जयस्थिति मल्लका कानुनी सुधार- अभिवादन त्यो चेतलाई

पृष्ठभूमि

जयस्थिति मल्लको राज्यमा विक्रम संवत १४३६ मा भक्तपुरका मन्त्री जयत वर्माको यो पुस्तक श्री किर्तिपुण्यमहाविहारमा बस्ने शाक्यभिक्षु श्री लुन्तभद्र वज्राचार्यले सारी सिध्याए भनी न्यायविकासिनीको अन्ततिर उल्लेख छ।

सन् १३८० मा पृथ्वीमा कति देश थिए? ती देशमा कानुन कसले कसरी बनाउथे? कतिले यति विस्तृत कानुन बनाएका थिए त्यो छुट्टै अध्ययनको बिषय हुन सक्छ?

त्यो बेला अमेरिका स्वतन्त्र  भएको थिएन। बेलायतमा म्याग्नाकार्टा आएपनि बिल अफ राइट र पेटिसन अफ राइटको मसौदा भएको थिएन। त्यो बेलाका बिदेशी कानुनसँग तुलनात्मक अध्ययन गरे स्थिति प्रष्ट हुनेछ।

जयस्थिति मल्लका थिति यूरोपमा लाखौँ प्रकृतिपूजक पेगन (८० प्रतिशत जति महिला)लाई धर्म परिवर्तन गर्न नमानेकोले सिमान्त क्रुरतापूर्वक मार्नु (१४८४-१७५०) पूर्वका हुन्। ग्यालिलियोलाई (१५६४-१६४२) सजाय गर्नु पूर्वका हुन्। करिब दुई करोड अफ्रिकी मूलका मानिसलाई कब्जागरी बाँधेर अमेरिका ल्याइएको होलोकाष्ट (१५१७-१८४०) पूर्वका हुन्। काला जातिका मानिसलाई एउटा मानिसको पाँच भागको तीन भाग मान्ने गरी अमेरिकी कांग्रेसले कानून पारित गर्नु पूर्वका हुन्। भारतको दार्जलिङमा भारतीय र कुकुरलाई प्रवेश निषेध भनी बोर्ड झुन्डाउनु भन्दा अगाडिका हुन्। बेलायतमा महिलालाई अस्तित्वयुक्त मानी अधिकार दिन शुरु गर्नुभन्दा अगाडिका हुन्। गोवामा  जेभियर्स भन्ने पादरीले इन्क़ुइजिसन मार्फत हजारौ मानिस विरुद्ध अत्याचार गराउने वातावरण तयार गर्नुभन्दा पहिलाका हुन्। सिङ्गो यूरोप र अमेरिकामा महिलाले मताधिकार पाउनु अघिका हुन्। बेलायतीले “क्रिमिनल ट्राइबल्स एक्ट अफ इण्डिया १८७१” पारित गरी खास जातिका मानिस जन्मजात अपराधी हुने कानून बनाउनु पूर्वका हुन्। अमेरिकाले “द एसियाटिक बार्ड जोन एक्ट १९१७” पारित गरी जापानी र फिलिपिनो बाहेकका एसियाली नागरिकलाई मूर्ख, पेशेवर भिखारी, भाडाका मजदूर एबम पागलपन भएका व्यक्ति मान्नु पूर्वका हुन्। कैयौं अमेरिकी स्कूलमा चार्ल्स डार्विनको सिद्धान्त पढ्न पढाउन प्रतिबन्ध लगाउनुभन्दा पुराना हुन्। स्लेभरी(दास र स्लेभ फरक हुन्) र सेग्रेगेसनबाट (रङ्गका आधारमा गरिने पृथकीकरण) ग्रस्त अमेरिकामा त्यहाँको सर्वोच्च अदालतले अमेरिकी संविधान रङ्गका आधारमा अन्धो भएको घोषणा (सन् १९६९) गर्नुभन्दा त धेरै अगाडिका हुन्।

