पुनः गणनामा पनि ट्रम्प पछि नै, जर्जियाको नतिजा औपचारिक रुपमा बाइडेनको पक्षमा

परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएको जर्जिया राज्यमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जितले औपचारिकता पाएको छ ।

राज्यका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्गले दोहोर्‍याएर गरिएको मतगणनापछि पनि बाइडेन नै विजयी भएको घोषणा गरेका हुन् ।

जर्जियामा बाइडेनले ट्रम्पलाई १२ हजार ६७० मतले हराएका हुन् । राज्यको कानून अनुसार गरिएको अडिटपछि बाइडेनको जित निश्चित भएको हो ।

राफेनस्परर्गले शुक्रबार राज्यमा आफ्नो पार्टी पराजित हुँदा निराश भएको तर नम्बरले झुट नबोल्ने बताए ।

बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा सत्ता सम्हाल्ने तयारी गरेका छन् ।

बाइडेन विजयी भए पनि ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् । उनले बिना कुनै ठोस प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् ।

उनका सहयोगीहरुले तीन राज्यमा चुनावको नतिजालाई चुनौति दिँदै दायर गरेका मुद्दा खारेज भएका बेला जर्जियाको नतिजा औपचारिक रुपमा बाइडेन तर्फ गएको हो ।

सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्ग

बाइडेनले अहिलेसम्म कुल मतमा ट्रम्पलाई ५९ लाख मतले पछि पारेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ र ट्रम्पले २३२ मत पाएका छन् ।

चार वर्ष पहिले ३०६ इलेक्टोरल कलेज मत पाएर तर पपुलर मतमा झण्डै ३० लाखले पछि पर्दा ट्रम्पले आफ्नो जितलाई ‘ल्याण्डस्लाइड’ को शंज्ञा दिएका थिए ।

ट्रम्पले मिसिगनका सांसदहरुलाई ह्वाइट हाउसमा बोलाएर चुनावको नतिजा प्रभावित पार्न खोजेको आरोप पनि लागेको छ । ट्रम्पले नतिजा प्रमाणिकरण गर्ने अन्तिम दिनमै मिसिगनका सांसदलाई ह्वाइटहाउसमा झिकाएका हुन् ।

ह्वाइट हाउस प्रवक्ता केली म्याकनेनीले भने ट्रम्पले सांसदहरुसँग त्यस्तो खालको कुनै बसह नगरेको दाबी गरेकी छन् ।

तस्बिरहरुः द न्यूयोर्क टाइम्स

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्