिकार

नेपालीहरुको महान चाड तिहार धुमधामले मनाइँरहँदा थारु समुदायले पनि यसलाई आफ्नै मौलिक परम्परा,सामाजिक मूल्‍य र मान्‍यताका साथ मनाउँदै आएका छन्।

तराईमा बस्‍ने आदिवासी थारु समुदायले धनकी देवी लक्ष्मीलाई ‘हुक्‍के-हुक्‍का’ खेलेर भित्र्याएको भोलिपल्ट बिहानैदेखि घर-घरमा चामलको पीठोबाट ‘बगिया’ बनाउने गर्दछन्।

बगिया बनाउँदा उनीहरुले परिकारमा आफ्नो कलायुक्त तरिकाले विभिन्‍न आकारहरुमा बनाउने गर्दछन्। किनकी ती आकारहरुमा उनीहरुको सामाजिक रीतिथिति, रहन-सहन र बसोबाससँग सम्बन्धित भएका हुन्छ। बगिया परिकारमा खजन चिरै, सखारी-बखारी लगायत बनाउने गरिन्छ।

खजन चिरै (एक प्रकारको चञ्चले चरा)


थारु समुदायले आफ्नो बालबालिकाको लागि छुट्टै आकारमा प्रकारमा खजन चिरै बनाउने गर्दछन्। खजन चिरै एक प्रकारको चराको नाम हो थारु भाषामा। यो चरा आकारमा सानो तर एकदमै चञ्चल स्वभावको हुन्छ।

मौसम विस्तारै चिसो हुन थालेपछि रुखबाट लड्दै-पड्दै घामको खोजीमा निस्किने गर्छ। ठीक त्यस्तै स्वभाव बालबालिमा पनि हुने गरेको र उनीहरुलाई जाडो मौसमबाट बचाउन बाफबाट बनेको शुद्ध बगियासँगै ‘खजन चिरै’को आकारमा बनाउन थालिएको संस्कृतिविद भुलाई चौधरी बताउँछन्।

उनी भन्छन्, ‘ खजन चिरै एक प्रकारको चरा हो। यसको स्वभाव निक्कै चञ्चल हुन्छ। चिसो मौसम सुरु भएपछि घाम खोज्न लड्दै पड्दै भए पनि निस्किन्छ। बालबालिकामा पनि त्यही स्वभाव भएकाले त्यसैको स्वरुप थारु समुदायमा बालबालिकालाई खजन चिरै बनाउन चलन आएको हो।बालसुलभ गुण र चञ्चलता बालबालिकाको विशेषता भएकाले उनीहरुलाई थारु समुदायले यही बनाइदिएको हो।’

यसका साथै खजन चिरै कुन दिशामा देखिन्छ सोही अनुसार फल मिल्‍ने सामाजिक तथा धार्मिक विश्‍वास थारु समुदायमा रहिआएको संस्कृतिविद चौधरी बताउँछन्।

यस्तै आकारमा सानो भएकाले बालबालिकालाई खजन चिरै खुब मन पर्ने भएकाले उनीहरुको लागि उक्त परिकार विशेष मानिन्छ। लक्ष्मी पूजाको भोलिपल्ट बिहानै थारु समुदायका बालबालिकाहरु ओछ्‍यानबाट उठ्‍ने बित्तिकै आफ्नी आमालाई त्यही ‘खजन चिरै’ माग्‍ने गर्दछन्। यसबारे थारु लोकगाथा पनि रहेको उनी सुनाउँछन्।

खजन चिरै
खजन चिरै
बर गुरका
ममा मारलकै
दबिया पिज्या
मामी रानहलकै
नथिया डोल्या
ममा खेलकै
मोछ फल्क्या!!!

अर्थात

खजन चरा
खजन चरा
धेरै गुल्टिने
धेरै गुल्टिने
मामाले मार्नुभयो
खुकुरी तिखारी
माइजूले पकाउनूभयो
नथियाँ हल्लाइ
अनि मामाले खानुभयो
जुँगा हल्लाइ !!!