आज आएर ६४० वर्ष अगाडी भक्तपुरमा बनेको कानूनमा सबै कुरा आजको मानदण्डमा खोजी जयस्थिति मल्लको प्रायोजित र अनुचित अपमान गर्नु यो लेखको आसय होइन। बरु त्यो बेला केही उन्नत र आजको सन्दर्भ सुहाउदा न्यायिक र कानूनी मान्यतातर्फ दृष्टि पुर्याउनु, सतहमा ल्याउनु र त्यसकालागि उनी र त्यसमा संलग्न सबैलाई हार्दिक र उचित सम्मान दिनु यो लेखको आसय हो।

केही उद्दरण

श्री ५ बडामहाराज पृथ्वीनारायण शाहले “राजा जयथिति मल्ले (मल्लले) बांध्याको थिति पनि हेरिसकें” भनी दिव्य उपदेशमा उल्लेख गरेको देखिन्छ। (प्रा. दिनेशराज पन्त दिव्य उपदेश २०७२ पृ.३०)

नेपालमा थिति बाँध्ने राजाहरुमा लिच्छवी कालका मानदेव र पछि जयस्थिति मल्ल, रामशाह र महेन्द्र मल्लको नाम अगाडी आउछ। यी राजा दुनियाका सामाजिक रितिथिति, व्यवहार, चालचलन सुधार्ने र मुद्दा मामिला विधिपूर्वक सुल्झ्याउने उद्देश्यले थिति बाँध्न अघि सरेका थिए। जयस्थिति मल्ल बाहिरबाट डोला भित्र्याई जुवांई राजाका नाताले गद्धिका हकदार बनेका थिए। आफ्ना सुझबुझले राजनीतिक र सामाजिक परिवर्तन ल्याउन सक्षम भएका थिए। उनको जन्मभूमि सम्भवत: सिम्रौनगढ़ राज्य अन्तर्गत थियो। त्यसबेला अरु सरणार्थी पनि भक्तपुर आएका थिए। राजा र सरणार्थीलाई यहाँको रीतिथिति अमिल्दो र अनौठो लागेको तथा विद्वानहरुले त्यसमा सुधार गर्ने आग्रह गरेकाले व्यवहारमा सुधार गर्न आवश्यकता महसुस भयो। उनले मन्त्री जयत मुल्मीलाई सो कार्यका लागि प्रेरित गरे। मन्त्रीले सबैतिरका विद्वान ब्राम्हणको सहायताले थिति विधान तयार पारे। स्थानीय सामाजिक चालचलन रितिथिति सुधार्न र दण्डविधानको एकरुपता कायम गर्न न्याय विकासिनी ग्रन्थ तयार पारे। यी थिति समयानुकूल र दुनियाबाट अपेक्षित थिए। (ज्ञानमणि नेपाल,नेपाल निरुपण,२०५५ पृ.१८४-१८५ )

न्यायविकासिनी तयार हुँदा शासनाधिकार थितिराज मल्लमा भएपनि गद्धीमा भने अर्जुनदेव थिए। आफूले न्याय क्षेत्रमा सुधार गर्न लागेकाले त्यसकोलागि जयत मार्फत मणिकलाई प्रेरणा दिएर थितिराज मल्लले न्यायविकासिनी तयार गर्न लगाएको देखिन्छ। (दिनेशराज पन्त न्यायविकासिनी, वक्तव्य, कानून व्यवसायी क्लब २०६५)

जयस्थिति मल्लको शासन कालमा कीर्तिनाथ उपाध्यायको अध्यक्षतामा रघुनाथ झा, श्रीनाथ भट्ट र रामनाथ झाको कानून आयोग नै बनाइएको थियो। यिनका सुझाउ र सहयोगमा राजा जयस्थिति मल्लले कानूनी क्षेत्रकालागि धेरै काम गरे। न्यायविकासिनी नारदस्मृतिको अनुवाद नभई त्यसको आधारमा बनेको हो। न्यायविकासिनी राजाद्वारा जनताकालागि राजकीय शक्ति अन्तरनिहित न्याय व्यवस्था संचालन गर्ने लिखित अभिलेख हो। हामीलाई लाग्छ न्यायविकासिनी विश्वकै पहिलो विस्तृत लिखित कानून हो। हाम्रो यो दावी गलत भयो भनेपनि हाम्रालागि यो खुसीको कुरा हुनेछ। न्यायविकासिनी कानूनी आँखामा विशिष्ट छ। यो विशिष्टता हामीले मात्र होइन विश्वलाई नै महसुस गराइनुपर्दछ। (प्रकाश वस्ती, न्यायविकासिनी, कानून व्यवसायी क्लब,२०६५ )

