बाइडेनले घोषणा गरे मन्त्रीपरिषदका महत्वपूर्ण पद, जोन केरी जलवायु परिवर्तन सम्बन्धी विशेष दूत

जो बाइडेन । तस्बिर : द न्यूयोर्क टाइम्स

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो मन्त्रीपरिषदका केही महत्वपूर्ण पदमा रहने व्यक्तिको नाम घोषणा गरेका छन् ।

बाइडेनले पूर्व विदेश मन्त्री जोन केरीलाई जलवायु परिवर्तन विशेष दूतको जिम्मेवारी प्रदान गर्ने घोषणा गरेका छन् । जनवरी २० मा बाइडेनले सत्ता सम्हालेपछि जोन केरी जलवायु परिवर्तन विशेष दूत हुने छन् ।

बाइडेनले लामो समयदेखि आफ्ना सहयोगी रहँदै आएका एन्टोनी ब्लिङ्कनलाई विदेश मन्त्रीका रुपमा नियुक्त गर्ने सोमबार घोषणा गरेका छन् । यस्तै फेडरल रिजर्भीकी पूर्व अध्यक्ष ज्यानेट येलेनलाई बाइडेनले वित्त मन्त्रीका रुपमा चयन गर्ने खबर छ ।

अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई एक कार्यकालमा सीमित गर्ने गरि पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ ।

चार वर्ष पहिले पपुलर मत (कुल मत) मा हिलारी क्लिन्टन भन्दा झण्डै ३० लाख मतले पछि परेर पनि ट्रम्पले ३०६ इलेक्टोरल कलेज मत पाएका थिए र आफ्नो जितलाई उनले ‘ल्याण्डस्लाइड’ का रुपमा परिभाषित गरेका थिए । बाइडेन कुल मतमा ६० लाख भन्दा बढिको अग्रता लिएका छन् ।

अहिलेसम्म ट्रम्पको कानूनी टिमले दायर गरेका कम्तिमा ३० मुद्दा खारेज वा विपक्षमा फैसला भएको छ । ती सबै मुद्दाको फैसलामा प्रमाण नभएको न्यायाधीशहरुले उल्लेख गरेका छन् ।

तर ट्रम्प प्रशासनले अन्ततः बाइडेनलाई अन्तरिमकालको काम गर्नका लागि औपचारिक रुपमा स्वीकृति प्रदान गरेको छ सोमबार ।

पेरिस सम्झौतामा जोन केरीले २०१६ मा विदेश मन्त्रीका रुपमा हस्ताक्षर गरेका थिए । तस्बिर : गेट्टी इमेज

बाइडेनले सोमबार जारी गरेको व्यक्तव्यमा भनेका छन्, ‘अमेरिकाको स्थान प्राप्तिका लागि म पहिलो दिनमै टिम तयार होस् भन्ने चाहन्छु । विश्वले सामना गरिएका ठूला समस्यालाई चुनौति दिनका लागि टिम तयार रहनु पर्छ । यस्तै हाम्रो सुरक्षा, समृद्धि र मूल्यहरुलाई स्थापित र थप विकसित गर्नका लागि पनि । यो टिमको मुल मर्म नै त्यहि हो ।’

बाइडेनले घोषणा गरेका केही पदमा घोषित गरेका नामलाई माथिल्लो सदन सिनेटबाट पारित गरिनु पर्छ ।

बाराक ओबामाको दोस्रो कार्यकालमा विदेश मन्त्री रहेका जोन केरीले सन् २०१६ मा जलवायु परिवर्तन सम्बन्धी महत्वपूर्ण पेरिस सम्झौतामा हस्ताक्षर गरेका थिए । ट्रम्प प्रशासनले हालै मात्र अमेरिकालाई सो सम्झौताबाट औपचारिक रुपमा बाहिर निकालेको छ ।

बाइडेनले आफू सत्तामा पुगे लगत्तै पेरिस सम्झौतामा अमेरिकालाई सामेल गर्ने बताएका छन् । सोही प्रक्रिया अन्तर्गत उनले सम्पूर्ण रुपमा जलवायु परिवर्तनको काममा केन्द्रित हुने गरि काम गर्ने छन् । उनी जलवायु परिवर्तनको काम हेर्ने गरि जिम्मा पाएर राष्ट्रिय सुरक्षा परिषदमा बस्ने पहिलो अधिकारी हुने छन् ।

सन् २०१९ मा केरीले ‘वर्ल्ड वार जिरो’ नामक जलवायु परिवर्तन सम्बन्धी विशेष अभियान थालेका थिए । उनले सो अभियानमा विश्वका नेता तथा सेलिब्रेटीहरुलाई एकसाथ ल्याउन प्रयास गरेका थिए ।

सोमबार जलवायु परिवर्तन सम्बन्धी राष्ट्रपतिको विशेष दूतका रुपमा आफू चयन भएको घोषणा भएसँगै केरीले ट्वीट गरेर अमेरिकामा चाँडै नै जलवायु संकटलाई राष्ट्रिय सुरक्षा चुनौतिका रुपमा लिने सरकार हुने बताएका छन् ।

उनी सन् २००४ राष्ट्रपतिका उम्मेदवार बनेका थिए, त्यो बेला केरी रिपब्लिकन जर्ज डब्लु बुससँग पराजित भएका थिए । उनले २८ वर्ष सिनेटरका रुपमा काम गरे, त्यो बेला उनी सिनेटको परराष्ट्र सम्बन्ध समितिको अध्यक्षका रुपमा पनि जिम्मेवारी सम्हालेका थिए ।

विदेश मन्त्रीका लागि चयन गरिएका ब्लिङ्कन ओबामा प्रशासनमा उप विदेश मन्त्री तथा डेपुटी नेशनल सेक्युरिटी एड्भाइजर थिए । उनले अमेरिकालाई विश्व मञ्चमा पुनः सहकार्यको बाटोमा ल्याउने गरि बाइडेनको महत्वपूर्ण परराष्ट्र नीतिको नेतृत्व गर्ने अपेक्षा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बाइडेनले एभ्रिल हाइनेसलाई राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रुपमा मनोनयन गर्ने घोषणा गरेका छन् । सिआइएकी पूर्व उप निर्देशक हाइनेस निर्देशकमा मनोनित हुने पहिलो महिला हुन् ।

होमल्याण्ड सेक्युरिटी मन्त्रीका लागि एलेजान्ड्रो मायोर्कास मनोनित भएका छन् । उनी सो पदका लागि मनोनित हुने पहिलो ल्याटिनो हुन् ।

ज्याक सुलिभानलाई बाइडेनले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा मनोनित गरेका छन् । ओबामाको दोस्रो कार्यकालमा उनले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेका थिए ।

लामो समयदेखिकी कूटनीतिज्ञ लिन्डा थोमस–ग्रिनफिल्डलाई बाइडेनले संयुक्त राष्ट्रसंघमा अमेरिकी दूतका रुपमा नियुक्त गर्ने घोषणा गरेका छन् ।

मंसिर ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्