सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा नाराबाजी, माधव नेपालले गरे भर्त्सना

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेविरुद्ध नाराबाजी भएको छ। शनिबार चितवनको राप्ती नगर पार्टी बैठकमा मन्तव्य राखिरहेका बेला कार्यक्रममा सहभागी केही व्यक्तिहरुले नेता पाण्डेविरुद्ध नाराबाजी गरेका हुन्।

नेता पाण्डेले पार्टी एकता विरोधी अभिव्यक्ति दिएको भन्दै केही कार्यकर्ताहरुले नाराबाजी गरेका हुन्। पाण्डे नेकपाभित्र माधव नेपाल निकट नेताका रुपमा चिनिन्छन्।

नेकपा वरिष्ठ नेता माधव कुमार नेपालले नेता पाण्डेविरुद्ध भएको नाराबाजीको भर्त्सना गरेका छन्। पाण्डेविरुद्ध सुनियोजित रुपमा केही व्यक्तिहरुले अभद्र व्यवहार गरेको भन्दै छानविन गरी कडा कारबाही गर्न पनि नेता नेपालले माग गरेका छन्।

नेता नेपालले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भइ मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनुयोजित रूपमा गरेको अभद्र ब्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु।’

‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अबलम्वन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जो सुकै भएपनि छानविन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु’, नेता नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्