नेपालमा कोभिड महामारीको साप्ताहिक विश्लेषण (नोभेम्बर १४-२१)

कोरोनासँग अल्झेर बस्नु हुन्न

नेपालमा कोभिड प्यान्डेमिकको बारेमा तथ्यांकको आधारमा नियमितरुपमा जनतालाई सुसूचित गर्ने जानकारीमूलक लेख तथा कार्यक्रम त्यति नभएको हुनाले यस कोभिड साप्ताहिक विश्लेषण हामीले विगत केही हप्तादेखि लेख्दै, चर्चा गर्दै र प्रकाशित गर्दै आएका छौं। यस लेखलाई खोजमूलक र विश्लेषणात्मक बनाई नेपालमा प्यान्डेमिकको वास्तविक अवस्था विश्वसँग दाँजेर हेर्दा कस्तो छ, त्यसको कारण के हुन सक्दछ, भविष्यमा नेपालमा प्यान्डेमिकले कस्तो रुप लिन सक्ला र प्यान्डेमिक नियन्त्रणको लागि सरकारी तथा जनस्तरबाट के गर्नु पर्ला आदि कुराहरुको जानकारी जनतालाई गराउनु यस लेखको उद्देश्य हो।

यस विश्लेषणात्मक लेखका लेखक एक चिकित्सक भएको नाताले कोभिड रोग विशेषज्ञ नभए पनि एक कोभिड ज्ञाताको हैसियतले कोभिड सम्बन्धी गतहप्ता भएका विभिन्न घटनाक्रमलाई संक्षेपमा प्रस्तुत गरिएको छ ।

तथ्यांक संकलन गर्ने क्रममा श्रोत अनुसार तथ्यांक पनि फरक फरक भएको पाइएको छ । त्यति मात्र नभई हरेक दिन धेरै पटक तथ्यांक अध्यावधिक (Update) हुने भएको हुनाले यस लेखमा उद्धृत गरिएका या उल्लेख गरिएका तथ्यांकहरु पाठकबर्गले भेट्टाउनु भएको तथ्यांकभन्दा फरक हुन सक्दछ । तसर्थ यस लेखमा उद्धृत गरिएको तथ्यांकको श्रोत पनि उल्लेख गरिएको छ ।

नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता नोभेम्बर १४ देखि २१, तदनुसार कात्तिक २९ देखि मंसिर ६ सम्म (दुई हप्ता अगाडिको शनिबारदेखि गत हप्ताको शनिबारसम्म जम्मा ८ दिन) को विश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ । यो भन्दाअघिको अंकहरुमा एक हप्ता, शनिबारदेखि शुक्रबारसम्म, जम्मा ७ दिनको विश्लेषण गर्ने गरिएकोमा यस हप्तादेखि आइतबारदेखि शनिबारसम्मको साप्ताहिक विश्लेषण गरिनेछ। तसर्थ यस हप्ता २ हप्ता अगाडिको शनिबारदेखि गत हप्ताको अन्तिम दिन शनिबारसम्म जम्मा ८ दिनको विश्लेषण गरिएको छ।

प्यान्डेमिकमा परीक्षणको महत्वको बारेमा पहिलेका अंकहरुमा उल्लेख र प्रसस्त चर्चा गरिइसकेको छ। परीक्षणको कुरा गर्दा WHO को निर्देशन (मार्गदर्शन) अनुसार परीक्षण कति गर्ने या न्यूनतम कति गर्नु पर्दछ भन्ने कुरा हुन्छ । त्यस्तै परीक्षण गर्दा लक्षित समूह (Target group) निर्धारण गर्नुपर्ने हुन्छ। एक जना नयाँ संक्रमित भेटिएमा उसको सम्पर्कमा आएका न्यूनतम कतिजनाको परीक्षण गर्नुपर्दछ भन्ने कुरा पनि WHO ले निर्देश गरेको छ र यस कुराको जानकारी राखी परीक्षण गर्नु पर्दछ। यी सबै मापदण्ड पूरा गरी पर्याप्त परीक्षण गरिसकेपछि पोजिटिभिटी दर कति आयो भन्ने निर्धारण गर्नु पर्दछ । तसर्थ परीक्षण गर्नु र पोजिटिभिटी दर निकाल्नु जत्तिको महत्वपूर्ण हुन्छ, त्यसको मापदण्ड WHO को निर्देशन अनुसार पूरा गर्नु झनै महत्वपूर्ण हुन्छ। मापदण्ड पूरा नगरेको परीक्षण जति नै धेरै गरे पनि त्यसको अर्थ नहुने मात्रै होइन, त्यसले नतिजा पनि गलत निकाली जनामानसमा भ्रम सिर्जना गरिदिन्छ।