नेपालमा श्री ५ सुरेन्द्रभन्दा पहिले सबभन्दा धेरै थितिवंदेज र कानून निर्माण गर्ने राजा जनक र  जयस्थिति मल्ल देख्नमा आउँछन्। जयस्थिति मल्लले मुख्य चारवटा कानून बनाएका थिए ती हुन्: गृह निर्णय, क्षेत्र निर्णय, जात निर्णय, र मानवन्यायशास्त्र ।  गृह निर्णयको थिति  नगर योजनाको कानूनी व्यवस्था थियो। यो थितिअनुसार चार वर्णका मानिसलाई वास्तु प्रकरण वा शिल्प वास्तु प्रकरणअनुसार अष्ट वर्गका विचारले घर बनाउन भनी जात जातका टोल गरी शहर बनाउन लगाए भनिएको छ। क्षेत्र निर्माणको थितिमा खेतको गुण र महत्वका आधारमा अब्बल, दोयम, सिम, चाहारको वर्गीकरण र जग्गा नापजाँचको व्यवस्था गरियो। यस्तै समाज वर्णसंकर वन्दै गएकोले त्यसलाई रोक्न जाति निर्णय नामक थिति बाँधेको र जातअनुसार कामको विभाजन गरिएको भनिएकोछ। ( रेवतीरमण खनाल, ऐजन पृ४१,.४२)

न्यायविकासिनी ६४० बर्ष पुरानो मानवन्यायशास्त्र (मानवनिर्मित कानून) हो। त्यो बेला आजका समाजशास्त्र, मानवशास्त्र, अपराधशास्त्र जस्ता पृथक विधा थिएनन्।  मार्क्स, लिंकन, माल्थस, मंटेस्क्यु, डाईसी- ती कोही कसैका सिद्दान्त पढेर यो कानून तैयार गरिएको थिएन। यस्तै त्यो बेला आजका जस्ता उत्तर आधुनिकतावाद, सेवर्लटन, उदारवाद आदि जस्ता अभियान चले चलाएको थाहा छैन।

न्याय विकासिनीका मुख्य व्यवस्था

न्यायविकासिनीमा ऋण वा लेनदेन सम्बन्धी व्यवस्थामा परिवारको लागि लिएको ऋण घरमूलीले तिर्नुपर्ने, सगोलमा हुदा लिएको ऋण ऋणी मरेपछि परिबारका अरु सदस्यले तिर्नुपर्ने, पति र छोराले लिएको ऋण आफू साक्षी बसेकोमा बाहेक पत्नीले तिर्नु नपर्ने, जसले अपुताली खान्छ उसले ऋण तिर्नुपर्ने जस्ता व्यवस्था छन्। सम्पतिमा प्रमाण र साक्षी भएपनि भोग नभए स्थीर नहुने, भोगले स्वामित्व सिर्जनागर्ने तर बन्धकी, धरौटी, धितो, अपहरित धन, स्त्रीधन आदिमा  भोगले स्वामित्व सिर्जना नगर्ने, स्त्रीधन र राजकीय धन १०० वर्ष भोग गरेपनि अरुको स्वामित्व सिर्जना नहुने र ऋणमा चार प्रकारका व्याज सम्भव हुने भनिएकोछ।

