नेपालका कथित सोशलिष्टः पात्र, प्रवृत्ति र प्रणाली

यस पटकको अमेरिकी राष्ट्रपतीय चुनावमा ‘सोशलिष्ट’ शब्दको साह्रै दुरुपयोग हुन पुग्यो । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनाव प्रचारको सिलसिलामा दक्षिणी प्रदेश वा राज्यहरु खास गरी फ्लोरिडा र टेक्सासमा आफ्ना प्रतिद्विन्दी डेमोक्राटिक पार्टीका उम्मेदवार पूर्व उपराष्ट्रपति जो वाईडेन (अब आगामी राष्ट्रपति) लाई ‘सोशलिष्ट’ को उपनाम (लेवल) दिँदै आफू चुनावी सभाहरुलाई सम्बोधन गर्ने गर्थे । यद्यपि नवनिर्वाचित राष्ट्रपति जो वाईडेन सोशलिष्ट हुने कुनै आधार छैन, न त उनीले त्यस्तो दावी नै गरेका छन्, तरै पनि राष्ट्रपति ट्रम्पले आफ्ना प्रतिद्वन्दीलाई सोशलिष्ट उपनाम दिनुको पछाडि त्यो क्षेत्रमा बसोबास गर्ने आप्रवासी मतदाताहरु जो क्युबा, भेनेज्युला, कोलोम्बिया जस्तै कथित समाजवादी देशहरुबाट निर्वासित भएका थिए र तिनीहरु ‘सोशलिष्ट’ शब्दको मनोवैज्ञानिक ढंगले आतङ्कित हुन पुगे र आफ्नो मत जो वाईडेनलाई दिन चाहेनन् ।

फलस्वरुप फ्लोरिडा, टेक्सासका दक्षिणी जिल्ला (काउन्टी) हरुमा जहाँ क्युबा, भेनेज्यूला, जस्तै कथित समाजवादी देशहरु निस्कासित आप्रवासी लाखौँ मतदाताहरुलाई ‘सोसलिस्ट’ को डरलाई ब्युँझाउन राजनीतिक ढंगले गलत सूचना प्रवाह गर्ने परिपाटी नौलो नहोला । परन्तु अहिलेका राजनीतिमा तथ्याङ्क भन्दा मिथ्याङ्कको प्रकोप बढ्दै छ ।

अब नेपालमा पनि ‘सोसलिष्ट’ नाम सुन्ने नचाहने वा नसक्नेको वाहुल्य पनि बढ्दैछ । किनकी आम नेपालीहरुलाई लागेको थियो कि मुलुकमा कम्युनिष्ट/कथित सोशलिष्टहरुको शासन सत्ता आएपछि सामान्य नागरिकहरु भोक र रोगले मर्न पर्ने थिएन । उहिले सगरमाथाको देश भनेर चिनिने नेपाल अब रोगी, भोका, नाङ्गा, अशिक्षित र शिक्षित मजदुर उत्पादन गर्ने देश भनेर चिनिन थालिसकेको छ र त्यस्का निम्ति नेपालका रंगरंगका सोशलिष्टहरु, तिनको नियत र तिनीहरुले निर्माण गरेको संस्थागत् प्रणाली जिम्मेवार छ । किनकी ती यावत् पात्र, तिन्का प्रवृत्ति र प्रणाली सिर्फ, एकदम सिर्फ सत्तावालहरुको निम्ति सृजित छन् । फलस्वरुप नेपालमा प्रजातन्त्र संस्थागत हुनको सट्टामा हुकुमीतन्त्र, विधीको बदलमा व्यक्ति  र नीतिको नभएर नेताको तजवीजमा शासन सत्ता चलिरहेको छ, तर त्यो देखेर, बुझेर, जानेर पनि बौद्धिकहरु वोल्शेभिकहरु जो आजकल राजनीति बाहिर अराजनीतिक देखिनै तर राजनीतिकै छाता ओडेर आम नागरिकहरुको आधारभूत आवश्यकता भन्दा पनि शासनहरुको सत्ता र समृद्धिका वकालत गर्ने नयाँ जमात बढेको छ ।  वालुवाटारको वाछिटामा पालिएका नेपाली वोल्शेभिकहरुले यी जनताको यथार्थहरुलाई किन बिर्सेर कस्तो समाजवाद ल्याउँदैछन् ? त्यसलाई संरक्षण गर्ने अखबारको मालिकहरुपनि राजनीतिक पात्रका प्रमुख हिस्सामा परिणत हुन पुगे । त्यसैले नेपाल अब विधीको राज्य नभएर व्यक्तिको राज्यमा परिणत भइसकेको छ ।

