
आइतबार बिहान कलाकार बद्री पंगेनीले ट्वीटरमा नेपालको राजनीतिक परिस्थितिलाई व्याख्या गरे। यसले दुई तिहाई सरकार भित्रको आन्तरिक कलह र त्यसले बाहिर निकालेको असन्तुष्टि अर्थ्याएको छ।
यी त्यही गायक हुन् जसले दुई तिहाईको नेकपा सरकार बन्नु अगाडि चुनावी अभियानमा पार्टी समर्थनको गीत गाएका थिए, ‘सै पनि एमाले, मै पनि एमाले।’ यो गीत पछि उनलाई खुलेआम रुपमा एमालेको समर्थन गरेको भन्दै आलोचना खेप्न परेको थियो।
तर, पंगेनीको आइतबार बिहान ८ः५० को ट्विटको अन्त्यमा लेखिएको छ, ‘सै पनि नेपाली, मै पनि नेपाली।’
त्यो बेला पंगेनीको एमालेलाई खुल्ला समर्थन मान्नेहरु ट्वीटरमा यो अभिव्यक्ति पछि जिज्ञासु हुने नै भए। यस विषयमा पंगेनी भन्छन्, ‘मैले गाएका सिन्दुर लाउँ, अझै पनि गणतन्त्र आएको छैन, मुस्ताङको स्याउ कुहियो, सिमाना, जातिया विवाद’ को विषयमा गाएका सबै गीतहरु सँधै सुनिदिनुस्। तर पार्टीगत रुपमा गाएका गीतहरु चुनावमा मात्र सुनिदिनुस्। अरु बेलामा बिर्सिदिनुस्।’
तर पछिल्लो राजनीतिक क्रियाकलापले निम्त्याएको परिस्थितिको विषयमा आम नागरिक भएर सोच्दा पंगेनीले भने, ‘हामीले जुन अपेक्षा गरेका छौँ, नेपालको राजनीति, नेपालको विकास, नेपालका नेता, नेपालका राजनीतिक दल अगाडि बढ्न नसकेकोमा दुई मत छैन।’
आज आदरणीय बिजय मिश्रको धेरै याद आयो, फलानो कार्यक्रममा उहाँ भएको भए आदरणीय सुरेन्द्र पाण्डे ज्युले बोलेको कुरा जस्ताको तस्तै सुन्न त पाइन्थ्यो! प्रबिधी र संचारमा सार्है पछाडी यो फुटपा पार्टी सरि सरि नेकपा पार्टी ।
🙏सैँ पनि नेपाली मैं पनि नेपाली🙏— Badri Pangeni (@BadriPangeni) November 22, 2020
‘सबैले देश बन्ला, यसले राम्रो गर्ला की, उसले राम्रो गर्लाकी भन्ने अपेक्षा हुन्छ नि, जे गरियो देश बन्छ भन्ने आशमा गरियो नि त !’ नेतालाई मत दिएर त्यहाँ पुर्याउने जनता नै महान हुन् भन्दै उनले भने, ‘तर यो त राम्रो हैन नि त! जुन सुकै पार्टीमा पनि मतभेद हुनु स्वाभाविक हो, तर राष्ट्रलाई नै पछाडि धकेल्ने गरेर झै झगडा, विकास निर्माणलाई नै पछाडि धकेल्ने गरेर मतान्तर हुनु राम्रो हैन।’