दलाल – पुँजीवाद पूर्ण निषेध छ

बानीहरु कि राम्रा हुन्छन कि त खराब । यसले व्यक्ति, संस्था वा  समाजलाई पार्ने असर अनुसार नै राम्रो र खराब छुट्टिन्छ। बानी नै लतसम्म पुग्ने मार्ग हो। बानी र लतलाई मापन गर्न अक्सर गाह्रो हुन्छ किनकि यी दुईलाई छुट्टयाउने रेखा निकै मसिनो हुन्छ। भनिन्छ- कुनै पनि कुराको लत लगाउनु  कहिलै पनि ठिक हुँदैन।

अमेरिकी एडिकटिभ मेडिसिन समाजले लतलाई ‘मस्तिष्कको दिर्घ रोगको रुपमा व्याख्या गरेको छ। लतले व्यवहार नियन्त्रणमा उदासीनता , लालसा, निश्चित कार्यबाट अलग रहन असमर्थता आदि परिणाम निम्त्याउँछ।’

लतको विकास हुनुले विभिन्न अनुवंशिक र वातावरणीय जोखिम पैदा गर्छ, जुन समाज वा जनसांख्यिकी अनुसार फरक-फरक हुन्छन्। लत कमदेखि उच्च जोखिम सम्मका हुन्छन्। जस्तै, अत्यधिक खानपान, जुवा, ऋण, यौन, लागूपदार्थ, जमाखोरी, आत्म-विकृत , धूम्रपान, भिडियो-गेम लत, भावनात्मक निर्भरता र दर्जनौं अन्य विनाशकारी व्यवहार आदि।

अब कल्पना गर्नुहोस्- यो सबै लत, बानी बिग्रेको सत्तामा गाँसिए परिणाम के- के होला? र यसका सबै जोखिम उच्च हुने नै भए। जस्तै, अत्याधिक घुस -पान, नीतिको जुवा, विदेशीको ऋण, जवान युवाको पसिना, कुर्सीमात, आफन्तखोरी, विचार- विकृत, विकासको स्वप्न, राजनीतिक- दाउपेचको लत, परनिर्भता र अरु कति हुन् कति जनतामारा व्यवहार छन्।

यी विध्वंसकारी लत छुटाउन जनताले धेरै प्रयास गरे, बिलौना गरे, अझै आयास जारी छ।

बानी परिवर्तनको प्रशिक्षण :

बानी परिवर्तन गर्ने नियम यस प्रकार छ : यदि तपाईँ उही इसारा प्रयोग गर्नुहुन्छ र उही इनाम प्रदान गर्नुहुन्छ भने तपाईँ दिनचर्या परिवर्तन गर्न र बानी बदल्न सक्नुहुन्छ।  यदि इसारा र इनाम उस्तै रहने हो भने प्राय: करिब सबै व्यवहार परिवर्तन हुन सक्दछन्।

बानी परिवर्तन हेतु जनताले उही पुरानो इसारा (तर स्वदेशी) र पुरानै इनाम (लोकतन्त्रको मिठाइ ) राखे, तर नयाँ दिनचर्या सम्मिलित गरे। झिनो आशामा फेरि सत्तालाई दुई- तिहाइको झोला भिर्न लगाएको, यसपालि त भिरबाटै लडेको छ।

नयाँ बानीको विकास गर्न नौलो चाहना सक्रिय गराउन आवश्यक हुन्छ। सर्वप्रथम सत्तालाई जनताको सेवा गर्ने नौलो चाहना स्थापित गराउनु वान्छनीय थियो। परन्तु, सत्ताले यो अवसरलाई वन्चनीय बनाउन हरसम्भव प्रयास गर्‍यो, अझै गर्दैछ। सत्ताको नानीदेखि लागेको बानी बदल्नको लागि उसले कुर्सी लालसा त्याग्नुपर्दछ ।

अझ यसको अतिरिक्त, सत्ताबाट कुर्सीमोह हटाउन  एक विशेष प्रशिक्षण गरियो। स्नायु-विशेषज्ञको एक टोलीले पाँचजान सत्तामोहीको मस्तिष्कमा सानो चुनावी यन्त्र जडान गरे। यी सबैले विभिन्न कालखण्डमा जनता समक्ष कुर्सीमोह त्याग्ने वचनबद्दता गरेका रहेछन्। यी सबै सत्ता लालसीहरुले पहिला नै कम से कम एक निर्वाचन अवधि, बिना सफलता  पुननर्विकरण गरिसकेका रहेछन्। एकजना सत्तालालसी त् ७० बर्षमा मिथ्याचार पखाल्न बारम्बार सुशासनको जाँचमा अनुतीर्ण भएका रहेछन्।