त्यसो त देश भित्र के के भैराखेको त्यसको तथ्याङ्क सामान्य नागरिकहरुले सजिलै सँग पाउने सम्भावना ज्यादै न्यून छ किनकी एक त सरकारी संस्थाहरुमा तथ्याङ्क आवधिक गर्दै जनतालाई सुसूचित गर्ने जिम्मेवारी भनौँ उत्तरदायी अत्यन्तै कम छ । उदाहरणको निम्ति चैत्रयता कति व्यक्तिको रोजगार गुम्यो ? विगत ७/८ महिनामा अनौपचारिक क्षेत्रका लाखौँ जनताले कसरी गुजारा चलाइरहेका छन् ? एक जना कामरेडले त्यस्तो खोजनीति गरेको सार्वजनिक भएन । अब ४ महिनादेखि सुतेको संसदको कुरै नगरौँ । भर्खरै प्रकाशित २०२० को “विश्वव्यापी भोकमरी सूचाङ्क”मा नेपाल १०७ देशहरु मध्यै ७३ स्थानमा पुगेको छ । टुँडिखेलका एक छाक टार्न बाध्य नेपालीको करुणमयी दृश्य एउटा वास्तविक प्रतिविम्व हो र अहिले त्यो पनि भिनाजु कामरेडको अर्डरले साला कामरेडले रोक्ने उर्दी जारी गरे । अब नेपालका कथित सोशलिष्ट एवं वोल्शेभिक वुद्धिजीवीहरु ‘समाजवाद’को खेती गर्न छोडेका छैनन् र भोका नाङ्गालाई लखेटेर टुँडिखेलमा पुष्पवृष्टि गर्ने पात्र र प्रवृति नौलो हो र?

फेरि चैतयता आएर नेपालमा बेरोजगारीहरुको संख्या कति पुग्यो  ? देशका विद्यमान वोल्शेभिक बुद्धिजीवी र तिनको संरक्षकहरु सम्पादकले कसलाई कति प्रश्न गरे? अनि नेपाल सरकारको जुठो मुठो खाँदै लेख्दछन् कि देशमा विप्रेषण बढ्यो ? लाज पनि लाग्दैन, किन लागोस् जब लाज लाग्न बाँकी नै के छ ? सारा संसार अहिले एउटा भाइरसले पीडित छ, सारा अर्थतन्त्र देश समाज, व्यक्ति, परिवार, एवं राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संरचनाको क्षत विक्षतको अवस्था बाट गुज्रिरहेको छ । अनि कसरी नेपालमा विप्रेषण बढेको छ त्यस्को कारण खोज्ने एक जना पनि छैन। होस् पनि कसरी जबकि मुलुकका कथित शोसलिष्टहरुको क्यारेवियन टापुहरु जस्तै केम्यानदेखि भर्जिन आइल्याण्डमा खोलिएका बैंकका खाताहरु यस्तै मौकामा प्रयोग हुन्छ, जसले गर्दा कालो धन सेतोमा सजिलै सँग परिणत गर्न मौका मिल्दछ ।

