पौरखीका कुरा

कोरोना महामारीले छेकेन ६७ वर्षीया बृद्धाको च्याउखेती

सुनसरी- बराह नगरपालिकाकी वडा-५ की रमला राजधानी ६७ वर्षकी भइन्। यस्तो वृद्धा अवस्थामा पनि उनी आफू खालि हात नबसी केही न केही व्‍यवसाय गरेर जीवन गुजारिरहेकी छिन्।

उनले आफ्नो दैनिकी चलाउन च्याउखेती गर्दै आएकी छिन्। यसका अलावा रमलाले मौसम अनुसार खेती वर्षैभरी गर्दै आएकी छिन्। तर यस वर्ष भने उनलाई कोरोना महामारीले निक्कै सताएको छ।

कोरोना महामारीकै कारण उनले गर्दै आएको तरकारी व्यापारमा कमाइ नै हुन छाडेको छ। पहिला १५ हजार लगानी लगाएर मासिक ५० हजार रुपैयाँ च्‍याउबाटआम्दानी गर्दै आएकी उनको अहिले लकडाउनले मासिक कमाइ बल्लतल्ल ३५ हजार रुपैयाँ हुने गरेको उनको भनाइ छ।

तरकारी व्‍यापारमा लकडाउनले निक्कै असर गरेको सुनाउँदै उनी भन्छिन्, ‘मैले तरकारी खेती गरेको त करीब १०-१२ वर्ष नै भइसक्यो। तर यो वर्ष जस्तो व्‍यापारमा कम कमाइ भएको थिएन। लकडाउनले त मेरो तरकारीको बजार नै खाइदियो। पहिला मार्केटमा गएर तरकारी बेच्थेँ, अहिले त तरकारी बेच्ने मार्केट नै छैन।’

रमला आजभोलि जसोतसो ३ सय पोका लगाएको च्याउ बेच्दै आएकी छिन्। एक पटकमा लगाएको च्याउ तीन पटकसम्‍म टिप्न मिल्ने उनले बताइन्। उनका अनुसार पहिला बजार हुँदा राम्रै आम्दानी भए पनि लकडाउनेले एकपटक मात्रै बेच्न पाएको गुनासो गरिन्।

उनले भनिन्, ‘अब लकडाउनले सबै बजार पसल बन्द गरिदियो। जसोतसो एक लटको च्याउ मात्रै बेचेको छु। पहिला त धरान, चतरादेखि बाङ्गेसम्‍म पुग्‍ने गरे पनि अहिले जसोतसो तरकारी बेच्दै आएको छु।’

लकडाउनले तरकारीको बीउ नै अभाव हुँदै गएकाले तरकारी निक्कै थोरै लगाएको मुहार निन्याउरो पार्दै उनले बताइन्। उनी भन्छिन्, ‘खै कस्तो गर्ने थाहा नै भएन। सबै तरकारीको बीउ नै पाइँदैन। जसोतसो तरकारी बेचेर जीवन गुजारा गर्दै आएकी छु।’

लकडाउनको समयमा पनि उनको ग्राहकहरु घरमै च्याउ किन्‍न आउने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘लकडाउनमा पनि धरान-चतरा जान्छु च्याउ बेच्न। तर पनि कोही ग्राहकहरु च्याउ किन्न घरमै आइपुग्छन्।’ रमलाले उत्पादन गरेको च्याउ प्रति केजी २ सय रुपैयाँमा बिक्री हुँदै आएको छ।

भिडियो पनि हेर्नुहोस्:

मंसिर १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्