अ प्रोमिस्ड ल्याण्ड

बाराक ओबामाको पुस्तक पहिलो दिनमै झण्डै ९ लाख प्रति बिक्री

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक बजारमा आएको पहिलो दिनमै झण्डै नौ लाख प्रति बिक्री भएको छ ।

उनको राष्ट्रपति कालको संस्मरात्मक पुस्तक (पहिलो भाग) ‘अ प्रोमिस्ड ल्याण्ड’ बजारमा आएको २४ घण्टामा ८ लाख ९० हजार प्रति बिक्री भएको प्रकाशक पेनगुइन र्‍याण्डम हाउसले जनाएको छ ।

ओबामाको पुस्तक अमेरिकाको आधुनिक इतिहासमा राष्ट्रपतिबाट लिखित संस्मरण पुस्तकमध्ये सर्वाधिक बिक्री हुने पुस्तक बन्ने मार्गमा रहेको छ ।

अग्रिम अडर गरिएका, इ–बुक र अडिओ गरी २४ घण्टा भित्रै अमेरिका र क्यानडामा ८ लाख ९० हजार प्रति बिक्री भएको पेनगुइनका प्रकाशक डेविड ड्राकेले बताएका छन् ।

यसअघि सन् २०१८ मा ओबामा पत्नी पूर्व प्रथम महिला मिशेल ओबामाको संस्मरणात्मक पुस्तक ‘बिकमिङ’ पहिलो दिनमै सात लाख २५ हजार प्रति बिक्री भएको थियो । अहिलेसम्म सो पुस्तक विश्वभर एक करोड प्रति बिक्री भएको छ ।

ओबामाको पुस्तक ‘अ प्रोमिस्ड ल्याण्ड’ अहिले अमेजन डट कममा पहिलो नम्बरमा छ । यस्तै बार्नेस एण्ड नोबेल डट कममा पनि सो पुस्तक पहिलो नम्बरमा रहेका छ ।

यसअघि पूर्व राष्ट्रपति बिल क्लिन्टनको ‘माइ लाइफ’ पहिलो दिनमा झण्डै चार लाख प्रति बिक्री भएको थियो । यस्तै जर्ज डब्लु बसुको ‘डिसिजन प्वइन्ट’ पहिलो दिनमा दुई लाख २० हजार प्रति बिक्री भएको थियो ।

राष्ट्रपति चुनाव (नोभेम्बर ३) को मात्रै दुई हप्तापछि ओबामाको ७६८ पृष्ठको पुस्तक प्रकाशित भएको हो । यो पुस्तकमा उनले आफ्नो पहिलो कार्यकालमा ह्वाइट हाउसको बसाइका कुरा समेटेका छन् ।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्