नेकपा विवाद

असुरक्षित बनेपछि एकताका लागि दबाब दिन जिल्ला नेता केन्द्रमा, प्रचण्डद्वारा ‘त्याग’गर्ने संकेत

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध १९ पृष्ठ लामो प्रस्ताव सचिवालय बैठकमा पेश गरेका अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि ‘त्याग’ गर्ने संकेत देखिएको छ।

पार्टी कमजोर हुँदा सत्तापक्ष मात्रै नभई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुबाट आफूहरु आक्रमण र दुर्व्यवहारमा पर्न थालेपछि असुरक्षित महशुस गरेको भन्दै पार्टी एकताका पक्षमा दह्रोसँग उभिन सुझावसहित आएका महोत्तरीका नेकपा केन्द्रीय कमिटी चार जना सदस्यसँग शनिबार छलफलका क्रममा प्रचण्डले त्यस्तो संकेत दिएका छन्।

केन्द्रीय कमिटी सदस्य राजु खड्काका अनुसार पार्टी एकताको विकल्प नभएकाले अन्य नेताहरुबाट पनि आफूले पेश गरेको प्रस्ताव र त्यसकाविरुद्ध आगामी दिनमा प्रधानमन्त्री ओलीले पेश गर्ने प्रस्ताव मिलाएर साझा प्रस्ताव बनाउन चर्को दबाब खेपेको र त्यसबारे आफू गम्भीर रुपमा सोचिरहेको प्रचण्डले बताएका थिए।

‘मैले जे यथार्थ हो त्यसलाई समेटेर प्रस्ताव पेश गरेको थिएँ। प्रधानमन्त्री ओलीले पनि आफ्नोतर्फबाट पनि प्रस्ताव ल्याउने भन्नु भएको छ। तर अन्य नेताहरुबाट हामी दुबैको प्रस्ताव मिलाए साझा प्रस्ताव ल्याउन दबाब दिनु भएको छ। अब हेरौँ के कसो हुन्छ,’ साझा प्रस्ताव बनाउन सहमत भएमा प्रचण्ड आफ्नो अडानबाट पछि हटेको सन्देश बाहिर जाने देखिन्छ।

प्रचण्डले आफ्नो प्रस्तावमा ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाएका छन्। नेतृत्व तहदेखि स्थानीय स्तरसम्म पद र पैसाका जे पनि गर्न उद्धत हुने घोर व्यक्तिवादी र अराजकताजवादी प्रवृत्ति झाँगिदै गएकोे आरोप प्रचण्डको प्रस्तावमा छ।

पार्टीमा संकट उत्पन्न हुनुको कारण ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी कार्यशैली प्रमुखरुपमा जिम्मेवार रहेको आरोप प्रचण्डले लगाएका छन्। योसँगै प्रचण्डले ओलीलाई पद त्यागका लागि पनि अनुरोध गरेका छन्।

तर मंसिर ३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डद्धारा आफूमाथि लागेको आरोप आधारहीन भएको र यो आफ्नो राजनीतिक जीवनमै धक्का लाग्ने गरी आएको भन्दै यसको लिखितरुपमा जबाफ दिनुपर्ने भएकाले आफूले पनि अर्को प्रस्ताव गर्ने निष्कर्ष सुनाएका थिए।

दुई अध्यक्षका प्रस्ताव समानन्तर रुपमा अघि बढे पार्टी नरहने निचोड निकाल्दै प्रचण्ड र ओलीका तर्फबाट साझा प्रस्ताव ल्याउन खासगरी ओली पक्षका नेता सुवास नेम्वाङ, विष्णु पौडेललगायत नेताहरुले दबाब दिइरहेका छन्।

तर ओली पक्षकै ईश्वर पोखरेल, शंकर पोखरेल, पृथ्बीसुब्बा गुरुङलगायत नेताहरुले प्रचण्डको प्रस्ताव नभई अभियोग पत्र भएकाले त्यो खारेज हुनुपर्ने अडान लिएका छन्। शनिबार मात्रै गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका गुरुङले पहिले प्रचण्डलाई जबाफ दिने त्यसपछि मात्रै दुबै अध्यक्षबाट एकीकृत राजनीतिक प्रतिवेदन आउने बताएका छन्।

प्रचण्डको पक्षमा उभिएका उपाध्यक्ष बामदेव गौतमले पनि दुई अध्यक्षले तयार गरेका कार्यसूचीका आधारमा आगामी सचिवालयमा बैठक बस्ने भनेर प्रचण्ड र ओलीको साझा प्रस्ताव आउने संकेत गरेका छन्।

