हङकङ प्रदर्शनः प्रमुख प्रजातन्त्रवादी अभियन्ता वाङ्गसहित तीनजना दोषी ठहर, जेल जाने सम्भावना

हङकङका प्रजातन्त्रवादी अभियन्ता जोशुआ वाङ्ग र उनका दुई सहकर्मीले जेल सजाय काट्नु पर्ने सम्भावना बढेको छ ।
उनीहरुलाई गएको वर्ष हङकङमा भएको आम प्रदर्शनमा गैरकानूनी रुपमा सहभागी भएको भन्दै अदालतले दोषी ठहर गरेको छ ।
वाङ्गसँगै इभान लाम र एङ्नेस चोउ सोमबार अदालत उपस्थित भएका थिए ।
वाङ्गले आफू जेल जाने सम्भावना रहेको बताएका छन् । सम्भवतः पाँच वर्ष जेलमा बिताउनु पर्ने उनले उल्लेख गरेका छन् ।
तर चीनले नयाँ सुरक्षा कानून लागु गर्नु भन्दा पहिले नै प्रदर्शन भएकाले उनीहरुले जन्मकैद भने पाउने छैनन् । गएको जुनमा चीनले हङकङमा नयाँ सुरक्षा कानून लागु गरेको थियो ।
आफ्ना वकिलसँग सल्लाह गरेर सबै आरोप स्वीकार गर्ने निर्णयमा पुगेको उनले बताए ।
अदालतमा जम्मा भएका पत्रकारसँग सोमबार वाङ्गले भने, ‘हामी तीनैजनाले सबै आरोप स्वीकार गर्ने निर्णय लिएका छौँ । म तत्कालै डिटेन्सन सेन्टरमा गएँ भने आश्चर्यको कुरा हुने छैन ।’
उनले भनेका छन्, ‘हामीले स्वतन्त्रताका लागि संघर्ष जारी राख्ने छौँ । अहिले बेइजिङ्ग (चीन) सामु नतमस्तक भएर आत्मसमर्पण गर्ने बेला भएको छैन ।’