देशभरको मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ – देशका केही क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेकाले मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बाग्मती प्रदेश र पश्चिमका प्रदेशहरुमा पश्चिमी वायुको प्रभाव रहेको मौसमविदले बताएका छन् ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ ।

केही स्थानमा वर्षा र हिमपात पनि भइरहेको मौसमविदले बताएका छन् । प्रदेश १ का पहाडी क्षेत्रमा आंशिक बदली हुनुका साथै बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थान लगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मंसिर १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्