कोरोना भाइरसविरुद्धको खोप अमेरिकामा डिसेम्बर दोस्रो हप्तादेखि दिने तयारी

अमेरिकाले आफ्ना नागरिकलाई आउँदो महिना (डिसेम्बर) को दोस्रो हप्तामै कोरोना भाइरसविरुद्धको खोप दिन थाल्ने तयारी गरेको छ ।

अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले दिएको जानकारी अनुसार डिसेम्बर ११ देखि नै खोप दिने गरि तयारी थालिएको हो ।

डा. मोन्सेफ स्लाओइले अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई भनेका छन्, ‘खोपले स्वीकृति पाएको २४ घण्टा भित्रै खोप सम्बन्धित क्षेत्रमा पुर्‍याइने छ ।’

अमेरिकामा महामारीको तेस्रो लहरले तीव्र गति लिएका बेला उनको यस्तो भनाई आएको हो । महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो हप्तामा संक्रमण, मृत्यु तथा अस्पताल भर्नादर लगातार बढ्दो क्रममा छ ।

अहिलेसम्म अमेरिकामा एक करोड २२ लाख १९ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ ।

दैनिक झण्डै दुई लाख मानिस संक्रमित हुने गरेका छन् पछिल्ला केही दिन यता । कोभिड–१९ बाट अहिलेसम्म दुई लाख ५६ हजार सात सय भन्दा धेरै अमेरिकीको ज्यान गएको छ ।

अमेरिकी औषधि उत्पादक कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग मिलेर बनाएको खोप प्रभावकारी देखिएको छ । उनीहरुले अमेरिकामा आपतकालीन रुपमा खोपको प्रयोगका लागि स्वीकृति लिन शुक्रबार निवेदन दिएका छन् ।

दुई डोज दिइनु पर्ने सो खोपको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ । यो वर्षको अन्त्यसम्ममा फाइजरले खोपको पाँच करोड डोज उत्पादन गर्ने अपेक्षा रहेको उल्लेख गरेको छ ।

फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसशन (एफडिए) को भ्याक्सिन एड्भाइजरी कमिटिको बैठक डिसेम्बर १० मा बस्ने छ । सो बैठकमा खोपलाई स्वीकृति दिने वा नदिने बारे छलफल हुनेछ । स्वीकृति मिलेमा त्यसको भोलिपल्टदेखि नै खोप अभियान थाल्ने गरि तयारी भएको डा. स्लाओइले सिएनएनलाई बताएका छन् ।

हरेक राज्यको जनसंख्या अनुसार खोप वितरण गर्ने योजना रहेको छ । कसले खोप लगाउन पाउने छन् भन्ने निर्णय गर्ने अधिकार राज्यहरुमै रहने डा. स्लाओइले बताए ।

फाइजरसँगै अमेरिकी कम्पनी मोदेर्नाले विकास गरेको खोपको प्रभावकारिता पनि ९५ प्रतिशत देखिएको छ र सो खोपले पनि आउँदा हप्तामा स्वीकृति लिने तयारी गरेको छ ।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्