स्मृति

दामल, त्यो गाउँको सम्झनामा देउसी–भैलो र ‘रुखा’ दाइहरु

द्वन्द्व छोडेर माओवादी शान्तिपूर्ण राजनीतिको प्रक्रियामा सामेल भए । खड्के दाइ आर्मीमा भर्ती भए । उनीसँगैका अरु पनि । आर्मी भएकाहरु गाउँ आउन छोडे । मदन दाइ एक्लो जस्तै भए।

कुलाको डिलको घर छोडेर खड्के दाइको बुवाले अलि वर मुलबाटोको आडमा पक्की घर बनाए। घर पछाडिकाे कुलो सुक्दै गयो । देउसी–भैलोको रिहर्सल गर्ने घर अब छैन । अहिले लाग्छ त्यहाँ घर नै थिएन, जुनघरमा मदन दाइहरुले भैलोको रिहर्सल गर्थे।

खेतको बिचको पिपलको रुख पनि बुढो भैसक्यो। जहाँबाट मैले धेरै पटक तोरणमा हाल्ने पात टिपेको छु। धेरैपटक माने र म गएका छौँ। केशवकी आमाले कहिल्यै नटिप भनिनन्। गोरु तिहारका दिन बुवाले सधैँ मलाई बर र पिपलको पात टिप्न लागाउनु हुन्थ्यो।

नाघेर पात टिप्न जाने बार छैन । बाटो फराकिलो बनाउने भन्दै नगरपालिकाले डोजर चलायो । उराठ लाग्दो छ हराभरा त्यो बाटो अहिले । बाटो वरिपरि रुखहरु छैनन् । पक्की कुलो बनिसक्यो ।

रवीन्द्रका चारवटा घर भए । हाम्रो र उसको घरको सिमाना जोडिएको छैन । हाम्रो अलि तल छ । मानेको घर हाम्रो घरबाट देखिँदैन अचेल, जुन घरमा हाम्रो घर अगाडिको निमको रुखका हाँगा छलेर हामीले तोरण बान्थ्यौँ ।

कात्तिक ११, दसैँको भोलिपल्ट, गर्मी नभए पनि मौसम केही फुस्स परेको छ बर्दियाको । पहिलाको दसैँ जस्तो चहलपहल छैन बकुवामा ।

पूर्णिमासम्मै हातमा कोसेली, रातो टीका र जमरामा सजिएकाहरुको गोडा हतारमा हुन्थे केही वर्ष अघिसम्म ।

ति हिँड्ने ताँतीहरुको संख्या नघट्दै सुरु हुन्थ्यो हाम्रो भैलो खेल्ने सल्लाह । त्यसमा नेतृत्व हुन्थ्यो मदन दाइको । चोकको लाम्टी आन्टीको पसलमा बसेर कतिपटक हामीले भैलोको योजना बनाएका छौँ । उठेको पैसा गन्थ्यौँ । पिकनिक जाने योजना बनाउँथ्यौँ ।

आफ्ना दामलले साथ छोडेपछि मदन दाइका साथी भएका थियौँ हामी । चोकमा बसेर गफगर्ने अनि भैलो खेल्ने ।

साँच्चै कति रमाइला थिए ति दिन ! न भोक लाग्थ्यो न निन्द्रा । रातभरि खेलिन्थ्यो । कहिले काहिँ त छर्लङ्गै उज्यालो हुनेगरि भैलो खेलिन्थ्यो ।
‘फेरि त्यस्तै रमाइलो गर्दै भैलो कहिले खेल्न दाइ?’

साँच्चै कति रमाइला थिए ति दिन ! न भोक लाग्थ्यो न निन्द्रा । रातभरि खेलिन्थ्यो । कहिले काहिँ त छर्लङ्गै उज्यालो हुनेगरि भैलो खेलिन्थ्यो ।

‘फेरि त्यस्तै रमाइलो गर्दै भैलो कहिले खेल्न दाइ?’