यी र यीसँग सम्बन्धित कुराहरु पनि गएका अंकहरुमा प्रसस्त उल्लेख गरिइसकेको छ । परीक्षण र त्यसको पोजिटिभिटीको आधारमा प्यान्डेमिकको नियन्त्रणका उपायहरु प्रसस्त र उपयुक्त हिसाबले कार्यान्वयन गरे मात्र प्यान्डेमिक नियन्त्रण गर्न सकिन्छ।

नेपाल सरकारका प्यान्डेमिकबिज्ञ, योजनाकार, र नीति निर्माताहरुलाई यी कुराहरुको जानकारी पक्कै पनि हुनु पर्दछ र नेपाल सरकारले पनि यी कुराहरुको हेक्का पक्कै राखेको छ, हामी विश्वास गरौँ । नेपाल सरकारले परीक्षणलाई त्यति ध्यान या महत्व दिएको पाइँदैन जबकि प्यान्डेमिकमा यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो। सरकारको पनि आफ्नै बाध्यता, विवशता र हद या सीमा हुन सक्दछ। नेपाल सरकारकै भनाइअनुसार हाल नेपालमा प्रसस्त परीक्षण केन्द्रहरु सरकारी र निजी स्तरबाट खोलिएका छन् र दैनिक २० हजारसम्म परीक्षण गर्ने क्षमता नेपालले राख्दछ । त्यति हुँदाहुँदै पनि नेपालमा हाल क्षमताको आधाभन्दा कम मात्रै दैनिक परीक्षण गरेको पाइन्छ । दशैं , तिहार र छठ पर्वले गर्दा पनि नियमित परीक्षणमा अबरोध पुगेको हुन सक्दछ ।

त्यस्तै सरकारले परीक्षण केन्द्रहरुको हरेक हिसाबले निरीक्षण गर्नु पर्दछ। नेपाल सरकारकै सूचना अनुसार कतिपय केन्द्रले दैनिकरुपमा परीक्षण अति कम या शून्य परीक्षण गरेका छन् भने कतिपयले अधिकतम गरेका छन्। कतिपय केन्द्रमा पोजिटिभिटी अति कम, १०% भन्दा कम, देखिएको छ भने कतिपयमा ज्यादै, ३०% भन्दा धेरै, देखिएका छन्। यसरी केन्द्रहरु पिच्छै परीक्षणको मात्रा, पोजिटिभिटी आदि कुराहरुमा एकरुपता छैन । त्यस्तै केन्द्रहरुको परीक्षणस्तर (Quality and Accuracy) पनि मापदण्ड अनुसारको नहुन सक्दछ । परीक्षण केन्द्रहरुको परीक्षण क्षमता पनि PCR मेशिन र प्राविधिज्ञ अनुसार फरक फरक हुन सक्दछ । थोरै क्षमता भएकाले धेरै परीक्षण गरेमा नतिजा गलत आउन सक्दछ । त्यस्तै धेरै क्षमता भएको केन्द्रले कम परीक्षण गरेमा प्रबिधि र प्राविधिज्ञको खेर जाने सम्भावना हुन्छ। यी सबै कुराहरुको निरीक्षण, निगरानी र समन्वय गर्ने काम पनि सरकारकै हो । तीन तहको सरकारले यी कामहरु सहजै गर्न सक्दछ ।

