कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई १५ -१५ हजार रुपैयाँ जमानत लिएर छाडियो

एजेन्सी- भारतीय चर्चित कमेडियन भारती सिंह तथा उनको पति हर्ष लिम्बाचियालाई नार्कोटिक्स ड्रग्स एण्ड साइकोट्रापिक सब्सटेन्सेज (NDPS) अदालतले जमानतमा छोडेको छ।

उनीहरु दुवैलाई १५ /१५ हजार रुपैयाँ जमानत लिएर छाडिएको भारतीय सञ्‍चार माध्‍यमहरुले जनाएका छन्।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (NCB)ले गाँजा लिएको आरोपमा भारतीयलाई गत शनिबार र उनको पति हर्षलाई आइतबार नियन्त्रणमा लिएको थियो।

आइतबार दुवैजनालाई नारकोटिक्स ड्रग्स एण्ड साइकोट्रापिक सब्सटेन्सेज अदालतमा उपस्थित गराइएको थियो।

अदालतले उनीहरुलाई चार डिसेम्बरसम्‍म जुडिसियल कस्टडीमा पठाउन आदेश दिएको थियो। त्‍यसपछि सोमबार सुनुवाइ तोकिएको थियो। भारतीलाई कल्याण जेल र उनका पति हर्षलाई तलोजा जेलमा राखिएको थियो।

एनबीसीले आइतबार भारतीलाई जुडिसियल कस्टडी तथा हर्षलाई रिमाण्ड मागेको थियो। तर अदालतले दुवैलाई जुडिसियल कस्टडिमा पठाइदिएको थियो।

अदालतले भारती र हर्षको घर तथा अफिसबाट भेटिएको गाँजा कम मात्रामा रहेको र यो मात्र प्रयोगको लागि रहेको भन्‍दै प्रहरी कस्टडीको आवश्‍यकता नरहेको आदेश दिएको थियो।

हर्षविरुद्ध ड्रग्स फाइनेन्स-ट्रान्सपोर्टेशनको धारा


भारतीको पति हर्षमाथि प्रहरीले नार्कोटिक्स एक्ट- १९८६को धारा २७A लगाएको छ। अर्थात हर्षलाई ड्रग्सको फाइनान्स तथा ट्रान्सपोर्टेशनको धारा लागू गराइएको छ।

शनिबार NCB को छापामा भारतीको घर तथा अफिसबाट ८६.५ ग्राम गाँजा फेला परेको थियो। उनले पति हर्षसँग गाँजा लिएको स्वीकार गरेकी थिइन्। त्यसपछि शनिबार नै भारतीको अन्धेरी, लोखण्डवाला तथा वर्सोवाको घर तथा अफिसमा प्रहरीले छापा मारेको थियो। साथै भारतीको घरमा काम गर्ने कामदारसँग समेत सोधपुछ गरिएको थियो।

को हुन भारती सिंह ?


भारती सिंह स्ट्याण्डअप कमेडियन तथा एक्ट्रेस हुन्। उनी द कपिल शर्मा शोमा कमेडियनको रुपमा कार्यरत छिन्।

उनले आफ्नो करियरको सुरुवात इन्डियन लाफ्टर च्यालेन्जबाट गरेको थिइन्। यसपछि उनले धेरै कमेडी शोमा काम गरिन्, जसमा कमेडी सर्कस्, कमेडी सर्कस महासंग्राम, कमेडी सर्कसका जादू, कहानी कमेडी सर्कस तथा कमेडी नाइट्स् बचाओ लगायत छन्।

भारतीले सन् २०१७मा राइटर हर्ष लिम्बाचियासँग विवाह गरिन्।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्