हामी सधैँ सम्झिरहनेछौँ- ५

एक्लोपनकै माझ गुम्यो डा. झाको जिन्दगी

उनी एक असल व्यक्ति थिए। त्योभन्दा अगाडि उनी एक असल चिकित्सक र शिक्षक थिए। आफूलाई जस्तो सुकै कठिनाइ किन नहोस् तर उनी शिक्षा दिन र सेवा गर्न कहिल्यै पनि पछाडि हटेनन्। उनी आफ्ना विद्यार्थीलाई सधै यही सिकाउँथे, ‘तिमीहरु मभन्दा राम्रो हुनु पर्छ।’

‘विद्यार्थीलाई जति धेरै ज्ञान दिन सक्यो, उनीहरु त्यति नै उत्कृष्ट भएर निस्कन्छन्’, यही भन्ने गर्थे उनी। त्यसैले उनले आफ्नो ज्ञान बाँड्न कहिल्यै पनि कन्जुस्याँइ गरेनन्।

‘पढ्नु पर्छ’ भन्दै उनी विद्यार्थीलाई हौसला दिन्थे।

उनले कसैलाई भेदभाव गर्न जानेनन्। उनीसँग उपचारका लागि अस्पताल पुग्ने प्रत्येक बिरामीलाई समान व्यवहार गर्थे। सबैका लागि मिलनसार व्यक्ति थिए उनी। त्यसैले त वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. सुनिलचन्द्र झा सबैका माझ लोकप्रिय थिए।

बिरामी। सहकर्मी। सहपाठी जो सुकै किन नहोस् उनीहरुलाई सहयोग गर्न डा. झाका हात कहिल्यै पछि हटेनन्।

उपचारका लागि अस्पताल पुगेका बिरामीसँग उनी उनकै भाषामा कुरा गर्थे। उनीहरुलाई सम्झाउँथे। बुझाउँथे। अनि मुस्कान सहितको मुहारमा बिरामीलाई घर फर्काउँथे।

उनले पढाउने गरेका विद्यार्थी। उपचार गरिरहेका बिरामीको बारेमा मात्र भलो सोचेनन्। अरुलाई जस्तै आफूले काम गर्ने संस्थालाई पनि उनले उतिकै माया गर्ने गरेको बताउँछन्, शिक्षण अस्पातलका पूर्वनिर्देशक प्रा. डा. प्रेमकृष्णा खड्गा।

‘उहाँ टिचिङबाट मनमोहनमा जानु भयो। त्यहाँ गएपछि उहाँले विभाग प्रमुखको नाताले धेरै प्रोग्रामहरुलाई बलियो बनाउनतर्फ लाग्नु भयो। डिएम र एमबी प्रोग्राम सुरु गर्न पनि उहाँ ठूलो योगदान छ’, उनले भने, ‘शिक्षण अस्पतालमा उहाँलाई एउटा पायोनियरको रुपमा लिइन्छ। नेपालमा ‘पेसमेकर’ प्रविधिको सुरुवात उहाँले नै गर्नु भएको हो।’

मृत्युको मुखमा पुगेका कयौँ बिरामीलाई बचाएका ६१ वर्षीय डा. झाले आफूलाई भने बचाउन सकेनन्। डा. झालाई कात्तिकको दोस्रो साता कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनीमा कुनै पनि लक्षण नदेखिएपछि होम आइसोलेसनमा बसे। होम आइसोलेसन बसेको केही दिनमा उनको स्वास्थ्यमा समस्या देखा पर्‍यो। 

मृत्युको मुखमा पुगेका कयौँ बिरामीलाई बचाएका ६१ वर्षीय डा. झाले आफूलाई भने बचाउन सकेनन्। डा. झालाई कात्तिकको दोस्रो साता कोरोना भाइरसको संक्रमण पुष्टि भयो। उनीमा कुनै पनि लक्षण नदेखिएपछि होम आइसोलेसनमा बसे। होम आइसोलेसन बसेको केही दिनमा उनको स्वास्थ्यमा समस्या देखा पर्‍यो।

उनी तत्काल नर्भिक अस्पतालमा भर्ना भए। तीन दिन उनको त्यही उपचार भयो। डा. झाको स्वास्थ्य थप जटिल बन्दै गएपछि उनलाई नर्भिकबाट शिक्षण सारियो। उनलाई आइसीयूमा राखेर उपचार सुरु गरियो।

स्वास्थ्य स्थिति झनझन खस्किदै थियो। उनको उपचारका लागि डाक्टरहरुले सक्दो कोशिस गरिरहेका थिए। उनलाई आइसीयूबाट भेन्टिलेटरमा सारियो। उनको स्वास्थ्यमा सुधार ल्याउन डाक्टरहरुले उनलाई रेमडेसिभिर चलाए। त्यसपछि फेरि अर्को प्रयासका लागि प्लाज्मा थेरापी पनि गरे। तर, डा. झालाई २० को १९ भएन।

अन्ततः सोमबार अर्थात मंसिर २ बिहान उनले प्राण त्यागे।

डा. झालाई करिब तीन हप्ता आइसीयू र भेन्टिलेटरमा राखिएको थियो। उपचारका सबै विधि प्रयोग गर्दा समेत उनलाई उनको उपचारमा संलग्न चिकित्सकहरुले बचाउन सकेनन्।

सबैतिर सक्रिय भएपनि पछिल्लो केही समयबाट भने उनी निष्क्रिय थिए। डा. झा आफै पनि पार्किन्सन, उच्च रक्तचाप, मधुमेहका बिरामी भएको डा. खड्गाले बताए।

उनले भने, ‘पछिल्लो समय उनी एक्लोपन खोजिरहेका थिए। अरुसँग डिस्टेन्स मेन्टेन गरेपनि मसँग भने भेटिरहेका थिए। उनी धेरै सहयोगी व्यक्ति थिए।’

डा. झा मनमोहन कार्डियोथोरासिक भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत थिए। उनको परिवारमा श्रीमती, छोरा, बुहारी र नातिनी छन्।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्