हामी सधैँ सम्झिरहनेछौँ-६

नेपालमा बाल शल्यचिकित्साका ‘पायोनियर’

कात्तिक ३० गते उनको निधन भयो। बिरामीले एक कुशल डाक्टर गुमाए। अनि देशले अनुभवी चिकित्सक गुमायो। उनी र डा. केशवबहादुर राजभण्डारीकै कारण कान्ति बाल अस्पतालले विकासको बाटो रोज्यो। कान्तिमा शल्यक्रिया विभाग सञ्चालनमा आयो। डा. राजभण्डारीपछि बाल शल्यक्रिया शुरु गर्ने चिकित्सक उनी थिए।

त्यसैले त नेपालमा पेडियाट्रिक सर्जरीको पायोनियरका रुपमा चिनिन्छ, उनी र डा. राजभण्डारीलाई।

डा. राजभण्डारीको भने दुई वर्ष अगाडि नै मृत्यु भइसकेको छ।

उनले बेलायतमा पेडियायाट्रिक सर्जरी अध्ययन गरे। एक दशक उतै काम गरेका उनी नेपाल फर्किए। र, वीर अस्पतालमा काम सुरु गरे। केही समय वीरमा काम गरेका उनी फेरि कान्तिमा गए।
त्यहीँ काम सुरु गरे।

उनले एमबीबीएस भने भारतको केरलाबाट गरेका थिए।

उनले कान्तिमा काम गर्दै गर्दा अस्पतालमा सेवाको स्तर बढाए। अस्पताललाई केही रुपमा सवल बनाउनुमा योगदान छ, ८० वर्षीय वरिष्ठ बाल शल्य चिकित्सक नारायणबहादुर थापाको।
डा. थापाको सरकारी मात्रै नभएर निजी क्षेत्रमा पनि उत्तिकै योगदान छ।

२०५१ मा सरकारी सेवाबाट अवकाश लिएका उनले २०५२ सालमा निजी क्षेत्रबाट बाल अस्पताल ईशान बाल तथा महिला अस्पताल स्थापना गरे। यो पहिलो निजी बाल अस्पताल हो। १५ बेडबाट सुरु भएको अस्पताल अहिले विशिष्ठ बाल अस्पतालको रुपमा सञ्चालित छ।

डा. थापा सधैँ पेडियाट्रिक सर्जरी अझै विस्तार गर्नु जरुरी रहेको बताउँथे। यो उनको चाहना पनि थियो। उनी भन्ने गर्थे, ‘नेपालमा पेडियायाट्रिक सर्जरी जुन तरिकाले अगाडि बढ्नु पर्ने हो, त्यो तरिकाले बढ्न सकेको छैन। यसलाई हामीले बिस्तार गर्नुपर्छ।’

डा. थापाले आफ्नो यो योजना पूरा गर्न सकेनन्।

ईशान बाल तथा महिला अस्पताल उनको सपना हो। सरकारी क्षेत्रबाट आफूलाई जबर्जस्ती निकालिएपछि उनले यो अस्पताल स्थापना गरेको अस्पतालका निर्देशक डा. आरपी चौधरीले बताए।

‘बहुदल आएपछि कान्ति अस्पतालमा काम गर्दा गर्दै उहाँको फोर्सफुल्ली रिटायरमेन्ट (अवकाश)भएको थियो। जसले गर्दा उहाँ दुखी हुनु हुन्थ्यो। त्यो ‘इख’ उहाँमा अझै पनि थियो। त्यसैले उहाँ सधैँ एउटै कुरा भन्नु हुन्थ्यो- हाम्रो अस्पताल नम्बर एक हुनु पर्छ। कान्ति सरकारी अस्पताल भएपनि त्यसको विकल्प ईसानलाई बनाउनु पर्छ भन्नु हुन्थ्यो’, डा. चौधरीले भने, ‘उहाँले दृढ संकल्प लिनु भएको थियो- पेडियायाट्रिक सर्जरीमा अब्बल बनाउनु पर्छ भनेर।

डा. थापालाई कात्तिक २० गते श्वासप्रश्वासमा समस्या भयो। उपचारका लागि मेडिसिटी लगियो। परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि उनलाई २३ गते भेन्टिलेटरमा राखियो।

उनी सरकारी सेवालाई बिस्तार गर्न चाहन्थे। सरकारी अस्पतालप्रति बिरामीको दृष्टिकोणलाई बदल्न चाहन्थे। उनी कान्ति अस्पतालका निर्देशक समेत भएका थिए। तर अस्पतालको सेवाले निजीको भन्दा चाँडो फड्को मारोस्- यो उनको सपना पूरा हुन पाएन।

र, अवकाश पाएको एक वर्षमै उनले ईसान सञ्चालनमा ल्याए।

बिरामीका लागि ठूल्ठूला सपना बुनेका डा. थापाले गत आइतबार अर्थात कात्तिक ३० गते राति प्राण त्यागे।

डा. थापालाई कात्तिक २० गते श्वासप्रश्वासमा समस्या भयो। उपचारका लागि मेडिसिटी लगियो। परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। स्वास्थ्य स्थिति जटिल हुँदै गएपछि उनलाई २३ गते भेन्टिलेटरमा राखियो।

कोरोना भाइरस संक्रमणको उपचारका लागि प्रयोग गरिँदै आएका औषधी उपचार सुरु गरियो। प्लाज्मा थेरापी गरियो, रेमडेसिभिर चलाइयो। तर, पनि उनको स्वास्थ्यमा कुनै सुधार आएन।

१० दिन भेन्टिलेटरमा डा. थापाले रोगसँग पौँठेजारी खेलिरहे। तङ्ग्रिन खोजे। संक्रमणले थलिएका उनी उठ्नै सकनेनन्।

अन्ततः हार माने र संसारबाट बिदा लिए। सदाका लागि।

‘उपचारका लागि सम्पूर्ण विधि अपनाउँदा अपनाउँदै पनि उहाँलाई बचाउँन सकिएन। उहाँको निधनले हामीलाई मात्र नभएर देशलाई नै क्षति पुगेको छ’, डा. चौधरीले भने।

नेप्लिज एसोसिएसन अफ पेडियाटिक सर्जनको निवर्तमान अध्यक्ष समेत रहेका डा. थापा नेपाल बर्न सोसाइटी लगायतका विभिन्न स्वास्थ्य तथा सामाजिक संस्थाहरुमा आवद्ध थिए।

डा. थापाको परिवारमा श्रीमती, एक छोरा र तीन छोरी छन्।

मंसिर ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्