परीक्षणको कुरा गर्ने हो भने माथि उल्लेख गरिए जस्तै प्यान्डेमिकमा परीक्षणका मापदण्डहरुमध्ये प्रति एक नया संक्रमित कति परीक्षण गर्ने भन्ने पनि अति महत्वपूर्ण हुन्छ। फेरि एक पटक यस सम्बन्धी हल्का चर्चा गर्ने हो भने WHO को निर्देशन अनुसार प्रत्येक एक नयाँ संक्रमितको बदलामा कम्तिमा पनि १०-३० जना उसको सम्पर्कमा आएकाहरुको परीक्षण गर्नु पर्दछ जसलाई कन्ट्याक्ट ट्रेसिंग (Contact Tracing) भनिन्छ । कन्ट्याक्ट ट्रेसिंग परीक्षण कति गरियो त्यसको आधारमा परीक्षण पर्याप्त छ कि छैन निर्धारण गर्नुपर्दछ । पोजिटिभिटी दर पनि परीक्षण पर्याप्त छ कि छैन भनी हेर्ने अर्को महत्वपूर्ण मापदण्ड हो जसको बारेमा गएका अंकहरुमा प्रसस्त चर्चा गरिइसकेको छ । WHO का अनुसार प्यान्डेमिक नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिंग परीक्षण कम्तीमा १० जना हुनु पर्दछ भने पोजिटिभिटी ५% भन्दा कम हुनु पर्दछ ।

जोन्स हप्किन्स विश्वविद्यालय र आवर ओर्ल्ड इन डाटा “Our World in Data” का अनुसार केही देशहरुका नोभेम्बर १६ सम्मका पछिल्ला यी दुई दरहरु औसतमा कति छन् तलको टेबुलमा देखाइएको छ ।

संख्याको हिसाबले विश्वमा सबैभनदा धेरै परीक्षण गर्ने देश अमेरिका हो र जनसंख्याको अनुपातमा परीक्षणको मात्रा हेर्ने हो भने सबैभन्दा धेरै परीक्षण गर्ने देशहरु मध्ये अमेरिका पनि पर्दछ। जनसंख्याको अनुपातमा अमेरिकाभन्दा धेरै परीक्षण गर्ने देशहरुमा अरेबियन देशहरु जस्तै संयुक्त अरब इमिरेट्स (UAE), बहराइन, इजरायल, युरोपियन देशहरु जस्तै डेनमार्क , बेलायत आदि पर्दछन जो धनि तथा जनसंख्या कम भएका देशहरु हुन् । तर जनसंख्याको अनुपातमा परीक्षण दर भन्नु र कन्ट्याक्ट ट्रेसिंग परीक्षण दर भन्नु फरक कुरा हो । जनसंख्याको अनुपातमा परीक्षण दर हिसाब हेर्दा एकै व्यक्तिको धेरै चोटी परीक्षण गरेको पनि गणना हुन्छ । त्यसैले जम्मा परीक्षणको संख्या या मात्रा अथवा जनसंख्याको अनुपातमा परीक्षणको मात्रा मात्र गणना गर्नु भन्दा त्यसको अझै सुक्ष्म रुप हेर्नु पर्दछ जस्तै कन्ट्याक्ट ट्रेसिंग परीक्षण।

कन्ट्याक्ट ट्रेसिंग थोरै हुनुको अर्थ लक्षित समूहमा (Target group) परीक्षण नपुग्नु हो। त्यस्तै पोजिटिभिटी जति धेरै भयो उति नराम्रो हो। यसले संक्रमण दर अत्यधिक हुनुका साथै परीक्षण ज्यादै नपुग भएको जनाउँछ । कन्ट्याक्ट ट्रेसिंग परीक्षण धेरै गर्ने देशहरुमा अस्ट्रेलिया, न्यूजिल्याण्ड, सिंगापुर आदि पर्दछन् भने थोरै गर्ने देशहरुमा दक्षिण एसियाली देशहरु पर्दछन् ।