कामरेडहरुले सत्ताको चावी हातमा पाएपछि सत्तासीन कामरेडहरुले जनताको जिउ रक्षा गर्नुको सट्टामा आफैँ खाता बढाउने गर्न पछि परेनन् । फलस्वरुप आम नागरिकहरुले ज्यान जाने बेलामा पनि भेन्टीलेटरको निम्ति पनि सत्तासीन सोशलिष्टहरुको गोडा ढोग्न बाध्य हुनुपर्‍यो। यही पृष्ठभूमिमा जब २०२१ मा कोभिड १९ को सुई उपलब्ध हुनेछ, तब सत्तासीन सोशलिष्ट हरुको रवैया अरु हेर्न लायक हुन्छ किनभने यी कथित सोशलिष्टरुले सबैभन्दा पहिले त्यो सुई तिनीहरु स्वंय र तिनका सातपुस्तेले पाउनुपर्‍यो, त्यसपछि पिर्के सलामी खाने छोटे कमरेडहरु र अनि तपसीलका ठूलाठालुहरुको पालो आउने नै छ । तर यहाँनिर सबैभन्दा खड्केको पक्ष भनेको कोभिड १९ को विषाणूको सुई राख्ने अत्यन्त चिसो भण्डार (माइनस ७०) को निर्माणार्थ कति अर्ब स्वाहा हुने हो त्यो आफ्नो ठाउँमा छ । फेरि देशका सबै ठाउँका नागरिकहरुले सही सलामतको औषधी सुई पाउने सम्भावता त धेरै टाढाको कुरा हुने निश्चित छ । हो, काठमाडौँका लगभग २–४ वटा हुनेखाने ठाउँ, अथवा शहरिया सभ्रान्तहरुले राम्रै अवस्थाका सुई पाउने छन् भने बाँकी जनताले राम्रो नराम्रो केही औषधी पाए भने ठुलै भाग्यमानी ठान्नु पर्ने हुन्छ । सोशलिष्टहरुले सत्ता लिएपछि वर्गीय खाडल नबढ्ने त कुरै भएन तर खबरदार गर्ने हैसियत न त विपक्षीको रह्यो न त कथित चौथो अंगको नै ?

त्यसो त प्रमुख विपक्षी दल स्वयं पनि आफूलाई सोशलिष्ट नै ठान्छन् तर कस्ता वर्णका हुन त्यो चाहि संविधानमा स्पष्ट छैन, अर्थात नेपाली काँग्रेसले पनि स्वीकारेको समाजवाद उन्मुख संविधानको प्रारुप राज्य बोलेभियादेखि भेनेजुएला, वा क्युवा देखि उत्तर कोरियामा फरक नदेख्ने भिडले अहिले जे देखिराखेका छन्, अनि चुपचाप सहिराखेका छन्, मानौ जनतामा अहिले कुनै कष्ट नै छैन । वास्तवमा भन्नुपर्दा नेपाली काँग्रेस अहिले प्रतिपक्षी दल हो या प्रधानमन्त्री के.पी. अ‍ोलीसँग अंश खोज्ने झड्किलो भाइ दल हो (?) त्यसको कुनै अन्तर देखिएन । काँग्रेसका वर्तमान सभापति ले काँग्रेसलाई विपक्षी दलको हैसियतमा नै राख्न चाहेनन् । विगत तीन  वर्षमा सत्तासीन सोशलिष्टहरुले जे जति कुकर्महरु गरे त्यसका सामान्य लेखाजोखा वा चिरफार गर्न या त दिएनन् या त त्यसैलाई आधार बनाएर एउटा हड्डी माग्दै सारा प्रजातान्त्रिक मूल्य र मान्यतालाई तिजाञ्जली दिन पुगे । अनि नेकाकै विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, बालकृष्ण खाँणले त्यसैबीच देउवासँग अंश खोज्ने कि संस्थालाई नयाँ दिशातिर लैजाने? जब सत्तावालहरुले संसदलाई नै सुताएर देशमा अराजकता, विधिहीनतादेखि व्यक्तिवाद, व्यभिचार, आर्थिक अनुशासनहीनता, भ्रष्टाचार, कानुनी लाचारीका बारेमा बोल्ने भन्दा पनि विपक्षी दलका नेताहरु कान थुनेर र आँखा चिम्लेर अंश खोज्न थाले पछि कस्तो पात्र, प्रवृत्ति र प्रणालीको खोजीमा छन् नेपालका बुज्रुक समाजवादीहरु ?