यो यन्त्र यी सत्तालालसीको मस्तिष्कको बीच भाग- बेसल गंग्लियामा जडान गरिएको थियो, जुन भाग बानी चक्र निर्माण गर्न सक्रिय हुन्छ। बानी परेको लालशा मेटाउन, सबैको मस्तिष्कमा चुनावी तरङ्ग उत्सर्जन गरियो। त्यसपश्चात, तिनीहरुलाई बिदेशीको इशारामा राखियो , जसले कुनै बेला यी सत्तालालसी हरुलाई आकर्षित गरेको थियो। प्रधानमन्त्रीको कुर्सी, मन्त्री अनि संवैधानिक पद आदिको सौगात पेश गरियो। सामान्यतया, बोलीमा लोली मिलाउदै स्वीकार गर्ने पद, यसपालि भने मस्तिष्कभित्रको यन्त्रले रोक लगाउन बाध्य तुल्यायो। कुर्सीमा बस्ने त के नाम पनि लिएनन्।

तर नेपालीको बिडम्बना, चुनावी तरङ्ग खोल्दा कुर्सी-मोहीको लालशा हराएर जान्थ्यो, फेरि चुनावी तरङ्ग बन्द गर्ने बित्तिकै जस्ताको तस्तै।

यो के अचम्म भयो ?

हजारौँ हजारको भेला – खुलामञ्चको रोस्ट्रमपछाडि नेपालको झन्डा- सबै कान ठाडो पारेर  एकजना बुढा मान्छेको भाषण सुनिरहेका छन्।  उमेरले चाउरी तर स्वाभिमानले राता राता गाला, शिरमा सत्यको टोपी अनि आँखामा सेवाको भाव छ। उनी कोही शीर्ष नेताजस्ता छन्, अनुहारमा एकताको चहक छ।

‘मेरो नाम सत्ता हो’, उसले भन्यो, ‘र म कुर्सिमोही थिएँ।’

‘म छाँगाबाट झरेजस्तो भएँ जब मेरो देशको गुँडमा बिदेशी कोइलीले अण्डा पारेर, चल्ला कोरल्न लाग्दै रहेछ,’ सत्ताले भन्यो। मेरो एकजना विदेशीसँग चक्कर चलिरहेको थियो। अकस्मात उसले यो सम्बन्ध अन्त्य गर्ने र छुट्टिने निधो गरी। मलाई ज्यादै असहज भयो, अनि म सिधै अर्कोको दूताबास गएँ।  त्यहाँ दुई थान मन्त्रीको बिन्ती बिसाएँ अनि फर्केर आफ्नो कार्यकक्ष आएँ।  दिउँसो फेरि साथीसँग ठूलो भाग खान निस्किँदा  अर्को दूताबास छिरियो, अनि त्यहाँ पनि केही थान सांसदको सिकार गरियो। साँझपख अर्को धूर्तसँग घुसपान गर्न निस्किँदा दलाल-पूँजीवादको घरमा ‘एक को दुई’ को रौनक छाएको रहेछ। माहोल जमेको थियो, अलि अलि लाभ उठाउनु पर्‍यो भनेर समेट्न सक्ने जति पदहरु कब्जा गरियो।

आजै मेरो देशवासीको नाममा सम्बोधन गर्नु पर्ने दिन थियो – मेरा जनतालाई अहिले सम्म मेरो विदेशीसँग चक्कर चलेको सुइँको थिएन – त्यसैले मैले कुर्सीमोहकै मातमा जनतालाई सम्बोधन गरे। म सम्बोधन गर्दै थिएँ, जुन भाषण मैले हजारबार गरेको थिए होला। तर आज भाषण गर्दै गर्दा मेरो जिब्रो वास्तविकताको गोलचक्करमा चिप्लिएर सत्यको अन्तिम विराम चिन्हमा बजारियो।

नेपाल – मेरो देश – जसले समृद्धिको पेटी लगाएको थिएन, अत: मेरो देश चरम गरिबीको कवच फुटाएर अराजकताको मूलबाटोमा पछारियो। रगतले लत्पतिएको मेरो देशको, स्वाधिनताको नाक भाँच्चियो अनि सार्वभौमिकताको आँखा फुट्यो। यो त्रासदी ज्यादै भयानक थियो। तत्पश्चात, मैले मौलिक सहयोग लिने निर्णय लिए।

