कोरोनाकालमा उद्यम

भट्टीमा माटोका भाडा सेकेर तात्तातो तन्दुरी चिया

भट्टीमा माटाका भाडा सेक्दै थिए, प्रवीन दाहाल ।

अक्सर भट्टीमा रोटी सेकेको देखिन्छ। तर उनले भाडा सेकिरहेका रहेछन्।

‘किन रोटी सेक्ने ठाउँमा माटाका भाडा सेक्दै हुनुहुन्छ ?’ यो मेरो जिज्ञासा !

उनले मेरो जिज्ञासा मेटाउँदै भने, ‘चियाका लागि सेक्दै हो। यसरी भट्टीमा सेकेको माटाका भाडामा ‘रअ’ चियालाई खन्याएपछि त्यो चियालाई पुनः माटाका भाडामा राखेर ग्राहकलाई पस्किन्छौँ ।’

यसरी भाडा सेक्न थालेको धेरै भएको छैन। एक वर्ष अगाडितिर मात्रै नयाँ बजारस्थित उनले सुरु गरे ‘तन्दुरी टी’ । प्रवीन यसका सञ्चालक हुन् ।

‘भट्टीलाई ‘तन्दुर भनिन्छ’, उनले भने। भट्टीमा चियाका भाडा सेकिने भएकाले ‘तन्दुरी टी’ भनेर व्यवसायको नामाकरण गरिएको उनी बताउँछन् ।

‘तन्दुर’ एशिया तथा मध्य एशियाका केही भागबाट उत्पत्ति भएको हो। अफ्गान तन्दुर, पञ्जाबी तन्दुर, अरमेनियन तोनिर, अजरबैजनी तनबिर, टर्कमिन तमडायर गरी पाँच प्रकारका छन्। तन्दुरलाई ठाउँ अनुसार र आफू अनुकूल बनाइएको हुन्छ। तन्दुरमा कोइला राखेर आगो बालिन्छ र त्यसमा नै खानेकुरा पकाइन्छ। सोही अनुसार त्यसको नामाकरण पनि गरिन्छ।

उनले नामाकरण गरेको नौ महिना भयो। नौ महिनाको अवधिमा उनको व्यवसाय करिब एक महिना मुस्किलले चलेको छ ।

सुरु गरेको महिना दिनमा नै कोरोना भाइरसको प्रकोप आयो । सरकारले महामारी नियन्त्रण तथा रोकथामका लागि चैत ११ गते देखि लकडाउन गर्‍यो। उक्त लकडाउन सरकारले पूर्ण रुपमा झण्डै छ महिनापछि मात्र खुल्यो। तर उनको ‘तन्दुरी टी’ खुलेन ।

‘लकडाउन खुल्ने वित्तिकै व्यवसाय सुचारु गर्न सजिलो थिएन’ उनले भने, ‘लामो समयसम्म बन्द थियो। सञ्चालन गर्न समय त लाग्छ नि ।’

निकै आशावादी भएर उनले व्यवसाय सुरु गरेका थिए। तर कोरोना महामारीले आशालाई निराशामा बदल्न धेरै समय लगाएन ।

अहिले उनले ‘तन्दुरी टी’ फेरि सूचारु गरेको १५ दिन जति भयो ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट विश्व आक्रान्त बनिरहेको थियो। कोरोना त्यो बेलासम्म नेपालमा देखा परेको थिएन । विस्तारै नेपालमा पनि कोरोना भाइरसले महामारीकै रुप लिन थाल्यो जसका कारण सरकारले लकडाउनको घोषण गर्नुपर्‍यो ।

‘त्यो बेलामा भाइरस नेपालमा आउला भन्ने हामीले सोचका थिएनौँ’, उनले भने, ‘तर केही समयमा नै सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन गर्‍यो । भर्खर सुरु गरेको व्यवसाय बन्द गर्नुपर्‍यो ।’

लकडाउनले उनको व्यवसायलाई ‘डाउन’ नपारेको होइन। अरु जस्तै उनलाई पनि व्यवसाय चौपट हुने डर थियो। डर हुनु स्वभाविक नै थियो। तर विश्वमा नै यस्तै हालत भएकाले चित्त बुझाए । उनले सरकारको नियमको पालना गरे । सरकारले खोल्ने भनेपछि खोले, अहिले उनको व्यवसाय राम्रै भइरहेको उनी बताउँछन् ।

