थारुको ऐतिहासिक भूमि ‘तिरहुतिया गाछी’लाई मासेर डम्पिङ साइट बनाउँदैछ जनकपुरधाम उपमहानगरपालिका

जनकपुरधाम- थारुहरुको एतिहासिक धरोधर ‘तिरहुतिया गाछी’को इतिहास मेट्न  प्रदेश-२ को स्थानीय सरकार तथा सरोकारवालाहरु लागि परेका छन्।

कुनैबेला घना जङ्गलले घेरिएको साथै त्रेता युगको इतिहास बोकेको ‘तिरहुतिया गाछी’ मास्न स्थानीय सरकार तथा सरोकारवालाले संरक्षणको गर्नुको साटो डम्पिङ्ग साइट बनाउन लागि परेपछि हाल ‘डम्पिङ साइट’मा परिणत भएको हो।

प्रदेश-२ को अस्थाई राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको एतिहासिक ‘तिरहुतिया गाछी’लाई स्थानीय सरकारले नै डम्पिङ साइटमा परिणत गरेपछि सो क्षेत्र अब इतिहासमै सीमित हुन बाध्‍य भएको छ।

कुनै बेला तिरहुत राज्य भएका बेला ‘तिरहूत अर्थात थारु सेनाले विश्राम गर्ने थलोको रुपमा चिनिएको ऐतिहासिक तिरहुतिया गाछीलाई कहिले फोहोर फाल्ने स्थलको रुपमा उपमहानगर प्रयोग गरिरहेको छ भने कहिले छाडा चौपायालाई मृत्यु पश्चात यहाँ रातिको समयमा गाड्ने गरेको छ।

हजारौँ रुख रहेको यस ठाउँमा अहिले मुस्किलले ४-५ वटा मात्रै रुख रहेको छ। बाँकी सबै ‘फोहोरमैलाले भरिभराउ बनाइएको छ। त्यस्तै यसको प्रवेशद्वारकै छेउमा प्रदेश-२ सरकार अहिले शौचालय बनाइरहेको छ।

कुनै बेला विद्यापति चोक, कदम चोक, शुक्रबारी हाट, राम चोकसम्म करीब २० बिगाहा क्षेलफलमा ओगटिएको तिरहुतिया गाछी अहिले आएर पौने ४ बिघा क्षेत्रफलमा सीमित हुन पुगेको छ। हाल तिरहुतिया गाछीको जग्गामा नेपाल राष्ट्र बैँक, जिल्ला प्रहरी, जिल्ला अदालत, उच्च अदालत, महेन्द्र नारायण निधि सांस्कृतिक संग्रहाल, नेपाल पत्रकार महासंघ लगायतका कयौँ सरकारी तथा गैर सरकारी कार्यालयहरुको स्थापना गरिएको छ भने कयौँ बिघा जग्गा सरकारी तथा स्थानीयहरुद्वारा अतिक्रमण गरिएको छ।

तिरहुतिया गाछीको अस्तित्व जोगाउन प्रयास भए पनि स्थानीय सरकार तथा सरोकारवालाहरुको पक्षबाट सहयोगको ठाउँमा असहयोग नै भएपछि प्रयास असफल भएको हो। यो ऐतिहासिक स्थलको संरक्षण एवं सम्बद्र्धनका लागि उपमहानगर गम्भिर नभएपछि स्थानिय समाजसेवीहरुले तिरहुतिया गाछीको संरक्षण गर्न अभियान थालेका थिए।

तिरहुतिया गाछीको बाँकी जग्गामा २०४६ सालको आन्दोलनसम्म रूखहरु देखिन्थे तर विस्तारै कटान हुँदै अहिले रुखविहीन नै भएको छ। २०६७ सालतिर बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले यो क्षेत्र जोगाउन पर्खाल, प्रवेशद्वार निर्माण गरेको थियो । तर, प्रवेशद्वार खुला रहेका कारण फोहोर फाल्ने, गाईवस्तु चराउने थलो बनाएको स्थानीयवासीको भनाइ छ।

‘जसरी जानकी मन्दिर हामीहरुको धरोहर छ, त्यस्तै यो तिरहुतिया गाछी पनि हाम्रो धरोहर नै हो’समाजसेवी अमरचन्द्र अनिलले भने, ‘तर यसको संरक्षण हुन नसक्दा अहिले यसको अस्तित्व धरापमा परेको छ ।’ स्थानियहरु समेत यसको संरक्षणमा ध्यान नदिएपछि यसको अस्तित्व संकटमा रहेको उनले बताए।

आफूहरु यस क्षेत्रको संरक्षणमा जुट्दा आँप, बेल, अशोक, गोलमोहर, चन्दन लगायतको रुखहरु समेत रोपेको अमरचन्द्र अनिलले बताए। पार्कको अभाव रहेको जनकपुरधाममा यस तिरहुतिया गाछीलाई संरक्षण गरेर राम्रो आयआर्जन समेत गर्न सक्ने सम्भावना रहेको उनले बताए।

