बझाङमा गाउँपालिकाले गर्ने काम एक व्‍यक्तिले गरेर देखाइदिए, अध्यक्षले गरे उद्‌घाटन

धनगढी- बझाङका एक स्थानीयले गाउँपालिकाले गर्नुपर्ने काम आफ्नै लगानीमा गरेका छन् । गाउँपालिकाका अध्यक्षले मख्ख भएर उद्घाटन गरेका छन् ।

बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका –३ दारुगाउँका सिद्धराज खड्काले आफ्नो ब्यक्तिगत लगानीमा सेती नदीमा गाडी तर्ने पुल बनाए । खड्काले २२ लाख ९१ हजारको लगानीमा सेती नदीको तमैलमा गाडी जाने पुल बनाएका हुन्।

सेती नदीमा पक्की पुल नभएपछि बझाङको खप्तड छान्ना गाउँपालिका र बाजुरा जिल्लामा समेत आवत जावतसँगै माल समान ढुवानी गर्न निकै समस्या थियो अब पुल बनेपछि सहज बनेको छ। तर पुलमा वारपार गर्दा पैसा तिर्नु पर्ने भएको छ । खप्तड छान्ना गाउँ कार्यपालिकाले पुलमा वार पार गर्ने सवारी तथा मालबाहन यातायातका साधनहरुबाट खड्काले पैसा लिने गरि निर्णय समेत गरि दिएको छ ।

प्रति ट्रक एक पटकको १५ सय, प्रति ट्याक्टर पाचँ सय , प्रति यात्रुबाहक जिपको तिन सय, यात्रुबाहक बसको प्रतिदिन पाँच सयका दरले खड्काले उठाउने निर्णय गाउँपालिकाले गरेको छ।

खड्काले सेती नदीमा २४ वटा हुम पाईप हालेर गाडी जाने पुल बनाए पछि आज सो पुलको उद्घाटन गाउँपालिकाका अध्यक्ष बर्क बहादुर रोकायाले गरे । उद्घाटन कार्यक्रममा खड्कालाई खप्तड छान्ना गाउँपालिकाका तर्फबाट खादा लगाएर सम्मान समेत गरिएको छ।

सेती नदीमा स्काभेटर लगाएर हुम पाईप हालेर गाडी तर्ने सडक पुल बनाएपछि खप्तड छान्ना गाउँपालिका, थलारा गाउँपालिका र बाजुरा जिल्लाका स्थानीयलाई राहत भएको छ । सेती नदीमा पुल नहुदा यातायातका साधनहरु वार पार गर्न सकेका थिएनन्।

गाउँपालिका अध्यक्ष बर्क रोकायाले सेतीमा आवत जावतका लागि पुल हाल्ने योजना गाउँपालिकाको पनि रहेको तर स्थानीय खड्काले आफ्नै लगानीमा पुल निर्माण गरेपछि गाउँपालिकालाई पनि सहज भएको प्रतिक्रिया दिए ।

यातायातको सेवा लिन पनि जनताले पैसा तिर्नुपर्ने भयो गाउँपालिकाले यति सानो काम पनि किन गर्न सकेन भनेर देशसंचारले गाउँपालिका अध्यक्षको प्रतिकृया लिँदा अध्यक्ष रोकाया भन्छन–‘सबैको सहमतीमा स्थानीय खडकालाई निर्माण गर्न दियौं, गाउँपालिकाले बनाउँदा ढिलो हुने थियो, उनले छिट्टै बनाए, अब त्यसो गाउँपालिकाबाट पुल निर्माण गर्ने खड्कालाई पैसा दिनुपर्ला ।’

ठूलो क्षेत्र रहेको खप्तड छान्ना गाउँपालिकालाई यातायात संग जोडने त्यो मात्र एउटा पुल हो त्यसैमा पनि गाउँपालिका जिम्मेवार नभई एक स्थानीयले बनाउँदा जनताले सेवा त पाए तर गाउँपालिकाको जिम्मेवारी प्रति भने स्थानीय सन्तुष्ट देखिएनन् ।

व्‍यक्तिगत लगानीमा पुल निर्माण गरेका सिद्धराज खड्काले भने–‘छान्नाबासीले एक ट्रक सामानलाई तमैलबाट अनलोड गरेर लग्यो भने झण्डै ३२ हजार महंगो रकम तिर्नु परेको थियो तर अब थोरै रुपयाँमा सहज रुपमा सम्बन्धीत ठाउँ सम्म जाने ब्यवस्था भयो।’ उनले छान्नाबासीको दुख देखेर आफुले ब्यक्तिगत लगानी गरेर पुल बनाएको बताए।

दुईबर्ष पहिले नै उक्त गाउँपालिकामा सडक काटेर यातायातका साधन पुगेका भएपनि सेती नदिमा पुल नहुँदा बर्षायाममा पुर्णतया यातायात अबरुद्ध हुने गरेको थियो । हिउँदमा नदिमा काठको पुल बनाएर साना गाडी वारपार गर्ने गरेका भएपनि ठुला गाडी भने जान सकेका थिएनन्।

मंसिर ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्