न्यायविकासिनीमा लिखतको महत्व, मान्य र अमान्य लिखत, लिखतमा हुने दोष, साक्षी, साक्षीका प्रकार, साक्षीका योग्यता र अयोग्यता, विना साक्षीका विवाद, साक्षीको स्मरण शक्ति र विश्वासनियता, साक्षी आवश्यक नहुने र अनिवार्य हुने मुद्दा, बकपत्र बाझिए गर्ने कुरा, साक्षी बकाउने विधि, कुटसाक्षी, शपथ जस्ता प्रमाण सम्बन्धी बिषयमा उल्लेखछ।

न्यायविकासिनीमा नासोको परिभाषा, नासोका प्रकार, नासो संबन्धी कसूर र दण्ड, व्यापार र साझेदारी, साझेदारीको प्रकृति, विदेशी व्यापारीको सुरक्षा, दानको प्रकृति र प्रकार र दण्डनीय दान बारे चर्चाछ।

यस ग्रन्थमा घरेलु वेतन सम्बन्धी व्यवस्था अन्तर्गत श्रम सम्झौता, श्रमका प्रकार, सीप, ज्याला, दासका प्रकार (उताको स्लेभ र यताको दास समान देखिदैनन्), भरियाको कर्तव्य जस्ता कुरा उल्लेख छन्।

स्वामित्व नभएको व्यक्तिले सम्पति बेचिदिएमा के हुने भन्ने बारे न्यायविकासिनीमा चर्चा छ। यसमा चोरीको सामान सट्याक सुटुक किने वात लाग्ने तर साक्षी राखी किनेको भए वात नलाग्ने, गाडधन राज्यकोषमा दाखेल गर्नुपर्ने, किनबेच गरिने बस्तुको प्रकृति र प्रकार, क्रय विक्रयमा ठगी गर्न नहुने, गलत कारोवार र हर्जाना, किनेको सामान फर्काउन पाउने नपाउने अवस्था, सामानको सही मूल्य निर्धारण, सामान किन्दा जाँचीपर्खी किन्नु पर्ने (क्रेताको दायित्व), बस्तुको मुल्य घट्ने अवस्था (डीप्रिसिएसन), सामूहिक व्यापार, संगठित अपराधजन्य व्यापार नियन्त्रण जस्ता बिषयका व्यवस्था छन्।

न्यायविकासिनीमा क्षेत्रज् विवाद अन्तर्गत पुल र कृषि क्षेत्रका अनिर्णित सीमा निर्धारण सम्बन्धी  कुरा उल्लेख छन्। यसमा खेतवारीका सीमा छुट्याउने तरीका, सीमा छुट्याउन स्थानीय व्यक्तिको सहयोग, भोग, प्रमाण र भौगोलिक अवस्थितिलाई सीमा छुट्याउने आधार मान्ने, साँधसिमाना छुट्याउदा झुटो बोले सजाय हुने, साँधसिमाना छुट्याउने काम एक्लैले गर्न नहुने धेरै व्यक्तिले गर्नुपर्ने, प्रमाण नभए दुबैथरी राखी विवेकमा सीमा निर्धारण गर्ने, सार्वजनिक जग्गा छुट्याउदा पनि यही नियम लागु हुने, पुल, बाँध र कुलोको व्यवस्था, जमिन आवाद गर्ने सम्बन्धी व्यवस्था, बाली नष्ट गरिदिन नहुने र गरेमा हुने दण्ड, बाली रक्षाका लागि बार लगाउनु पर्ने र बार नलगाएमा हुने परिणाम, बार फोरेर पशुले खाए पशुधनी जिम्मेवार हुनुपर्ने र बार नलाएको भए खेतिधनी जिम्मेवार हुने जस्ता कुरा उल्लेख छन्।