टेबलमा देखाइए अनुसार नेपालको कन्ट्याक्ट ट्रेसिंग निकै कम छ, मात्र ४.१ अर्थात् एक जना नया संक्रमितको बदला केवल ४ जनाको मात्र परीक्षण (कन्ट्याक्ट ट्रेसिंग) गरिएको छ जुन कम्तिमा १० जना हुनु पर्ने थियो । अर्थात् लक्षित समूहको परीक्षण बिल्कुलै पुगेको छैन। स्रोतका अनुसार नेपाल विश्वमै कन्ट्याक्ट ट्रेसिंग निकै कम भएको मुलुकमा पर्दछ । त्यस्तै नेपालमा पोजिटिभिटी पनि धेरै छ, २२% भन्दा धेरै। यो दर ५% भन्दा कम हुनु पर्दथ्यो । अर्थात् संक्रमण दर धेरै छ र त्यस अनुसारको जम्मा परीक्षण अति न्यून छ । तसर्थ प्यान्डेमिकको यस कठीन समयमा नेपालमा परीक्षणको मात्रा हरेक हिसाबले निकै कम भएको कुरा सबैले बारबार भनेको र यस शृंखलाका अघिल्लो अंकहरुमा पनि धेरै चोटी उल्लेख गरिइसकेको कुरा हो I पर्वको करीब १ महिना लामो समयले गर्दा पनि होला परीक्षणमा निकै कमी आएको छ अर्थात् परीक्षण निकै कम मात्रामा गरिएको छ । परीक्षण नै नगरी कोभिड संक्रमितको संख्या निकै कम भयो भनी समाचार फैलाउनु या सूचना लुकाउनु कत्तिको जायज हो पाठकबर्गले बुझ्ने कुरा हो ।

भारतको लक्षित समूहको परीक्षण र प्यान्डेमिक नियन्त्रण राम्रो हुँदै आएको दखिन्छ। केही समय अघिसम्म भारत प्यान्डेमिकको उच्च बिन्दुमा पुगेको थियो भने हाल भारतका दुवै दरहरु, कन्ट्याक्ट ट्रेसिंग र पोजिटिभिटी, WHOको मापदण्डभित्र परेका छन्, क्रमश: २३.१ र ४.०४%। यस्तै अवस्था केही समय रहेमा भारतमा प्यान्डेमिक पूर्णरुपमा नियन्त्रण भयो भन्न सकिन्छ। तर भारतमा पनि राज्य र सहर हेरी प्यान्डेमिकको अवस्था फरक फरक छ ।

त्यस्तै टेबलमा देखाइए जस्तै दक्षिण एसियाका अन्य देशहरुमामा कन्ट्याक्ट ट्रेसिंग र पोजिटिभिटी नेपालको भन्दा राम्रो अवस्थामा छ। बंगलादेशको अवस्था नेपालकोभन्दा राम्रो भए पनि WHO को मापदण्डभन्दा बाहिर छ भने अन्य देशहरुको अवस्था लगभग WHO को मापदण्डभित्र परेको देखिन्छ । अफगानिस्तान र भुटानको तथ्यांक नभेटिए पनि अफगानिस्तानमा कोभिड परीक्षण अति कम गरिएको र प्यान्डेमिक नियन्त्रण सन्तोषजनक नभएको मुलुकमा पर्दछ भने भुटान प्रसस्त परीक्षण गरी प्यान्डेमिक नियन्त्रण अति राम्रो भएको मुलुकमा गनिन्छ । स्मरण रहोस् भुटानमा हाल (नोभेम्बर २१) सम्म जम्मा ४०० भन्दा कम कोभिड संक्रमित भेटिएका छन् र त्यहाँ हालसम्म कोभिडको कारणले एक जनाको पनि मृत्यु भएको छैन । परीक्षणको हिसाबले पनि भुटान धेरै माथि छ, त्यहाँ जनसंख्याको अनुपातमा हिसाब गर्दा नेपालमा भन्दा झन्दै ४ गुणा र भारतमा भन्दा करीब दुई गुणा बढी परीक्षण गरिएको छ। सानो देश र कम जनसंख्या भएको हुनाले पनि बढी परिक्षण गर्न त्यहाँ सजिलो भएको हुनु पर्दछ ।

