ओलीसँग अप्रत्यक्ष संवाद गरेर भावी ‘युद्ध’ नीति तय गर्दै प्रचण्ड, रोकिएको छैन ओली पक्षको चुनौती

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिद्वन्द्वी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अघोषित मध्यस्थकर्ताहरुको माध्यमबाट संवाद जारी छ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले कडा र नरम अडान लिएका आफू निकट नेताहरुलाई परिस्थिति आंकलनसहित प्रचण्डविरुद्ध आगामी मंसिर १३ गते पेश गर्ने प्रस्तावबारे गृहकार्य, अध्ययन र सुझाव संकलनको जिम्मेवारी दिएका छन्।

प्रचण्डले भने पार्टी टुटेको खण्डमा दोष आफ्नो मात्रै नभएको सन्देश दिनका लागि आवश्यक परामर्श सुरु गरेका छन्। तर आफ्नो ब्यवहारबाट पार्टीभन्दा माथि बालुवाटारको हैसियतलाई चुनौती पनि उनले सोही समयमा दिन थालेका छन्।

शुक्रबार बिहान प्रचण्डले महासचिव विष्णु पौडेललाई संवादका लागि पार्टी मुख्यालय धुम्बाराहीमा डाके। महासचिव पौडेलले दाहाललाई भने, ‘बालुवाटार आउनुहोस्, प्रधानमन्त्रीसँगै बसौँ। सहमतिको बिन्दु खोजौँ।’

तर बालुवाटारबाट सम्मानभन्दा अपमान पाइरहेका प्रचण्डले महासचिव पौडेलेको अनुरोध अस्वीकार गरे।

उनले भने, ‘बालुवाटार आएर एक्लाएक्लै छलफल गर्नुको अब कुनै अर्थ छैन। पार्टी कार्यालयमै छलफल गरौँ। तपाईँ आउनुहोस्।’ त्यसबाट प्रचण्डले ओलीसँग एक्लै संवाद गर्न नचाहेको बुझिन्थ्यो।

त्यसपछि पौडेल प्रचण्डलाई भेट्न धुम्बाराही हानिए। धुम्बाराहीमा करिव २५ मिनेट प्रचण्डसँग छलफल गरेपछि महासचिवले बाहिर आएर केही पत्रकारलाई संक्षिप्तमा भने, ‘परिस्थिति धेरै नै गम्भीर छ।’

तर स्रोतका अनुसार महासचिव पौडेलले प्रचण्डलाई सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता गरेर ओलीसँग मिलेर साझा प्रस्ताव ल्याउन आग्रह गरेका थिए।

पौडेलले साझा प्रस्तावले मात्रै पार्टी फुटबाट जोगिने निष्कर्ष सुनाएका थिए। तर प्रचण्ड त्यसबारे मौन बसेका थिए।

त्यसलगत्तै परिस्थिति धेरै गम्भीर भएको महासचिव पौडेलको अभिव्यक्तिलाई के भन्नुहुन्छ भन्ने देशसञ्चारको प्रश्नमा प्रचण्डले भने, ‘परिस्थिति त गम्भीर नै हो। तर समाधानहिन होइन।’

योसँगै प्रचण्डले पार्टी विधि र पद्धतिमा अघि बढे समाधानको ढोका खोलिने संक्षिप्त निष्कर्ष पनि सुनाए।

तर प्रचण्डले जति गम्भीर कुरा सुनाएका थिए, त्यस्तै गम्भीर देखिन्थ्यो उनको अनुहार।

‘के भन्ने कति बोल्ने? जे बोले पनि विवादमा ल्याइहाल्ने प्रवृत्ति छ,’ प्रचण्डको अर्को अभिव्यक्ति थियो।

त्यसपछि धुम्बाराहीमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ झुल्किए।

प्रचण्डलाई करिव एक घण्टा भेटेपछि नेता नेम्वाङले आफूले निर्वाचन, संविधान र पार्टी एकताका बेला जनाएका प्रतिवद्धतालाई सम्झिएर पार्टी एकताको रक्षामा दुबै अध्यक्ष एक हुनुपर्ने सुझाव दिएको पत्रकाहरुलाई जानकारी दिए।

प्रचण्डको भनाइ के छ?