विवाहविधि वा स्त्रीपुरुषयोग अन्तर्गत आफ्नो वर्णमा विवाह गर्नु श्रेयस्कर हुने, पुरुषत्व भएमात्र विवाह गर्न योग्य हुने, सन्तान नभए उपचार गराउने, ढाँटी बिहे गरे अर्को बिहे गर्न सक्ने ढाँटीविवाह दण्डनीय हुने, विवाहमा परिवारको भूमिका हुने, अभिभावक नभएकी कन्याको विवाह राजाले गराइदिनुपर्ने, विवाहपछि पति परदेश गै समयमा नआए अर्को विहे गर्न सकिने, विवाह बिभिन्न तरीकाले हुनसक्ने, विवाहमा चलनको महत्व हुने, विवाह गर्न स्वीकारेपछि विवाह नगरे दण्ड हुने,  विवाह सम्बद्ध दोष, विवाह र परगमन, संग्रहण (दोस्रो पुरुषसंग सहवास वा  सहवास स्वीकार आदि), यौन अपराध, सन्तान, सन्तानहिनता र नियोग (सन्तान मात्रको लागि सम्बन्ध राख्ने व्यवस्था) आदिबारे उल्लेखछ।

न्यायविकासिनिमा दायभाग (अंशवण्डा ) अन्तर्गत पैत्रिक सम्पतिमा अंश लाग्ने, बाबुको सम्पतिमा छोरा र आमाको सम्पतिमा छोरीको अंशहक हुने, सन्तानले अंश पाउन सक्ने अवस्था, वण्डा गर्नु नपर्ने धन (निजी आर्जन, पेवा र विद्ध्या आदि), स्त्री धनका प्रकार, जेठो सन्तानले थप सम्पति पाउने, छोरा र अविवाहित छोरीले वरावर सम्पति पाउने जस्ता बिषय समावेशछन्।

न्यायविकासिनीमा चोरी, चोरीका प्रकार र सजाय, चोरीको सामान सहित पक्रिए, औकात भन्दा बढी खर्च गरेको देखिए, अपराधी प्रमाणित व्यक्तिसंग मिली काम गरेको देखिए, अपराधीलाई गासबास दिएको पाइए, अपराधीलाई पक्रन सक्नेमा नपक्री उम्कन दिए चोरी कार्यमा संलग्नता रहेको अनुमान गरिने व्यवस्था छन्। पटके अपराधीलाई थप सजाय हुने, चोरीको अपराध भएकोमा अपराधी पक्राउ गरी चोरीको सामान धनीलाई फिर्ता गर्न नसके पिडितलाई राज्यकोषबाट हर्जाना दिनुपर्ने कुरा उल्लेखछ।

न्यायविकासिनीमा वकपारुष्य अन्तर्गत गालीबेइजती, गालीबेइजतीको प्रकृति र अपराधको मात्रा अनुसार बिभिन्न श्रेणीमा विभाजन गरिएको छ। कुटपीट गर्न र शरीरमा नोक्सान पुर्याउन नहुने र पुर्याए दण्ड हुने व्यवस्था पनि यसमा छ।

न्यायविकासिनीमा द्युत क्रिडा अर्थात् जुवा खेल्नु खेलाउनुलाई अपराध मानिएकोछ।

यसमा राजकर्म अन्तर्गत सर्वस्वहरण गर्दा पेशा चलाउन आवश्यक बस्तु हरण गर्न नहुने, कर्तव्यबाट चुकेका सबै वर्णका मानिसलाई दण्ड हुने, दण्ड व्यवस्था नभए बलियाले निर्धालाई समाप्त पार्न सक्ने, राजाका राज्य र राष्ट्रप्रति अधिकार र कर्तव्य दुवै हुने, आयको छ भागको एक भाग कर लिन पाउने, खराब व्यक्तिबाट दान लिन नहुने जस्ता प्रावधान रहेकाछन्।

न्यायविकासिनीमा ठगी र लुटसम्बन्धी व्यवस्था, जासुस प्रयोग गरी अभियुक्त पक्रनुपर्ने, अपराध माथि निगरानी, अपराध अनुसन्धान, दसी, अपराध गर्ने व्यक्तिका लक्षण, हर्जाना र दण्ड, अपराधअनुसारको दण्ड जस्ता व्यवस्था उल्लेखछन्।

