डोनाल्ड ट्रम्प जुनियर कोरोना भाइरसबाट संक्रमित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

ट्रम्प जुनियरमा संक्रमण पुष्टि भएको उनका प्रवक्ताले बताएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

४२ वर्षका ट्रम्प जुनियरलाई यो हप्ताको सुरुमा संक्रमण पुष्टि भएको र त्यसपछि उपचार गरिएको उल्लेख छ । अहिले उनी आफ्नै क्याबिनमा क्वारेन्टिमा रहेको प्रवक्ताले जनाएका छन् ।

वक्तव्यमा भनिएको छ, ‘अहिलेसम्म कुनै पनि लक्षण देखिएको छैन । उहाँले कोभिड–१९ सम्बन्धी सबै स्वास्थ्य नियमहरु पालना गर्नु भएको छ ।’

उनकी प्रेमिका किम्बर्ली गिलफोयलमा संक्रमण भए–नभएको भने स्पष्ट भएको छ । यसअघि गिलफोयल गएको जुलाईमा संक्रमित भएकी थिइन् । त्यो बेला ट्रम्प जुनियर संक्रमित भएका थिएनन् ।

राष्ट्रपति ट्रम्प, प्रथम महिला मिलानिया तथा कान्छो छोरा ब्यारोनलाई यसअघि नै संक्रमण भएको थियो ।

यस्तै शुक्रबार ट्रम्पका विशेष सहयोगी एन्ड्रयू जुलियानी संक्रमित भएका थिए । उनी ट्रम्पका व्यक्तिगत वकिल रुडी जुलियानीका छोरा हुन् ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्