00

केन्द्रको नेतृत्वमा वारपारको लडाइँ चर्किएका बेला जिल्लामा त्यसको प्रत्यक्ष प्रभाव परेको छ। उदण्डता मच्चाउने, एकअर्काविरुद्ध जाइलाग्नेजस्ता अस्वाभाविक गतिविधि बढेका छन्।

पार्टीभित्रै एउटा गुटका नेता तथा कार्यकर्ताद्वारा अर्का गुटका नेता तथा कार्यकर्तामाथि दुर्व्यवहार हुन थालेको छ।

कतिपय स्थानमा भने खुलेरै ओली पक्षका नेता तथा कार्यकर्ताहरुले पूर्वएमालेको विचार जनताको बहुदलीय जनवाद ‘जबज’का लागि भेलाहरु आयोजना गर्न थालेका छन्।

यतिमात्रै होइन, नेकपामा विवाद चर्किएपछि पार्टीका जिल्लास्तरका नेताहरुले आफूहरु कमजोर भएको मौका छोपी सत्तापक्षका नेताहरुले आक्रमणमा गरेको गुनासो गर्न थालेका छन्।

महोत्तरीबाट प्रतिनिधित्व गर्ने नेकपा केन्द्रीय सदस्य राजु खड्कासहित चार जनाले शनिबार केन्द्रका शीर्ष नेताहरुलाई भेटे। खड्काका अनुसार पार्टीको माथिल्लो तहमा भएको विवादका कारण जिल्लामा उनीहरुले असुरक्षित महशुस गरेका छन्।

उनले भने, ‘मुहान धमिलो भयो खोलाको पानी पनि धमिलो हुन्छ। अहिले त्यस्तै अवस्था छ हाम्रो। सत्तापक्षका नेता कार्यकर्ता मात्रै होइन, आफ्नै पार्टीका कार्यकर्ताद्धारा पनि हामीमाथि आक्रमण हुन थालेको छ। त्यो रोकिनुपर्छ भन्ने हाम्रो माग हो।’

पार्टी कमजोर हुँदा सत्तापक्ष मात्रै नभई आफ्नै पार्टीका नेता तथा कार्यकर्ताहरुबाट आफूहरु आक्रमण र दुर्व्यवहारमा पर्न थालेपछि असुरक्षित महशुस गरेको भन्दै पार्टी एकताका पक्षमा दह्रोसँग उभिन सुझावसहित आएका महोत्तरीका नेकपा केन्द्रीय कमिटी चार जना सदस्यसँग शनिबार छलफलका क्रममा प्रचण्डले त्यस्तो संकेत दिएका छन्।

खड्काको समूहले शनिबार प्रचण्डलाई मात्रै नभई, ओली, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य ईश्वर पोखरेलगात नेताहरुलाई भेटेर माथिको विवादले आफूहरुलाई जिल्लामा समस्या परेको सुनाएका थियो।

साथै विवाद जतिसक्दो चाँडो साम्य गरेर पार्टी एकताको रक्षा गर्न यो समूहले नेताहरुलाई आग्रह गरेको छ।

खड्काले प्रधानमन्त्री ओलीले केही विवाद देखिएपनि आफूहरु पार्टी एकताको पक्षमा भएको सुनाएको बताए। उनले भने, ‘प्रधानमन्त्रीले अर्का अध्यक्ष प्रचण्डले आफूलाई आरोप लगाएपछि त्यसको खण्डका लागि आफूले पनि प्रस्ताव तयार पारेर सचिवालय बैठकमा पेश गर्न थालेको सुनाउनु भएको थियो।’

माथि ओली र प्रचण्ड आम्नेसाम्ने भइरहेका बेला प्रचण्डको समर्थनमा उत्रिएका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरपालिकामा ओली पक्षका कार्यकर्ताहरुद्वारा दुर्व्यवहार भएको छ।

नेता पाण्डेका अनुसार राप्ती नगरको कमिटी बैठकमा आफूले सम्बोधन गरिरहेका बेला उनीविरुद्ध नाराबाजी भएको थियो।

आफूले पछिल्लो स्थायी कमिटी बैठकका निर्णयहरुबारे उल्लेख गरिरहेका बेला केही कार्यकताहरुले जबज जिन्दावाद, केपी ओली जिन्दावादलगायत भन्दै नारा लगाउन थालेको पाण्डेले बताए।