‘मैले नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुको सल्लाह लिन थालेँ। आसेपासे हरुको भासे मास्छु भनेर मनैमन प्रण गरेँ। केही काल ठिकै चल्यो तर फेरि आफ्नै साथीहरुले, पार्टी भित्रैबाट पेल्न खोजे पछि म फेरि कुर्सीको तरिका अपनाउन बाध्य भएँ। पुन : म आफन्तखोरी, कुर्सीमोही हुने भएँ र शक्तिकेन्द्र देख्नासाथ त्यतैतिर हल्लिन थालेँ। म लगातार केही वर्ष लतमै रहे जबसम्म मेरा जनतालाई यो कुराको सुइँको भएन।

एकदिन फेरि मेरो देशलाई उद्धार गर्न जानुपर्ने दिन आयो। म मस्तराम भएर बसेको थिएँ। किनभने साथीहरुले राजनीतिक दाउपेचको लत राम्रैसँग लगाईदिएका थिए।

जे भए पनि, म फेरि देशलाई उद्धार गर्न तयार भएँ, जाँदा बाटोमा मेरो सत्ताको गाडीलाई पछाडिबाट साम्राज्यवादको ट्रकले ज्यादै कठोर ठक्कर दियो, सरकार नै उथल – पुथल हुनेगरी। धन्न मलाई चाहिँ एउटा दाग पनि लागेन। मैले हतार -हतार कुर्सी सम्हाल्दै, सत्तालाई पनि सकुशल दरबार पुर्‍याउन खोज्दै थिएँ। किनकि यदि यो अवस्थामा जनताले देखे भने मलाई गिरफ्तार गर्छन् अनि मलाई देशद्रोहको जरिवाना लगाउँछन्। यद्यपि मेरा प्रयास काम लागेनन्, र जनताले मलाई गिरफ्तार गरे । जनताले मेरो छेउमा रहेको, देश बस्ने आसनमा पूर्ण क्षति भएको सूचित गराए। त्यो त्यही ठाउँ हो, जहाँ देश सधै मसँग यात्रा गर्ने गर्थ्यो। यदि आज देश पनि सँगै यो यात्रामा सरिक भएको भए , देशको अवसान निश्चित थियो।

‘म पुन: नागरिक समाज र प्रबुद्ध व्यक्तिहरुलाई भेट्न गएँ। नागरिक समाज, प्रबुद्ध व्यक्तिहरुले मलाई  फेरि पनि परनिर्भरता वा बिदेशी इशारामा लागे केही सुधार नहुने राय- सल्लाह दिए।  उनीहरुले उच्च शक्ति बिना वा आफ्नो शक्तिहीनता स्वीकार नगरी सुधारात्मक चेत नआउने कुरामा जोड दिए। मलाई त्यो सब बकवास लाग्यो – म त नास्तिक हो। तर मलाई थाहा भयो कि यदि मैले आफुलाई परिवर्तन गरिन भने, म मेरो देशको अवसान ल्याउने कारक बन्ने छु।

तसर्थ , म आफूलाई सुधार्न रातदिन लागेँ, कुर्सीभन्दा ठूलो सोच्न थालेँ। जनतालाई केन्द्रमा राखेर राजनीति गर्ने भएँ। मलाई थाहा छैन भगवान छन् कि छैनन्, तर एउटा अदृश्य शक्तिले मभित्र सत् बुद्धि प्रदान गर्‍यो। आज झन्डै ४ बर्ष भयो मैले बिदेशीको इशारा सुनेको छैन, कुर्सीको मोह देखाएको छैन। कदाचित नराम्रा विकार पैदा हुने बित्तिकै, म जनताको माझ गइहाल्छु, प्रबुद्धको राय सुन्छु। हामी गरिवी निवारणका, विकासका, उन्नतिका, जनताका सुखका, युवा रोजगारीका आदिका बिषयमा चर्चा गर्छौँ। अब बिदेशी वा शक्तिकेन्द्र, दलाल – पूँजीवाद पूर्ण निषेध छ।

यो श्रृंखलाको पहिलो रचना पढ्नुहोस्:

सत्ताको नानीदेखि लागेको बानी

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्