वि.सं. २०७३ मा पनि वन कार्यालयले संरक्षणका लागि ६ लाख र उपमहानगरले १० लाख रकम उपलब्ध गराएको थियो। जसबाट मर्निङ वाक गर्न ट्रैक तथा चौतारा निर्माण, सर्वसाधारणलाई बस्न थुप्रै सेड निर्माण र फोहोर सफाइको काम पनि भयो । तर केही राजनीतिक दल तथा व्यापारीहरुको अवरोधका कारण थप कामहरु अगाडी बढ्न नसकेको अनिल बताउँछन्।

यता वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंहले आफुहरु यसको मौलिकता नहराउने गरी मास्टर प्लान समेत ल्याएको तर नगरप्रमुखका असहयोगको कारण पुरा हुन नसकेको बताए । आफुहरुले रोपेको करिब अढाई सय रुख विरुवाहरु समेत नगरप्रमुखको कारण ध्वस्त भएको आरोप लगाए।

जनकपुरधामको परिवर्तनको लागि सबैको साकारात्मक सोँच रहेपनि नगरप्रमुख लालकिशोर साहको असहयोगको कारण त्यो सम्भव हुन नसकेको बताए । उनले भने, ‘म उपमहानगरको यस्तो पदाधिकारी छु, जसले आफै तीन वर्ष देखि नगरप्रमुखसँग सर्घष गरिरहेको छ।’

यो ऐतिहासिक स्थल रहेकोले यसलाई पर्यटकीय स्थलको रुपमा विकसित गर्नका लागि पटक पटक नगरको बोर्ड बैठकमा आवाज उठाएपनि कोही गम्भिर नभएको बताए । जनकपुरधाम उपमहानगरपालिकाको आफ्नो लैण्ड फिल्ड साइट नरहेका कारण यस्तो समस्याको श्रृजना भएको वडाध्यक्ष सिंहको भनाइ छ।

ल्याण्ड फिल्ड साइटका लागि जनकपुरधामको बसबिट्टीमा ग्लोबल अर्थ क्लिनिंङ्ग नामक गैर सरकारी संस्थाले २ बिघा जग्गा लिजमा लिएर उप-महानगरमा प्रपोजल समेत बुझाएको थियो। तर उपमहानगरका प्रमुुख नै त्यो प्रपोजललाई लिएर बेवास्ता गरेपछि आफूहरु अहिलेसम्म काम अगाडी बढाउन नसकेको ग्लोबल अर्थ क्लिनिंगका दीपु ठाकुरले बताए।

यता, थारु संस्कृतिविद भुलाई चौधरी भन्छन्, ‘थारुहरुको ऐतिहासिक तथा सांस्कृतिक धरोहरलाई मेट्नकै लागि स्थानीय सरकार तथा सरोकारवालाहरुले आनाकानी गर्दै यसलाई डमपिङ साइट बनाउने मनसाय गलत हो। यो थारुहरको पहिचान मेटाउने र उनीहरुको अस्तित्वलाई समाप्त पार्ने खेल हो। संविधानमा धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको संरक्षण गर्नु पर्नेमा इतिहास नै मेट्न खोज्नु थारुहरुको पहिचानमाथिको आक्रमण हो।’

यस्तै प्राध्‍यापक तथा थारु विद्वान महेश चौधरीका अनुसार तिरहूतिया गाछी थारुहरुको ऐतिहास मात्र नभइ पहिचानको प्रतिनिधित्व रहेको गरे। उनले तिरहूतहरुको राज्‍य पहिला गंगा नदीको उत्तरदेखि सुरु भएको र पछि बाराको सिम्रौनगढ हुँदै जनकपुर, सप्तरीसम्म फैलिएको ‘प्रचीन भारतको इतिहास’मा डा. विद्याधर मल्लिकले उल्लेख गरेको बताए।

साथै उनले रोमिला कापरद्वारा लिखित पेन्गुइन हिस्ट्री अफ इन्डियाको उदृत गर्दै भने, ‘तिरहूत राज्‍य  नदीको उत्तरदेखिको सम्पूर्ण मैदानी भू-भाग तिरहूत राज्‍य (अवहट/थरुहट) थियो। त्‍यतिबेला न नेपालको सीमा थियो। त्यतिबेला नेपालमा बाइसी चौबीसी राज्‍य थियो। कर्नाटक वंशीय राजाहरुले तिरहूत राज्य विस्तार गर्दै जाँदा मुस्लिम आक्रमण भयो र बाराको सिम्रौनगढमा राजधानी सारियो। त्यहाँ पनि मुस्लिमहरुले आक्रमण गर्न थालेपछि तिरहूतहरु जनकपुरसम्‍म आइपुगेको रमिला कापरले बकाइदाका साथ उल्लेख गरेका छन्।’

यस्तै तिरहूत वंशावली नै भएका तुलसी तिरहूत थारु भन्छन्,’ थारुको वंशावली हो तिरहूत। म आफै पनि तिरहूत वंशको हुँ र अहिले पनि जनकपुरदेखि सप्तरी, सिरहा र उदयपुरमा तिरहूतहरुको वंशहरुको वंश यथावतै छ। थारुको पुर्खाहरुको इतिहास मेट्‍ने अधिकारी मेरो विचारमा कुनै प्रदेश र स्थानीय सरकार या सरोकारवालालाई छैन। बरु जोगाऔ ऐतिहासिक धरोहरलाई। फोहोर नपारौँ।’