अमेरिकामा हाल कोभिड संक्रमित निकै बढेको छ भने अर्कोतिर त्यस अनुसार परीक्षण पनि कम छ । अमेरिकामा जम्मा कोरोना परीक्षण प्रसस्त गरिए पनि पोजिटिभिटी WHO को मापदण्डभन्दा झन झन् टाढा गइरहेको छ र कन्ट्याक्ट ट्रेसिंग पनि अपर्याप्त देखिन्छ । हाल अमेरिकाको पोजिटिभिटी १०% भन्दा धेरै छ भने कन्ट्याक्ट ट्रेसिंग ८ जति मात्रै छ।

परीक्षणको बारेमा यति चर्चा गरिसकेपछि अब नेपालमा कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण तर्फ लागौं। गतहप्ता पनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उतारचढाव हुने क्रम जारी रह्यो । निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं ।

 

दैनिक नयाँ संक्रमण

यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो । गत हप्ता, नोभेम्बर १४ देखि २१, तदनुसार कात्तिक २९ देखि मंसिर ६ सम्म (दुई हप्ता अगाडिको शनिबारदेखि गत हप्ताको शनिबारसम्म जम्मा ८ दिन) को नेपालभरि र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या यहाँ चित्र नं. १ मा प्रस्तुत गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता ८ दिनमा देशभरि जम्मा १२२८६ जना र काठमाडौँ उपत्यकामा ६७५५ नया संक्रमित भेटिए भने त्योभन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा १७४७० र काठमाडौँ उपत्यकामा ९३३४ नया संक्रमित भेटिएका थिए । माथिको तथ्यांकको आधारमा भन्ने हो गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि र काठमाडौँ उपत्यकामा संक्रमितको संख्या घटेको पाइयो।

त्यस्तै मृत्यु हुनेको संख्या गतहप्ता जम्मा १०३ थियो भने त्योभन्दा अगाडिको हप्ता १३२ थियो जुन गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा धेरै घट्यो। यसबाट के अनुमान लगाउन सकिछ भने नेपालमा गतहप्ता २ हप्ता अगाडिको दाँजोमा जम्मा संक्रमित र जम्मा मृत्यु दुवै घटी प्यान्डेमिक केही नियन्त्रण भएको हो कि!

तर त्यसको यथार्थ बुझ्न प्यान्डेमिक या संक्रमित पत्ता लगाउन कति परीक्षण गरियो भन्ने कुरा थाहा हुन जरुरी छ । गतहप्ता ८ दिनमा जम्मा ५८१९३ परीक्षण गरिए भने २ हप्ता अगाडिको हप्ता साताभरि जम्मा ७६५०७ परीक्षण गरिए । त्यसको अर्थ गतहप्ता २ हप्ता अगाडिको हप्ताको दाँजोमा करीब २४%ले परीक्षण कम गरियो ।

यसरी परीक्षण कम गर्दा नयाँ संक्रमितको संख्या पनि कम देखिन्छ भने त्यसको अनुपातमा निको भएर जानेको संख्या धेरै देखिन्छ । किनभने निको हुनेको संख्या परिक्षणमा निर्भर हुँदैन। निको हुनेको संख्या नया संक्रमितको तुलनामा धेरै भएमा अर्थात नया संक्रमितको संख्या निको हुनेको तुलनामा कम देखिएमा सक्रिय संक्रमितको संख्या पनि कम देखिन्छ र फलस्वरूप सक्रिय संक्रमित दर (Active Case Ratio) पनि कम देखिन्छ । नेपाल सरकारले हाल यही तथ्यांक प्रस्तुत गरेर नेपालमा कोरोनाको संक्रमण अर्थात कोभिड प्यान्डेमिक कम हुँदै गएको छ भनी प्रचार गरिराखेको छ । यो भनेको सरकारले आँखा चिम्लेर बसेको नै हो ।