मदन दाइ रिसाए ‘आ रन्देउ, तिमी कहिल्यै गाउँ नआउने कसरी खेल्छौँ भैलो । अगाडि बसेको मोहन भाइ हाँस्यो ।

हाँसेको देखेर मुर्मुरिएँ । मनमनै भनेँ तेरै दाइले त हो मलाई भैलो खेल्न सिकाएको ।

माने ।

पूरा नाम मानबहादुर खड्का। हामी माने भन्थ्यौँ । घरको जेठो छोरो । पढाइमा तेज । उट्पट्याङ्ग गर्न पनि तेज नै थियो । दुब्लो, होचो, भर्खरसँगै भएको एक्कै छिन्मा मिलिक्क कहाँ पुगिहाल्थ्यो कसैले भेउ पाउँथेनन् ।

उसको घर पछाडिबाट सूर्य उदाउँथ्यो हाम्रो घर पछाडि अस्ताउँथ्यो । उसको र हाम्रो आँगनलाई बकुवा जाने बाटोले छुट्याएको छ । उ म भन्दा ६ महिना मात्र जेठो छ । हामी एकैदिन स्कूल जान थालेका थियौँ ।

भेट भएको बेला जहिले उसले यो कुरा सम्झाउँछ । कसैसँग मेरो परिचय गराउनु पर्‍यो भने अन्तिममा थपिहाल्छ ‘यो र म एकै दिन स्कूल जान सुरु गरेका हौँ । त्यसदिन यो खुब रोएको थियो ।’ म लाजले पानी–पानी हुन्छु । उ हाँस्छ । स्कूल जान नमानेर म रोएको देखेर उ खुब हाँसेको थियो रे । आज पनि हाँस्छ ।

घरमा कान्छो म, सबैले माया गर्थे । तर धेरै पटक दाइ र अंकलको हातले घुच्चुकमा खाएको छु । अनि बुवा र आमाको हातबाट पनि ।

हरेक दिन स्कूल जाने बेलामा मलाई ज्वरो आउँथ्यो । माने भने हाँसी हाँसी जान्थ्यो । फिता भएको कट्टुमा सेतो सर्ट लगाउँदै बुवा भन्नु हुन्थ्यो ‘उ हेर तेरो साथी माने कसरी हाँस्दै जान्छ, ज्ञानी बन्नुपर्छ । स्कूल गएर ठूलो मान्छे बन्नु पर्छ ।’ ति कुरामा कहिल्यै मेरो ध्यान गएन, म त मानेलाई सराप्थेँ । लाग्थ्यो यसकै कारण म स्कूल जानु परेको छ ।

म सुकसुकाउँदै, आँशु पुछ्दै बाटोमा निस्कन्थे । माने मलाई कुरेर बस्थ्यो । बोर्डिङ स्कूल टाढा थियो । बाटोमा खेल्दै जाँदा आधा घण्टामा पुगिन्थ्यो । घरबाट कोही जाँदैनथे पुर्‍याउन ।

बुवा नजिकैको सरकारी स्कूलमा पढाउनु हुन्थ्यो । मैले धेरैपटक बुवा पढाउने स्कूलमा पढ्छु भनेर जिद्धी गरेँ । पछि बोर्डिङ स्कूल छोडेर बुवाले पढाउने स्कूलमा ४ कक्षामा भर्ना भएँ ।

माने र म घरबाट तल मोहनपुरको स्कूलमा हिँड्दै जान्थौँ । सधैँ माने अघिअघि म पछिपछि ।

हुर्कँदै गयौँ ।

मानेको घरभन्दा केही पर कुलाको डिलमा खड्के दाइको घर थियो । अहिले त्यहाँ छैन । खड्के दाइ मेरो ठूलो दाइको मिज्जु, मेरो मिज्जु खड्के दाइको भाइ नैने ।

त्यहीँ हुन्थ्यो भैलोको तयारी । मदन दाइले गर्थे सबै चाँजोपाँजो । गीतमा नाच्न सिकाउँथे मदन दाइ गाउँका दिदी बहिनी जम्मा पारेर । माने र म सधैँ हेर्न जान्थ्यौँ । हाम्रो साथमा हुन्थ्यो घर माथिको रवीन्द्र ।

तर हामीलाई दाइहरुले हेर्न दिँदैनथे । हामीलाई देखेर खड्के दाइ आँखा तर्थे, जिब्रो टोक्थे । हामी डराई–डराई हेर्न दिने आशमा टाढै गीत मात्र सुनेर घण्टौँ बस्थ्यौँ । नजिक जान खोज्थ्यौँ दाइहरुले लखेट्थे ।

माने मुरमुरिन्थ्यो । मतिर हेर्दे भन्थ्यो ‘हेर्न दिए के हुन्थ्यो बे’ । उनीहरुले हामीलाई रिहर्सल हेर्न कहिल्यै दिएनन् ।

हरेक दिन माने र म निन्याउरो अनुहार लगाएर घर फर्कन्थ्यौँ । घर पुग्दासम्म पनि सुनिन्थ्यो मादलको धुन । लाग्थ्यो हुन त हाम्रो के काम त्यहाँ, हामी न नाच्ने न गाउने । अनि लाग्थ्यो भैलो चाहीँ खेल्न देलान् शायद ।

