चितवन घटनाका दोषीलाई कडा कारवाही होस्- झलनाथ खनाल

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफ्ना पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि शनिबार चितवनमा भएको अभद्र ब्यवहारको विरोध गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारवाहीको माग गरेका छन्।

उनले शनिबार साँझ उक वक्तव्य जारी गर्दै कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्नलाई कारवाहीको माग गरेका हुन्।

उनले भनेका छन्, ‘पार्टीमा आन्तरिक विवाद उत्कर्षमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता र कार्यकर्तालाई विनम्र अनुरोध छ।’

नेता पाण्डेले शनिबार चितवनको राप्ती नगरपालीकाको कमिटी बैठकमा सम्वोधन गरिरहेका बेला उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राम्रो काम नगरेको भन्दै एकोहोरो भाषणा गरेको भन्दै आक्रोशित उनी पक्षका नेता तथा कार्यकर्ताले नाराबाजी गरेका थिए।

उनीहरुले जबज जिन्दावाद भन्दै नाराजुलुस गरेको नेता पाण्डेको दाबी छ।  नेता पाण्डे नेता खनाल निकट मानिन्छन्।

तर राप्ती नगरपालीकाकी मेयर प्रभा बरालले कार्यकर्ताले केपी ओली जिन्दावाद,पार्टी एकता जिन्दावाद भन्दै नारालगाएको दाबी गरेकी छन्।

मंसिर ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्