करिब ८/१० लाखको लगानीबाट सुरु गरेको व्यवसायबाट ५० प्रतिशत आफूलाई नाफा हुने उनी बताउँछन् । ‘चिया दैनिक उपभोग्य वस्तु हो ।अवश्य पनि यसमा प्रतिफल छ । विविध खर्च कटाएर ५० प्रतिशत फाइदा हुन्छ’, उनले भने । चियाका लागि आवश्यक पर्ने मसला नेपाल तथा अन्य देशबाट मगाए पनि माटाका भाडा भने उनले भक्तपुरबाट ल्याउने गरेका छन्।

कोरोना महामारीले सोचे जति नाफा भने हुन सकेको छैन। ‘अधिकांश चिया उपभोग गर्ने विद्यार्थीहरु हुन् । सबै विद्यालय अनि कलेज बन्द नै छन् । पहिलेको तुलनामा चहलपहल पनि घटेको छ’, उनले भने, ‘चहलपहलसँगै मानिसहरुको खर्च गर्ने क्षमता पनि घटेको छ । यी कारणले स्टाफलाई स्यालरी, मनिसको खर्च गर्ने क्षमता पनि घटेको छ । ४ जना स्टाफ छन्। उनीहरुको तलब तथा स्पेशको कुरालाई धान्ने मात्र अवस्था छ । तर बाच्न सक्नेसम्म एउटा आधार भने छ ।’

सञ्चालन गरेको थोरै समय भए पनि चियाका पारखीहरु भने आउने गरेको उनी बताउँछन्। अन्य चियाभन्दा फरक भएकाले चियाका पारखीहरु आउने गरेको उनी बताउँछन् ।

फरक कसरी?

भट्टीमा कोइला लाखेर ओभनमा माटोको भाडोलाई अधिक तातो बनाएपछि त्यसमा ‘रअ–टी’ खन्याइन्छ। तातो भाडामा खनाएपछि ‘झ्वाइँ’ आवाज निकालेर मगमगी बास्नासहित बाहिर आउने ‘एसेन्स’ सहितको चियालाई ‘तन्दुरी टी’ भनिन्छ’, उनले भने, ‘चियामा हामीले स्पाइसी ८/९ मसलाहरुको प्रयोग गछौँ। यो प्रयोगको छुट्टै ‘प्याटर्न’ छ। त्यो अन्य चियाको तुलनामा निकै फरक छ। यसमा चिनीको बिलकुलै प्रयोग गरेका छैनौँ। गुलियोका लागि सख्खर या कन्डेन्स मिल्क प्रयोग गछौँ। यसको मसलाहरुले गर्दा स्वाद, सुगन्ध फरक पाउँछौ।’

यसरी पकाएको चिया उनले प्रतिकप ५० रुपैयाँ लिने गरेको छन्। चियाँसँगै अन्य ‘आइटम’ हरु पनि ‘तन्दुरी टी’ मा खान पाइन्छन्।

कसरी सुरु भयो ‘तन्दुरी टी’ ?

सन् २०११ तिर भारतको पुने तथा कोलकाता घुम्ने क्रममा त्यहाँ भट्टीमा चिया बनाएको उनले देखे। त्यो कुरा उनलाई निकै रोचक तथा फरक लाग्यो। ‘त्यो बेला नै मैले सोच बनाएँ नेपालमा पनि यसरी नै चियाको ट्रेन्ड बनाउँछु’, उनले भने, ‘त्यपछि मैले यस सम्बन्धी अध्ययन गरे। त्यसपछि व्यवसायिक रुपमा अगाडि बढाउने सोचले गत फागुनमा सुरु गरे।’

छोटो समयमा नै धेरै ग्राहकहरुले तन्दुरी चियालाई मन पराएको उनको भनाइ छ। जुन हिसाबले ग्राहकले मन पराएका छन्, त्यो हिसाबले हर्ने हो भने छिट्टै तन्दुरी चियाको ट्रेडमार्क स्थापित हुनेमा ‍उनी निकै आशावादी भएको बताउँछन्।

 

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्