सरकारद्वारा लामो तथा मध्‍यम दूरीको यातायातको लागि अनलाईन टिकेटिङ मोनिटरिङ सिस्टम लागू

फाइल तस्बिर।

काठमाडौँ-मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ।

यातायात सुविधाम नागरिकहरुको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायत क्षेत्र सुरक्षित, व्यवस्थित र अपाङ्गता भएका व्यक्ति अनुकुल बनाउने नीति अनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको हो।

सरकारले कोरोनाको जोखिम न्यूनिकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातको टिकट काउन्टरमा हुने भिड व्यवस्थापन गर्न र सार्वजनिक यातायातको टिकट खरिदलाई पारदर्शी बनाउन अनलाइन टिकट खरिद विक्रि निर्देशिका लागू गरिसकेको छ।

अनलाईन टिकेटिङ सिस्टमको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्तकुमार नेम्वाङले सावजनिक यातायातलाई सर्वसुलभ, पारदर्शी सुरक्षित बनाउन नीतिगत व्यवस्था गर्ने सन्दर्भमा मन्त्रालय कानून निर्माणमा लागिरहेको बताए।

उनले एकीकृत प्रकृया र पारदर्शी प्रविधिमैत्री बनाएर काम गर्न सार्वजनिक यातायात प्राधिकरणको कल्पना गरिएको समेत बताए।

ओटिएमएसको माध्यमबाट यातायात सेवा प्रदायकहरुले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तरगतका निकायहरुलाई थप सहजता प्रदान गर्ने विश्वास लिइएको छ।

ओटिएमएसले लगानिकर्ताहरुको सञ्चालन खर्च घटाई मुनाफा बृद्धि गराउनुका साथै टिक खरिद विक्रि प्रकृयामा विचौलियाहरुलाई पूर्ण रुपमा निषेध गर्नेछ।

मंसिर ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्