त्यस्तै काठमाडौँ र नेपालको अनुपात केलाउने हो भने चित्र न. २मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नया संक्रमण अनुपात ४१.८५% देखि ७१.९८% सम्म रह्यो भने त्यो भन्दा अगाडिको हप्ता यो अनुपात ४९% देखि ५७% सम्म रहेको थियो। गतहप्ता नेपालभरिको संक्रमितको दाँजोमा काठमाडौँ उपत्यकामा औसत करीब ५६% देखा परे भने त्योभन्दा अगाडिको हप्ता यो औसत अनुपात करीब ५३% मात्र थियो ।

यसले के संकेत गर्दछ भने देशमा पर्वको मौसम सकिएसंगै धेरै मानिस काठमाडौँ फर्कने क्रममा कोरोनाको संक्रमण पनि बढाउंदै लगेको छ । तर यो एउटा तर्क मात्रै पनि हुन सक्दछ । काठमाडौँ उपत्यका अर्थात देशकै राजधानीमा प्यान्डेमिकको असर कत्तिको छ थाहा पाउन उपत्यका भित्र मात्रै कति परिक्षण गरियो र कतिमा पोजिटिभ देखियो, त्यसतै प्रत्येक संक्रमितको कन्ट्याक्ट ट्रेसिंग कत्तिको गरियो आदि WHOको मापदण्ड नापेर हेर्नु पर्दछ । तर नेपाल सरकारले यसको लेखाजोखा सार्बजनिक गरेको छैन अर्थात यसको अध्ययन नै गरेको छैन। यसको अध्ययन गर्न सरकारलाई फुर्सद पनि हुनु पर्यो नि !

दैनिक संक्रमण पोजिटिभिटी दर (Positivity Rate)

प्यान्डेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर एक सबैभन्दा भर पर्दो मापदण्ड हो जसले परिक्षण गरिएका मध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ । पोजिटिभिटी दरको बारेमा माथि र गएका अंकहरुमा विस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका अघिल्ला लेखहरु पनि हेर्नु होला।

नेपालको गएको हप्ताको दैनिक संक्रमण पोजिटिभिटी दर चित्र न. ३मा देखाइएको छ। गतहप्ता पनि नेपालको प्यान्डेमिक निरन्तररुपमा उच्च बिन्दुमा कायम रह्यो। गतहप्ता पोजिटिभिटी दर न्यूनतम १६.१३% देखि अधिकतम २४.७७% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर २१.०२% रह्यो । दुई हप्ता अगाडिको पोजिटिभिटी दर १९.०८% र २६.४१% का बीच रही साताको औसत दर २२.८७% पुगेको थियो । त्यस अर्थमा गत हप्ताको औसत संक्रमण दर २ हप्ता अगाडिभन्दा केही कम देखिएको छ जुन सुखद समाचार हो।

तर पोजिटिभिटीको प्रबृत्ति (Trend) केही हदसम्म परिक्षणको मात्रामा पनि भर पर्दछ। कार्तिक महिनाको दैनिक परिक्षणको मात्रा चित्र न. ४ मा देखाइएको छ । चित्रमा रातो धनुरेखाले कार्तिक महिनाको परिक्षणको प्रबृत्ति देखाएको छ जुन ओरालो लागेको देखिन्छ। यसले के देखाउंछ भने नेपालमा सरकारले क्रमैसंग परिक्षणको मात्रा घटाउँदै लगेको छ मानौं प्यान्डेमिक नियन्त्रण गर्ने एक मात्रै उपाय परिक्षण नै नगरी आँखा बन्द गरेर बस्नु हो। पर्बको मौसमले गर्दा पनि परिक्षण गर्न बाधा पक्कै पनि पर्यो होला तर पर्बको बहाना गर्ने यो उपयुक्त समय भने होइन।

