काठमाडौँ – कोरोना संक्रमण रोकथामका लागि २०७६ चैत ११ गते देखि लकडाउन सुरु भयो । त्यसपछि पनि जारी गरिएका निषेधाज्ञाले धेरै उद्योग कलकारखाना प्रभावित भए ।

यो अवधिमा धेरै मानिसहरु बेरोजगार भए । धेरैलाई प्रतिकुल बनेको लकडाउनको समयलाई सदुपयोग गर्नेहरु भने अहिले स्वरोजगार बन्दै आम्दानी गरिरहेका छन् ।

लकडाउनको समयलाई सदुपयोग गरेर स्वरोजगार बन्न सफल एक उदाहरणिय व्यक्ति बनेका छन् हेटौडा–६ शान्तिटोलका भरत सापकोटा ।

लकडाउनका कारण आफूले लाखौँ लगानी गरेर सञ्चालन गरेको निजी विद्यालय बन्द भएपछि उनलाई बैंकको व्याज तिर्न समेत समस्या भयो ।

त्यसैले आफ्नो पुर्‍ख्यौली जमिनमा व्यवसायिक ढंगबाट एकीकृत कृषि फार्मको सुरुवात गरे। लकडाउन कै बीचमा कुखुरा, माछा र तरकारी खेति सुरु गरेका सापकोटाले अहिले आम्दानी लिन थालेका छन्।

यस्तै लकडाउन भन्दा अगाडि हार्डवेयर र कस्मेटिक पसल सञ्चालन गरिरहेका हेटौँडा–६ चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउन कै बीचमा व्यवसायिक तरकारी खेती सुरु गरेको छ ।

बेमौसमी तरकारी खेती सुरु गरेका उनीहरुको परिवारले पहिलो उत्पादनमै ३ लाख रुपैयाँ बढीको तरकारी बिक्री गर्न सफल भएको छ ।

लकडाउनको प्रतिकुल समयलाई सदुपयोग गरेका उनीहरु आफू त स्वरोजगार भए नै, अरुलाई पनि काम दिने अवस्थामा पुगिसकेका छन् ।

लकडाउन र निषेधाज्ञाका कारण बेरोजगार भएकाहरुलाई लक्षित गरेर हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ ले स्वरोजगार कार्यक्रम सुरु गरेको छ ।

बेरोजगारहरुलाई व्यवसायिक कृषि, पशुपालन, माछापालन जस्ता क्षेत्रमा अनुदानको लागि वडा कार्यालयले लगानी गरेको छ । यसबाट रोजगार गुमाएका, विपन्न परिवार र एकल महिलाले लाभ हासिल गरेका छन् ।

हेटौँडा–६ मा मात्रै लकडाउनपछि ४० भन्दा बढी परिवारले व्यवसायिक कृषिलाई आफ्नो आम्दानीको स्रोतको रुपमा अगाडि बढाएका छन् ।

तर सिपमुलक तालिम र पर्याप्त लगानी नहुँदा उनीहरुले अपेक्षित लाभ हाँसिल गर्न भने सकिरहेका छैनन् ।

राज्यले लकडाउन र निषेधाज्ञाको प्रतिकुल समयलाई सदुपयोग गरेर स्वरोजगारतर्फ उन्मुख भएकाहरुलाई प्राविधिक ज्ञान, कृषि औजार र सहुलियत ऋणको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्