न्यायविकासिनीमा दण्ड प्रणाली र दण्डनीतिको उल्लेख सहित दण्डलाई शारीरिक र आर्थिक गरी दुई मुख्य भागमा बाँडिएकोछ। झुटो बोले (पर्जुरी) सजाय हुने, शपथ र दिव्यपरीक्षा सम्बन्धी व्यवस्था पनि यसमा रहेकाछन्।

पुछारमा

न्यायविकासिनी ६४० बर्ष पुरानो मानवन्यायशास्त्र (मानवनिर्मित कानून) हो। त्यो बेला आजका समाजशास्त्र, मानवशास्त्र, अपराधशास्त्र जस्ता पृथक विधा थिएनन्।  मार्क्स, लिंकन, माल्थस, मंटेस्क्यु, डाईसी- ती कोही कसैका सिद्दान्त पढेर यो कानून तैयार गरिएको थिएन। यस्तै त्यो बेला आजका जस्ता उत्तर आधुनिकतावाद, सेवर्लटन, उदारवाद आदि जस्ता अभियान चले चलाएको थाहा छैन।

त्यसबेलाका यी थितिका केही कुरा आजको सोंच अनुसार छैनन्।  त्यसबेला ती थिति त्यसअघि  समाजमा चल्दै आएका झन् खराब कुरा हटाउन, त्यो बेलाको समाजले अपेक्षा गरेका सुधार लागुगर्न र मौखिक आदेशबाट नभई लिखित कानूनबाट राज्य संचालन गर्न बनाइएको भन्ने देखिन्छ। त्यसअघिका बेथिति र खराबी हटाई लिखित कानून राज्यका तर्फबाट बनाई लागुगर्ने सोंच आफैमा सकारात्मक सोंच हो।

ऊ बेलाका कति व्यवस्था आज समय सापेक्ष नभए जस्तै आजका धेरै व्यवस्था भोलि गएर असामयिक देखिन सक्छन्। केही वर्ष अगाडी मात्र बनेको संविधानको सन्दर्भ र विषयबस्तुमा रहेका  कमजोरीको व्याख्या गर्ने हो भने सिङ्गो किताब बन्न सक्छ।

बि.सं.१४३६ मा भक्तपुरको सिमाना कहाँसम्म हुँदो हो? जनसंख्या कति हुँदो हो? कस्ता कस्ता मानिस बसोबास गर्थे? शिक्षाको स्तर के थियो? तैपनि सानो राज्यका राजाप्रजामा कानून बनाउने चेत रहेछ। व्यक्ति, परिवार, समाज र राज्य कानूनअनुसार चल्नुपर्ने भन्ने भावना रहेछ। कानून बनाउन सक्षम व्यक्ति खोज्ने चलन पनि रहेछ।

आज भन्दा ६४० बर्ष पहिले  न्यायका लागि कानूनको आवश्यकता देख्ने र आफ्नो समकालीन व्यवहारका आधारमा कानून बनाउने त्यो चेतलाई अभिवादन गर्न सकिन्छ। त्यसमा संलग्न राजा, मन्त्री तथा ज्ञातअज्ञात विद्वान र सहयोगी सबैलाई प्रणाम छ। किनकि यो कानून त्यो बेलासम्मका कुनै कानूनभन्दा कमजोर र खराब भएकाले आफ्ना पुर्खालाई धिक्कार्नु पर्ने खालको छैन। वि सं १४३६ पछि संसारमा कस्ता अत्याचार भए, कस्ताकस्ता विभेदयुक्त कानून बनाइए, अरु सभ्यता माथि कस्ताकस्ता आक्रमण गरिए त्यसको अभिलेख खोल्यो भने भक्तापुरबासीले भन्दा झन् बढी लाज आजका सभ्य भनिने ठाउका मानिसले मान्नुपर्ने अवस्था आउनेछ। त्यसैले औजार बनेर वा समग्रता पन्छाएर अपमान गर्न मनासिव लागेन। त्यसैले ती राजा, मन्त्री विद्वान र सहयोगी सबैलाई थप अभिवादन।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्