जनकपुरधाम – छठ पर्वको तेस्रो तथा मुख्य दिन आज जनकपुरधामसहित देशभर छठ मनाइँदै छ।

छठ पर्व मनाउनको लागि जनकपुरधामको विभिन्न पोखरीहरुमा खरना राति देखि नै घाटमा अर्घ लिएर जानेहरुको भिड लागेको छ।

कोरोना महामारीको बिच अहिले जनकपुरधामको गंगासागर, अरगजा सर, दशरथ तलाउ, गोरधोई पोखरी, नोचा पोखरी, गोसाईकुण्ड लगायत दर्जनौँ पोखरीहरुमा श्रद्धालु भक्तजनहरुको भीड लागेको हो।

अन्य वर्ष जनकपुरधामको पोखरीहरुमा तेस्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेतापनि यस वर्ष कोरोना महामारीको कारण आएका छैनन्।

जनकपुरधामको छठ पर्व नेपालमै प्रसिद्ध रहेकोले यहाँ भीड बढी हुने गरेकोले अहिले जनकपुरधामको सुरक्षा व्यवस्था कडा गरिएको छ ।

आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइनेछ भने भोलि बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत रुपमा समापन हुनेछ।

छठको लागि अहिले जनकपुरधामका पोखरीहरुलाई दुलही जस्तै सिँगारिएको छ।