
तिब्बती निर्वासित नेता डा. लोबसाङ्ग सेङ्गेले अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको भ्रमण तथा भेटघाट गरेका छन्।
तिब्बतको निर्वासित सरकारका प्रमुख डा. सेङ्गेले शुक्रबार ह्वाइटहाउसमा तिब्बती मामिला सम्बन्धी नवनियुक्त अमेरिकी विशेष संयोजक रोबर्ट डेस्ट्रोसँग भेट गरेका हुन्।
व्यापारिक विषयलाई लिएर अमेरिका र चीनबिचको सम्बन्ध तनावमा रहेका बेला तिब्बती नेताले ह्वाइट हाउसमा गएर महत्वपूर्ण भेट गरेका हुन्।
सेन्ट्रल तिब्बतियन एड्मिनिस्ट्रेसन (सिटिए) का प्रमुखले डेस्ट्रोसँग गरेको भेटले तनावमा रहेको अमेरिका–चीन सम्बन्धमा थप दरार पैदा गर्ने आशंका छ।
तिब्बतको निर्वासित सरकारका कुनै पनि नेताले औपचारिक रुपमा अमेरिकाको भ्रमण गरेको यो पछिल्लो ६ दशकमा पहिलो घटना हो। तर सिटिएका लागि भने यो ऐतिहासिक रहेको विश्लेषकले बताएका छन्।
औपचारिक भ्रमणले सिटिए र त्यसका प्रमुखलाई औपचारिक मान्यता प्राप्त भएको विश्लेषण गरिएको छ। सिटिएको मुख्यालय भारतको हिमाञ्चल प्रदेशको धर्मशालामा छ।
विगतका ६० वर्ष अमेरिकाले सिटिएलाई मान्यता प्रदान गरेको थिएन र यसका नेतालाई औपचारिक रुपमा विदेश विभाग र ह्वाइट हाउसमा प्रवेश दिएको थिएन।
सिटिएका प्रवक्ताले भनेका छन्, ‘दुवै लोकतान्त्रिक व्यवस्थाले एकअर्कालाई मान्यता दिएका छन् यसले हामी खुशी छौँ । सिटिएका नेतालाई ह्वाइट हाउसमा गरिएको स्वागत एक राम्रो सुरुवात हो भन्न सकिन्छ । आउँदा दिनमा अमेरिका र सिटिएबिचको सहकार्य तथा सम्बन्ध बिस्तार हुने अपेक्षा छ ।’
सन् १९५० देखि तिब्बतमा चीनको शासन छ । चीनले शान्ति स्थापनाका लागि त्यहाँको शासन सत्ता शान्तिपूर्ण रुपमा सञ्चालन गरिरहेको बताउँदै आएको छ। तर निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले भने चीनले तिब्बतमा ‘सांस्कृतिक नरसंहार’ गरेको आरोप लगाउँदै आएका छन् ।