लाखौ पासवर्ड चोर्ने प्रयास गरेको माइक्रोसफ्टको दाबी

रुस र उत्तर कोरियाका ह्याकरहरुको निशानामा कोरोना भाइरसको खोप

काठमाडौँ- विश्वको चर्चित कम्प्युटर सफट्वेयर निर्माता कम्पनी माइक्रोसफ्टले कोरोना भाइरस (कोभिड १९)को खोपबारे अनुसन्धान गरिरहेका कम्पनीहरुलाई रुस र उत्तर कोरियाका ह्याकरहरुले निशानामा पारेका छन्।

माइक्रोसफ्टले ब्लगमार्फत रुसी समूहका ‘फ्‍यान्सी वियर’ र उत्तर कोरियाका ‘जिन्क’ र ‘सेरियम’ समूहहरु पछिल्लो समय साइबर हमलामा सक्रिय रहेको जनाएका छन्।

यसअघि बेलायतको राष्ट्रिय साइब सुरक्षाका केन्द्र (एनसीएससी)ले रुसी ह्याकरहरुले कोरोना भाइरसको खोप अनुसन्धानमा संलग्‍न संस्थाहरुलाई निशाना बनाइरहेको दाबी गरेको थियो।

त्यतिबेला ह्याकरहरूले अक्सफर्ड विश्वविद्यालय र अन्य संस्थाका अध्ययन चोर्ने प्रयास गरेका थिए। तर रुसले यसमा आफ्नो संलग्नता अस्वीकार गरेको थियो।

माइक्रोसफ्टका अनुसार थुप्रै औषधि उत्पादक कम्पनीको कम्प्युटर प्रणालीमाथि आक्रमण गर्ने र त्यसको पासवर्डहरु तोड्ने प्रयासहरू भएका छन्। तीमध्‍ये ह्याकरको निशानामा पारिएका खोपका अनुसन्धान कम्पनीहरु क्यानडा, फ्रान्स, भारत, दक्षिण कोरिया र अमेरिकाका रहेका छन्।

माइक्रोसफ्टले भनेको छ, ‘ केही महिनाअघि मात्रै हामीले कोरोना खोपको अनुसन्धानमा संलग्न कम्पनीहरु साइबर हमलाको निशानामा परेको देखेका छौँ। खासगरी ह्याकरहरुले कोरोनाको भ्‍याक्सिन सम्बधि कार्य र अनुसन्धानलाई निशाना बनाउने गरेका छन्।’

यसका साथै उसले रुसी समूहले एकै पटकमा दशौँ लाख पासवर्ड प्रयोग गरेर कम्प्युटर प्रणालीमा प्रवेश गर्ने र सूचना चोर्ने ‘ब्रुट फोर्स’ शैली अपनाएको जिकिर गरेको छ।

त्यस्तै एउटा उत्तर कोरियाली समूह जिन्कले भने चलाखीपूर्ण तरिकाले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को प्रतिनिधिको नामबाट इमेल पठाएर कम्प्‍युटरको पासवर्ड हत्याउने प्रयास गरेको छ।

तर तीमध्‍ये केही प्रयासहरु केही सफल भए पनि धेरैलाई असफल बनाइसकेको र अब हुने साइबर हमलाबारे माइकोसफ्टले ती कम्पनीहरुलाई सचेत गराउँदै आएको छ।

ह्याकरहरुले पछिल्लो समय कोरोना महामारीको बारेमा बुझ्‍न खोझ्‍ने र स्वास्थ्य क्षेत्रका संस्थानहरुमा र्‍यानसमवेयरको माध्‍यमबाट धमाधम साइबर हमला गरिरहेका छन्।

अमेरिकामा हाल ह्याकरहरुले हस्पिटल र हेल्थकेयर संस्थाहरुलाई लक्षित गरेर आक्रमणको प्रयास गरेको माइक्रोसफ्टका अध्‍यक्ष ब्राड स्मिथले बताएका छन्।

उनका अनुसार चेक रिपब्लिकमा रहेको ब्रोनो युनिभर्सिटी हस्पिटल, पेरिस हस्पिटलको सिस्टम, स्पेनको हसपिटलहरु, थाइल्याण्डका हस्पिटलहरु र टेक्सासका मेडिकल क्लिनिकहरु भर्खरै ह्याकरको निशानामा परेका संस्थानहरु रहेका छन्।

यस्तै जर्मनीको अस्पतालमा समेत ह्याकरहरुले आफ्नो कब्जा जमाउने प्रयास गरेका छन्।

यता, खोपको अनुसन्धानमा आफ्नो देश संलग्न भएको आरोप लागेपछि मस्को र प्‍योङयाङले भने खण्डन गरेको छ। वाशिङ्टनस्थित रुसी दूतावासले अमेरिकी समाचार संस्था रोयटर्सलाई यसबारे थप भन्ने कुरा नरहेको प्रतिक्रिया दिएको छ।

यस्तै राष्ट्रसङ्घमा रहेका उत्तर कोरियाली प्रतिनिधिले अहिलेसम्म यसको कुनै पनि जवाफ दिएका छैनन्।

तर, माइक्रोसफ्टले विश्व नेताहरूलाई एउटा आग्रह गर्दै ‘स्वास्थ्य सेवाका पूर्वाधारमा अन्तर्राष्ट्रिय कानुनको सुनिश्चितता गर्न र त्यसको कार्यान्वयनका लागि एउटा गतिलो कदम चाल्न’ आग्रह गरेको छ।

कात्तिक ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्