जसपामा संसदीय दलको नेता चयन गर्न हम्मे

जनकपुरधाम – समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकताको आठ महिना बितिसक्दा समेत संसदीय दलको नेता चयन गर्न सकेको छैन।

दुबै पार्टी मिलेर बनेको जसपाको संसदीय दलको नेता चयन गर्नका लागि निर्वाचन आयोगले बारम्बार ताकेता गरे पनि अहिलेसम्म प्रक्रियासमेत शुरु हुन सकेको छैन।

प्रदेश २ मा संसदीय दलको नेता बन्नका लागि धेरै आकांक्षी भएपछि संसदीय दलको नेता चयन गर्न पार्टी भित्रै कठिनाई भएको हो। प्रदेशको मुख्यमन्त्री बन्नको लागि संसदिय दलको नेता हुनुपर्ने प्रवधान रहेकोले संसदीय दलको नेता चयन गर्न कठिनाई भइरहेको जसपाका एक नेताले बताए।

निर्वाचन आयोगले संसदीय दलका नेता चयनका लागि पठाएको पत्र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कुर्सी जोगाउन पत्र नै लुकाएको घटनासमेत बाहिरिएको थियो।

 

जसपा पार्टी दर्ता भएको सुचना राजपत्रमा २०७७/०४/१२ प्रकाशित गरिएको थियो भने २०७७/०४/३० गते निर्वाचन आयोगले दल दर्ताको विषयमा पत्र प्रदेश सभामा पठाएको थियो।

संसदीय दलको नेता चयन गर्नका लागि समस्या भएपछि जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाममा आएर बैठक बसाएका थिए। बैठकले विधान मस्यौदा समिति गठन गरेको थियो । समितिमा मनिष सुमन, उपेन्द्र महतो, रानि शर्मा तिवारी, रामअशिष यादवलाई संसदीय दलको विधान बनाउन समिति गठन गरिएको थियो।

समितिले गत कार्तिक १८ गते नै विधानको मस्यौदा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई बुझाई सकिएको छ । यद्यपि अहिलेसम्म सो मस्यौदा पारित गराउन कुनै पहल नभएको पार्टी श्रोतले जनाएको छ ।

विधान मस्यौदा समितिका सदस्य रामअशिष यादवले विधानको मस्यौदा पार्टी नेतृत्व पंक्तीलाई बुझाई सकिएकाले पार्टीले गर्ने निर्णय अनुसार चाँडै संसदीय दलको नेता छनौटका लागि निर्वाचन प्रक्रिया अगाडी बढाइने बताए।

जसपाको प्रदेश २ को संसदीय दलका नेता बन्नका लागि मुख्यमन्त्री लालबाब राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, सांसद उपेन्द्र महतो, मनिष सुमनलगायतका नेताहरु अकांक्षी रहेका छन्।

 

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्