सखारी-बखारी


खासमा सखारी-बखारी पनि थारुको परम्परागत संस्कृतिको प्रतीक हो। पहिला तराइमा थारुहरुको प्रशस्तै खेत हुने गरेको र खेतमा उनीहरुले लगाएको धान मनग्यै फल्‍ने भएकाले उक्त धान त्यही बखारी (धान राख्‍न बाँसबाट बनाइएको गोलो ट्यांक) मा राख्‍ने गरिन्थ्यो।

उनीहरुले आफ्नो उक्त संस्कार र आफ्नो व्‍यवहारलाई समेत मौलिकाका साथ खाने परिकारमा समेत उतार्ने गर्दथे। यही परम्परालाई उनीहरु सुखको दिन अर्थात सुकराइतमा त्यसको प्रतीक स्वरुप सखारी-बखारी बनाउने गर्दथे।

थारु संस्कृतिविद् भुलाई चौधरी भन्छन् ‘तिहारलाई थारु समुदायले सुकराइत अर्थात सुखको दिन भन्दछन्। तराइको मैदानी भू-भागमा सबैभन्दा धेरै फल्‍ने चीज धान हो। थारु समुदाय ‘ल्याण्ड लर्ड अफ तराइ’ अर्थात धानको पूजारी थिए। धानलाई सुनको प्रतीक मानिन्छ। त्‍यसैले तराइलाई सुन फल्‍ने मैदान पनि भनिन्छ। अन्नको भण्डार पनि भनिन्छ। हो, उनीहरुले उब्जाएको धानको चामलबाट नै आफ्नो परिकारहरु बनाउँथे। त्‍यसमा उनीहरु आफ्नो बसोबास, रीतिरीवाज, संस्कार र परम्परालाई झल्किने गरी बनाउँथे।’

यसका साथै गाउँ-गाउँमा हबेली र थारुहरुको घर-घरमा बखारी हुने गर्दथे। कुनै गाउँमा धान वा चामल घटेमा वा प्रगन्‍ना भोजमा केही कमी भएमा यही बखारीबाट झिकेर दिने चलन थियो। यस परम्परालाई उनीहरुले आफ्नो चाडपर्वमा कायम गरेका थिए। शुद्ध चामल र पानीबाट बन्‍ने भएकाले यसलाई उनीहरुले प्रकृतिको प्रसाद भनेर ग्रहण गर्ने गर्नु पर्ने मान्‍यता राख्दथे।

यो परिकार बाफमा पाक्‍ने भएकाले थारु समुदायले यसलाई ‘बगिया’ नामाकरण गरेका हुन। उनी भन्छन्, ‘पहिलाका थारुहरुसँग अहिलेको जस्तो पित्तलको भाडो, स्टीलको भाँडो छदै थिएन। फलत: उनीहरु माटोबाटै बनेको भाँडोमा आफ्नो परिकार ‘बगिया’ बनाउने गर्दथे। माटोबाट बनाइएको उक्त भाँडोलाई ‘अट्नी’ भनिन्छ। अहिले त्यो लोप भइसकेको छ समुदायबाट नै किनकी आजभोलि केही प्रविधि र प्रयोगहरु परिवर्तन हुँदै गएका छन्। तर बगिया बनाउने संस्कार भने कायमै छ।’

थारु समुदाय समय र परिस्थितिसँग जुध्दा-जुध्दै उनीहरुको आफ्नो मौलिकपनमा ह्रास हुन थालेको उनको भनाइ छ।  उनी भन्छन्, ‘अब युवाहरुले थारु संस्कार र संस्कृतिको जगेर्ना गर्नु पर्ने बेला आएको छ। यदि यसलाई जोगाउन सकिएन भने थार संस्कृति संस्कार लोप भएर जानेछ। थारुको अस्तित्व संकटमा पर्नेछ एकदिन।’