चिनियाँ रक्षामन्त्री वेई फेङ्हेको भ्रमणमा नेकपा बैठकले शालिनता देखाउने

काठमाडौँ – सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको प्रस्तावित केन्द्रीय सचिवालय बैठकको भोलिपल्ट चिनियाँ रक्षामन्त्री वेई फेङ्हे नेपाल आउने भएकोले उक्त दिनको बैठकलाई सभ्य तथा विवादरहित बनाउन सचिवालय जुटेको छ।

सचिवालयका एक सदस्यका अनुसार मंसिर १३ गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित प्रस्ताव पेश गरिने छ, र त्यसको अध्ययनपछि सम्भवतः मंसिर १५ गते त्यसमा छलफल गरिने छ। प्रस्तावका विवरण सकेसम्म सार्वजनिक नहुन् विदेशी पाहुना नेपालमा छँदा भन्ने चासो सचिवालयमा रहेको श्रोतले बतायो।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै पेश गरिसकेको राजनीतिक प्रस्तावमा ओलीमाथि भ्रष्टाचार, आफन्तवाद, अधिनायकवाद आदिको अभियोग लगाइनुका साथै ओलीलाई पद त्यागको लागि आग्रह पनि गरिएकाे छ।

प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिन ओली पक्षले गरेको आग्रहलाई अस्वीकार गरेपछि ओलीले ल्याउन लागेको प्रस्तावमा प्रचण्डविरुद्ध गम्भीर आरोप र अभियोग सामेल गरिने अनुमान पार्टी भित्रै गरिएको छ।

नेपालस्थित चिनियाँ राजदूत हाउ याङ्छी ले पटक–पटक नेकपा एकताका लागि ओली लगायत प्रभावशाली र उपल्लो तहका नेताहरुसँग भेटघाट गर्दै आएका छन्।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्