नेम्वाङले भने, ’उहाँ पनि पार्टी एकताकै पक्षमा हुनुहुन्छ। उहाँले आफूले सचिवालयमा पेश गरेको प्रस्तावले पार्टी एकताको अन्तिम डोरी नचुडाँलेको भन्नु भएको छ।’

नेम्वाङका अनुसार उनले त्यसअघि ओलीसँग पनि टेलिफोन संवाद गरेका थिए। ओलीले पनि पार्टी एकताको पक्षमा आफू रहेको सन्देश आफूलाई दिएको नेम्वाङले बताए।

उनले भने, ‘हामीले पार्टी एकताका आधार, कमिटी निर्णय र सहमतिलाई आत्मसाथ गरेरै अघि बढ्ने हो। विवाद समाधान हुनेमा म आशावादी छु।’ नेम्वाङलाई पनि प्रचण्डले नै संवादका लागि धुम्बाराही बोलाएका थिए।

यता प्रचण्डले यसपटक पहिले जसरी संवादका लागि ओलीका ‘दूत’ हरुलाई आफ्नो निजी निवास खुमलटार बोलाएनन्। आफ्नो समूहका नेताहरुसँगको छलफललाई सघन बनाइरहेका प्रचण्डले ओलीका ‘दूत’सँग संवाद गर्न पार्टी मुख्यालय नै रोजेका थिए।

यता प्रचण्ड नेतृत्वको समीकरणका कारण अल्पमतमा परेका ओलीले भने समानन्तर रुपमा आफ्नो पक्षमा बहुमत जुटाउन र प्रचण्डकाविरुद्ध कडा प्रस्तावको प्रारम्भिक खाका निर्माण गर्न आफ्नो पक्षमा खरो उत्रने नेताहरुलाई लगाएका छन्।

ती नेताहरुले जथाभावी आरोप लगाएर ओलीको राजनीतिक जीवनमाथि नै प्रहार गरेका प्रचण्डसँग भिड्नै पर्ने नीति लिएका छन्।

प्रचण्डले ओलीलाई लगाएको आरोप पुष्टि गर्ने चुनौती दिइरहेका नेताहरुलाई ओलीले त्यो जिम्मीवारी सुम्पिएका हुन्।

ती नेताहरुमध्येका एक ईश्वर पोखरेल पार्टी मुख्यालयको माथिल्लो तलामा प्रचण्डले ओलीका ‘दूत’हरुसँग छलफल गरिरहेका बेला तल्लो तहमा प्रचण्डविरुद्धको दस्ताबेज तयार पार्न अध्ययन गरिरहेका थिए।

अध्ययन सकेपछि पोखरेलले भने,’प्रधानमन्त्रीमाथि लगाएको आरोपको आधारहिन, तथ्यहीन  छन्। त्यो प्रस्ताव नभई अभियोग पत्र हो। प्रक्रियाको हिसावले पनि त्यसलाई प्रस्ताव भन्न मिल्दैन। आरोपको पुष्टि गर्न नसक्नेसँग हिसावकिताव मागिन्छ। आरोप पुष्टि नभएमा के हुन्छ त्यो सबैलाई थाहा छ।’

पोखरेलले प्रस्तावको छिनोफानो हुनैपर्ने अडान लिए। प्रस्तावमा हाललाई प्रचण्डको मात्रै हस्ताक्षर भएको र त्यहाँ पानी तस्बीर मात्रै देखिएको प्रतिक्रिया समेत पोखरेलले दिए।

ओलीसँग नेता नेम्वाङ र पौडेललगायत नेताहरुको एउटा यस्तो समूह छ जसले निर्वाचनका बेला जनतासँग गरेको प्रतिवद्धता, संविधानको मर्म र पार्टी एकताका आधारलाई समाई दुई अध्यक्ष मिलेर पार्टी एकताको रक्षामा उत्रिनुपर्ने सुझाव ओली र प्रचण्डलाई दिइरहेका छन्।

नेता पौडेल र नेम्वाङले शुक्रबार प्रचण्डलाई त्यसैअनुसार आग्रह पनि गरेका थिए।

पार्टी कमिटी निर्णय उल्लंघनको आरोप्रत्यारोपबाट सुरु भएको विवाद सुरु गरेको ओली र प्रचण्ड अन्ततः एकअर्काविरुद्ध प्रस्ताव पेश गर्ने स्थितिसम्मै आइपुगेका छन्।

उनीहरुको प्रस्ताव कसरी अघि बढ्छ भन्नेमा उनीहरुको पद र पार्टी एकता निर्भर हुन पुगेको छ।

 

 

मंसिर ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्