वास्तवमा अहिले नेपालका कम्युनिष्टहरु मार्क्स, माओ, लेनिन, स्टालिनको दन्त्य कथा हाल्दै आम नेपालीको जीवनमाथि खेलवाड गर्दैछन् । ती महोदयहरुले जानेको बुझेको भनेको आजभन्दा २५० वर्ष अगाडि पहिलो औद्योगिक क्रान्तिको मार्क्सवादी/लेनिनवादी/माओवादी भाषा र भाव हो । तर नेपाली कम्युनिष्टहरुले बुझेर पनि केही गर्न नसकेका तिनैबाट सिर्जित नयाँ वर्ग “विचौलिया” हुन् र तिनको विनाशको निम्ति पूँजीवादलाई सराप्ने खेती बाहेक अर्को धन्दा छैन । जबकि अहिले संसार चौथो औद्योगिक क्रान्ति – ‘ब्लकचेन’ मार्फत अगाडि बढ्दै छ । फेरि हरेक महिना पटकपटक चीनमा पुग्दै वरिष्ठ कामरेडहरुको खुट्टा छुने नेपाली कामरेडहरुले चीनका किसानहरुले कसरी ब्लकचेनको प्रयोग मार्फत विचौलियाहरुको अन्त्य गरेको त्यो बुझ्न कोशिश गरुन्, न कि ब्रह्मा विष्णु र महेश्वरलाई धिक्कारेर । सही सूचना, तथ्याङ्क, विज्ञान र प्रविधि बिनाको मुलुकले कदापि छलांग मार्दैन ।

भारतमा एउटा दश वर्षको बच्चा कोडिङमा पारंगत हुनथाले भने नेपालमा गणितलाई पन्छाएर २१ औँ शताब्दीको ‘झोले जनशक्ति’ तयार पार्ने जनवादी शिक्षाले कस्तो औद्योगिक क्रान्ति हुन्छ कामरेड? यद्यपि राजनीतिक वितरण र उपादनमा बाँचेका यी प्राणीहरु जनताका होइन कि आफ्नै भलोभन्दा बाहिर केही गर्न सक्दैनन्। यो आरोप नभएर विगतमा देखिएका यथार्थहरुले प्रमाणित गरेको आयाम हो ।

नेपालमा बलात्कार हुन्छ, पूँजीवादलाई दोष, भ्रष्टाचार हुन्छ पूँजीवादलाई दोष, राज्य दोहन हुन्छ पूँजीवादलाई दोष, जनताको स्वास्थ्य उपचार गर्न सक्दैनन्, पूँजीवादलाई दोष, खाद्यान्न अभाव एवं एक छाकको अभावमा परिवार सहित आत्महत्या हुन्छ, पुँजीवादीलाई दोष ।