विश्वका केही देशहरुका पछिल्लो औसत पोजिटिभिटी माथि उल्लेख गरिइसकेको छ।

कुनै पनि तथ्यांकको विश्लेषण गर्दा केवल संख्या (Absolute Figure) मात्रको कुनै अर्थ हुँदैन, संख्याभन्दा पनि त्यसको दर (Rate) र अनुपात (Ratio) केलाउने कोशिश गर्नु पर्दछ । त्यस्तै तथ्यांकलाई केलाउंदा पहिले देखिको एकमुष्ट तथ्यांक (Cumulative Figure)लाई लिनु भन्दा दैनिक तथ्यांक (Daily Figure)लाई लिएर गरेको विश्लेषण अझ पारदर्शी, प्रष्ट र नया (पछिल्लो, Updated) हुन्छ । यस लेखमा उद्रिढ गरिएका तथ्यांकहरु विभिन्न श्रोतहरुबाट लिइएका हुन् जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन्स हप्किन्स विश्व विद्यालय (Johns Hopkins University), WHO, ओर्ल्ड़ोमिटर (Worldometer), आवर ओर्ल्ड इन डाटा (Our World in Data) आदि । यस लेखको उद्देश्य कोरोना सम्बन्धी तथ्यांकलाई सहिरुपमा पस्की जनचेतना जगाउनु हो नकि बढाइचढाइ गरी जनतालाई आतंकित बनाउनु। जनताले पनि यो लेख पढिसकेपछि त्रसित या आतंकित हुनु या कोरोना तथा कोभिडको बारेमा अनावश्यक भ्रम पाल्नु भन्दा समस्याको गहिराई बुझी त्यही अनुसार साबधानी अपनाउने र अरुलाई पनि कोरोना सम्बन्धी जानकारी दिने गर्नु पर्दछ ।

समग्रमा गतहप्ताको आंकडा मात्रै हेर्दा नेपालमा प्यान्डेमिकको उकालो केही समतल भएको देखिन्छ । दैनिक जम्मा संक्रमित र मृत्यूको संख्या कम देखिए पनि यो सहि र यथार्थ होइन । यसको कारण माथि खण्डन गरिइसकेको छ। WHOको मापदण्ड नेपालमा निकै नै कम मात्रामा पालना गरिएको देखिन्छ र त्यस अनुसार नेपाल प्यान्डेमिकको उच्च संक्रमित अवस्थामा रही जोखिम पनि उच्च देखिन्छ। प्यान्डेमिक हालसम्म ओरालो लाग्ने लक्षण भने खासै देखिएको छैन । परिक्षण बढाउंदै जानु पर्ने अवस्थामा पछिल्लो समय झन् झन् कम हुँदै र गर्दै जानु जनस्वास्थ्य र प्यान्डेमिकको हिसाबले सहि होइन ।

पर्याप्त मात्रामा परीक्षण नगरिकन जबरजस्ती संक्रमितको संख्या कम देखाएर समाज र सिंगो देशलाई लामो समयसम्म कोरोनाको बन्दी बनाउनु भन्दा पर्याप्त परीक्षण गरेर आवश्यक परे छोटो लकडाउन गरी कोभिड प्यान्डेमिक रोकथाम तथा निवारणका सम्पूर्ण उपाय अपनाई चाँडोभन्दा चाँडो समाजलाई कोरोना मुक्त बनाउनु पर्दछ । कोरोनामा अल्झेर बस्नु भन्दा यसबाट चाँडो मुक्त हुन सकेमा सामाजिक र आर्थिक उन्नति गर्न पनि सजिलो हुने देखिन्छ।

prabinshrestha@hotmail.com

(डा. श्रेष्ठ ललितपुर ग्वार्कोस्थित बीएण्डबी अस्पतालका कन्सलटेन्ट न्यूरोसर्जन तथा कोभिड ज्ञाता हुन्।)

 

मंसिर ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्