कुकुर तिहारको दिन, दुई बजिसकेको थियो ।

‘माने गोरुलाई पानी खुवा त’ मानेका बुवाले घरको आँगनबाट डाकेँ । हामी घर अगाडिको बाटोमा थियौँ । रिहर्सल हेर्न नपाएको माने झर्कियो ‘खुवाउँदैन म’ । ठूला बुवाले लठ्ठी खोज्न थाले, माने घर पछाडि कुलेलाम ठोक्यो । मेरो बुवाभन्दा जेठा भएकाले मैले ठूलो बुवा भन्थेँ । एकदमै सोझा तर तर रिसाय भने आगो ओकल्ने । माने धेरै पटक बाँचेको छ ।

केहीबेरमा, घरको आँगनमा बसेर बासी भात खान थालेको थिए । घर पछाडिको खेतमा बानेका गोरुलाई मानले पानी खुवाउँदै गरेको देखे । मनमनै हाँसे ।

कात्तिक महिनाको मध्य । दिउँसो गर्मी, राती जाडो । लक्ष्मी पूजाको दिन, ३ बजिसकेको थियो । आमाले ज्याकेट लागाइदिनु भयो । आफूले बुनेको ऊनको टोपी मेरो हातमा राख्दै भन्नुभयो‘ राति जाडो हुन्छ लगाएस् ।’ मलाई ऊनको टोपी मन पर्दैनथ्यो । लगाउँदा टाउको चिलाउँथ्यो । मैले नाक खुम्चाएँ, गोजीमा हालेँ ।

‘भाइलाई पनि लिएर जानु है’ भन्दै आमा गोठ तिर लाग्नुभयो । ‘रातिसम्म खेल्छौँ, टाढा जान्छौँ केटाकेटीलाई लाने होइन भन्दै माइलो र ठूलो दाइ निस्किए ।

‘लैजाओ न साँझ पर्न थाल्यो भने घर पठाइदिनु’ भैँसीलाई पराल हाल्दै आमाले भनेको कुरा सुन्दै नसुनी उनीहरु खड्के दाइको घरतिर लागे ।

माने तयार भएर मलाई पर्खी बसेको थियो । मानेको घर छेउ हुँदै हामी खड्के दाइको घरतिर लाग्यौँ । सबै तयार भएर बसेका थिए । हामी पनि पुग्यौँ ।

भैलो खेल्ने पहिलो घर खड्के दाइको हुन्थ्यो सधैँ । सबै लजाउँदै, अड मान्दै भैललो खेल्थे, पहिलो घर भएर होला । रिहर्सलमा देख्न नपाएका नाँच हामीले त्यहाँ देख्थ्याैँ । होचो माने खुट्टा उचाली उचाली हेर्थ्याे। नदेखिए घुर्सिएर अगाडि पुगिहाल्थ्यो । केटा–केटीहरु पछाडि जाओ भन्दै खड्के दाइले हप्काए, लुसुक्क पर्दै पछाडि आयो ।

खड्के दाइकी आमाले सबै भैलेराहरुलाई टीका लगाइदिइन् । आशिष दिइन् । हामीले पनि लगायौँ ।

टीका लगाइ नसक्दै खेतको आलीमा उक्लेर खड्के दाइ गर्जिए ‘केटाकेटीहरु कोही न आउनु है हाम्रो पछाडि । आयौ भने लात लगाउँछु ।’
मानेले मेरो मुखमा पुलुक्क हेर्‍यो ।

हामीलाई लागेको थियो हामी जान पाउने छौँ । हलोले जोतेर मुसुरो छरीसकेको थियो खेतमा । आलीमा लस्कर लागेर उनीहरु पल्लो गाउँको दले दाइको घर तिर लागे ।

आश मारेका थिएनौँ । उनीहरु पर पुगुन्जेल हेरेर बस्यौँ । फर्किएर खेल्न आइजो कसैले भनेन । निन्याउरो अनुहार लगाएर घरतिर लाग्यौँ । माने बिच बिचमा रोकिएर फर्किएर हेथ्र्यो । भक्तेको सिसौको नर्सरीले उनीहरुलाई छेक्यो । मानेले आश मार्‍यो र मैले पनि ।

जाउँ हिँड्, म तिर हेर्दै नहेरी लम्कियो । म उसको पछि पछि ।

कात्तिक ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्