अन्त्यमा, नेपालका कथित सोशलिष्ट सभ्रान्तहरु जो राज्य सत्ता आडमा बाँचेका छन् तिनीहरुले अझै पनि नेपालको मुलभूत समस्या “वाद” मा देख्दैछन् जब कि तिनीहरुले कै अधीनमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सक्रिय छ । ती असक्षम पात्रहरु, तिनको व्यक्तिवादी प्रवृत्ति र कुहिँदै गएको प्रणालीले आम नागरिकहरु के कति नारकीय जीवन बिताईरहेका छन् त्यसको सामान्य हेक्का समेत छैन । अब नेपालमा बलात्कार हुन्छ, पूँजीवादलाई दोष, भ्रष्टाचार हुन्छ पूँजीवादलाई दोष, राज्य दोहन हुन्छ पूँजीवादलाई दोष, जनताको स्वास्थ्य उपचार गर्न सक्दैनन्, पूँजीवादलाई दोष, खाद्यान्न अभाव एवं एक छाकको अभावमा परिवार सहित आत्महत्या हुन्छ, पुँजीवादीलाई दोष । आखिर यी कम्युनिष्ट/कथित सोशलिष्टहरुले गरेका छ्न के (?) सिर्फ राज्य लुट्ने अर्थात लुटतन्त्र लाई संस्थागत गर्ने बाहेक ? यदि पूँजीवादी मुलुकमा बलात्कार भयो भने त्यो बलात्कार गर्ने व्यक्ति/समूहले सडकमा छाती फुलाएर हिँड्न सक्दैेनन् । पूँजीवादी मुलुकमा जनताको स्वास्थ्य उपचारमा पैला पैसा डिपोजिट गर्दै पैसा र पद अनुसार व्यक्तिहरुको उपचार हुँदैन । पूँजीवादी मुलुकमा भ्रष्टाचारीहरुलाई राष्ट्र वा राज्यले सम्माद दिँदैन बरु पाई पाई उतारेर लिन्छ अनि विगो अनुसार जेल पठाइदिन्छ । पूँजीवादी मुलुकमा शासन सत्तावानहरुले राज्यको ढुकुटी लुट्न सक्दैनन् ।

संसारको कुनै पनि पुँजीवादी मुलुकमा एक पटक मन्त्री हुने बित्तिकै आजन्म अंगरक्षक राख्दैनन् किनभने त्यहाँ मन्त्री, सांसद, कर्मचारी, व्यवसायी वा सामान्य नागरिक सबैको सुरक्षामा राज्यको दायित्व हुन्छ । कुनै पनि पूँजीवादी मुलुकमा राज्य लुट्नको निमित राजनीति गर्दैनन् । एक पटक जब डा. बाबुराम भट्टराई प्रधानमन्त्रीमा बहालै थिए, तिनी संयुक्त राष्ट्र संघमा संबोधन गर्ने क्रममा अमेरिका पुगेपछि डा. भट्टराईले आफ्नो विद्यालयको अंग्रेजी शिक्षिका (गुरुआमा) लाई भेट्न जाँदाको एउटा घटना यस्तो रह्यो । पंक्तिकारको पनि तिनै गुरु आमा हुन् र डा. भट्टराई आउने भएपछि गुरुआमाको सहयोगको निम्ति म र मेरा श्रीमती उहाँको घरमा पुग्यौँ । बेलुकाको समय भइसकेको थियो, डा. भट्टराई को टोलीलाई सामान्य चिया र खाजाले स्वागत सत्कार भइरहँदा, म र मेरी श्रीमतीले प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका अमेरिकी सुरक्षा अफिसरलाई चिया/कफी को निम्ति सामान्य आग्रह गर्दा ती अधिकारीले भने – “मलाई चिया/कफी खान सरकारले तलब दिन्छ, त्यो नै काफी छ । सोध्नु भएकोमा धन्यवाद।’

राज्यको सम्पतिमा दोहन नगर्ने, या किन्ने वा बेच्ने क्रममा नलुट्ने, र जनता नठग्ने कर्तव्य परायणता भित्रबाट आउने हो, त्यो नेपालका कथित सोशलिष्टहरु र बर्तमानको राजनीतिक पात्र, प्रवृत्ति र प्रणालीमा छैन । नेपालका कथित सोशलिष्टहरुको मिथ्यापूर्ण रवैया पनि नितान्त नौलो प्रवृत्ति होइन । तिनको संरक्षण गर्ने चौथो अंगहरुको नेपाल प्रतिको जिम्मेवारी फोस्रो मात्रै देखिन्छ ।

मंसिर ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्