उनले भने, ‘बैठकमा मैले सम्वोधन गर्दै थिएँ, स्थायी कमिटी बैठकका निर्णयबारे जानकारी गराउन चाहिरहेको थिएँ। तर एक्कासी नाराबाजी लगाइयो। वास्तवमा ममाथि दुर्व्यवहार भएको महशुस गरेको छु।’ नेता पाण्डेले गरेको सम्वोधन मन नपरेपछि ओली पक्षका कार्यकर्ताले त्यहाँ नाराबाजी गरेका थिए।

तर राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले नेता पाण्डेले जिल्लामा आएर एकताको कुरा गर्न छोडेर पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राम्रो काम नगरेको भन्दै भाषण गरिरहेपछि कार्यकर्ताले प्रश्न सोध्न चाहँदा नपाएपछि नाराजुलुस गरेको बताइन्।

उनले भनिन्, ‘नेता पाण्डेले बिना प्रसंग प्रधानमन्त्री ओलीको केही काम भएन भन्दै एकोहोरो कुरा राख्दै जानु भयो। नेता पाण्डेले प्रधानमन्त्री केही पनि होइन भनेजस्तो गर्नुभयो। त्यसपछि कार्यकर्ता उठेर प्रश्न सोध्न खोजिरहनु भएको थियो। प्रश्न सोध्ने मौका नपाएपछि पार्टी एकतावाद्ध, गुटबन्दी मुर्दावाद भन्दै नाराजुलुस गर्नुभएको हो।’

बरालले कार्यकर्ताले जबजका पक्षमा नाराजुलुस नगरेको दाबीसमेत गरिन्। यता नेता नेपालले नेता पाण्डेमाथि अभद्र ब्यवहार गर्ने जोसुकै भएपनि उनीहरुमाथि छानबिन गरी उनीहरुलाई कारवाही गर्न माग गरेका छन्।

अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि घटनाको विरोध गरेका छन्। र, घटनामा संलग्न दोषीलाई कारवाहीको माग उनले गरेका छन्। उनले साँझपख एक वक्तव्य जारी गर्दै भनेका छन,‘पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ।’

केन्द्रमा विवाद चर्किएका बेला सुर्खेतमा जबजका पक्षमा मदन भण्डारी स्पोर्टस् एकेडेमी कर्णाली प्रदेशले स्वागत तथा प्रदेश भेलाको आयोजना गरेको छ, शनिबार नै।

‘सबैका लागि खेलकुद’, जनताको बहुदलीय जनवाद–जिन्दावाद’ नारासहित भेला गरिएको हो।

आयोजक संस्थाकी प्रदेश सचिव हेमा खड्काले माथि पार्टीको माथिल्लो तहमा उथपुथल भइरहेको, जबजलाई लात हान्न खोजिएकाले आफूहरुले केन्द्रका नेताहरुसँग मिलेर भेला गरेको बताएकी छन्।

उनले देशसञ्चारसँग भनेकी छन्, ‘खेलकुदको योजना, विकास र प्रर्वद्धन पनि गर्ने हो र हाल पार्टीमा उत्पन्न परिस्थितिलाई पनि ध्यानमा राखेर भेला आयोजना गरिएको हो। जबज नमान्नेहरु पनि छन्। मदनभण्डारीको विचारलाई लात मार्ने प्रयास भइरहेको छ। त्यसलाई रोक्ने उद्देश्य पनि हो।’

गत माघको केन्द्रीय कमिटी बैठकले गुटबन्दी मौलाएको भन्दै नेताका नाममा खुलेका प्रतिष्ठानले तत्काल कुनै पनि गतिविधि अघि नबढाउने निर्णय गरेको थियो।

तर खासगरी ओली र प्रचण्डबीच तनाव उत्पन्न भएपछि ओली पक्षले पूर्वएमालले आत्मसाथ गरेको जबजका पक्षमा उभिन पुनः आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिन थालेको छ। यो क्रम ओली र प्रचण्डबीच जतिजति विवाद उत्कर्षमा पुग्दैछ त्यतित्यति बढ्दैछ।

सुदुरपश्चिमका प्रदेशको बाजुराबाट प्रतिनिधित्व गर्ने नेकपा केन्द्रीय सदस्य प्रकाशबहादुर शाहले उदण्डता प्रकट गरेर कोही अघि बढ्छन् भने त्यसको परिणाम उनीहरुले पाउने बताए। उनले भने,‘पार्टीको निर्णयबिपरीत स्वागतका नाममा, शुभकामनाका नाममा जबजको उभिन भन्ने, नेताले संवोधन गर्दागर्दै नाराबाजी गर्ने, आक्रमण गर्ने विषय कम्युनिष्ट शैली र चरित्र होइन।’

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्